मुरारकाद्वारा २० लाखको पीसीआर मेसिनलाई २८ लाख तिरेको बिल पेस
शंकर लुईटेल
विराटनगर, भदौ १२
कोरोना संक्रमणको दर बढ्दै गएपछि विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय उद्योगी तथा व्यवसायीको चन्दा सहयोगमा खरिद गरिएको पीसीआर मेसिनमा अनियमितता भएको पाइएको छ । २० लाख रुपैयाँ मूल्य पर्ने मेसिनलाई आपूर्तिकर्ता शिरिष मुरारकाले आठ लाख बढाएर २८ लाखको खरिद मूल्य देखाएको पाइएको हो ।
उद्योगी मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिनको बिल मूल्य भ्याटसहित ३१ लाख ६४ हजार रुपैयाँ उल्लेख गरिएको छ । विराटनगर महनगरपालिकालाई बुझाइएको उक्त बिल जेएचएस एनालाइटिक ट्रेडर्स भाटभटेनी काठमाडौंको नामबाट जारी भएको छ । जेएचएस एनालाइटिक ट्रेडर्सले महानगरपालिकामा बुझाएको बिलमा मेसिनको मूल्य २८ लाख रुपैयाँ उल्लेख गरिएको छ । मेसिन निर्माता कम्पनी क्वायजेनले उक्त मेसिनको बिक्री मूल्य भारु १७ लाख १७ हजार आठ सय ३० रुपैयाँ र छुट मूल्य भारु १२ लाख ५० हजार उल्लेख गरेको छ ।
यसरी छुट मूल्यअनुसार मेसिनको मूल्य नेपाली २० लाख रुपैयाँ मात्र पर्ने व्यवसायीहरूको भनाइ छ । कोरोना संक्रमणको दर बढेपछि महानगरले परीक्षणको दायरा बढाउन प्रदेश सरकारलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि महानगरपालिकाका मेयर भीम पराजुलीको पहलमा उक्त पीसीआर मेसिन खरिदका लागि रकम संकलन गरिएको थियो । महानगरले मेसिन खरिद प्रक्रियाको जिम्मेवारी स्थानीय उद्योगपति प्रदीप मुरारकाका छोरा शिशिर मुरारकालाई दिएको थियो ।
संक्रमित व्यक्तिहरूको संख्या दैनिक बढेपछि संकलित स्वाबको रिपोर्ट आउन न्यूनतम ५ दिन पर्खिनुपर्ने अवस्था सिर्जना भएपछि मेयर पराजुलीको अग्रसरतामा नै मसिन खरिद गर्ने निर्णय भएको हो । मेयर भीम पराजुलीले पीसीआर मेसिन खरिदका लागि विराटनगरका उद्योगी व्यवसायीसँग समेत छलफल गरी खरिद गर्नको लागि मुरारकालाई जिम्मा दिएका थिए । विराटनगरका सर्वसाधारण, समाजसेवी, उद्योगी तथा व्यवसायीहरूले चन्दा सहयोग समेत जुटाएर खरिद गरिएको मेसिनमा व्यवसायी शिरिष मुरारकाले आठ लाख मूल्य बढाएर अनियमितता गरेका छन् ।
मेसिन खरिदका लागि उद्योगीहरू समेत रहेको ‘कोभिड राहत कोष’ नामको समिति बनाई बैंकमा छुट्टै खाता खोलेर पैसा जम्मा गरिएको थियो । कोसी अस्पताल विराटनगरका ल्याब प्रमुख डा. कामना शर्मा र डाक्टर सुशील तापडियाको सुझावअनुसार जर्मनमा निर्मित क्वायजेन कम्पनीको रोटर–जेन क्यू ५ प्लेक्स एचआरएम सिस्टम मोडलको पीसीआर मेसिन खरिद गरिएको बताइएको छ ।
उक्त मेसिनमा कुनै समस्या आए तुरुन्तै स्वाबलाई अर्को मेसिनमा राखेर परीक्षण गर्न सकिने र परीक्षण नरोकिने भएकोले उनीहरूले सोही मोडेलको पीसीआर किन्न उपयुक्त हुने सुझाव दिएको थिए । उनीहरूको सुझावअनुसार सोही मोडलको मसिन खरिद गरेको महानगरले जनाएको छ ।
मेसिन खरिदका लागि भएको छलफलमा उक्त पीसीआर मेसिन तत्कालै कसले दिन सक्छ भनि सोधीखोजी गर्दा उद्योग संगठन मोरङका उपाध्यक्ष समेत रहेका प्रदीप मुरारकाले म दिन सक्छु त्यो पनि अति सस्तोमा भन्ने बाचा गरेपछि उनैमार्फत मसिन खरिद भएको थियो ।
विराटनगरका उद्योगीहरूले पीसीआर मेसिन खरिदका लागि सहयोग दिन थालेपछि मुरारकाले पनि पाँच लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए । तर उनै मुरारकाले सो मेसिन छोरा शिरिषमार्फत झिकाएर आठ लाख बढी मूल्य लिएको पाइएको हो । मेसिन खरिद गर्न आफूले दिएको सहयोगभन्दा ३ लाख बढी रुपैयाँ उल्टै मुरारकाले लिएको स्थानीयको भनाइ छ । उद्योगी मुरारकाले पीसीआर मेसिन खरिदमा पाँच लाख चन्दाको घोषणा गर्दा छलफलमा सहभागी सबै व्यापारी तथा उद्योगी समेतले आश्चार्य व्यक्त गरेको थिए ।
स्रोतका अनुसार शिरिष मुरारकाले मेसिन उनकै साथी काठमाडौं निवासी राजीव बाजोरियामार्फत खरिद गरेका हुन् । शिरिष मुरारका काठमाडौँमा बसेर मेडिकल उपकरणहरूको आयात गर्ने काममा संलग्न रहेको मुरारका निकटका उद्योगीहरूले जानकारी दिएका छन् । मुरारकामार्फत खरिद गरिएको उक्त पीसीआर मेसिन विराटनगर महनगरपालिकालाई गत सोमबार हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया