Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहेटौंडा सिमेन्ट उद्योग सञ्चालन

हेटौंडा सिमेन्ट उद्योग सञ्चालन


हेटौंड, भदौ १४
कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा शनिबारदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए । सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ ।

काठमाडौंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी काम बन्द भएकाले उत्पादन गरिएका सिमेन्ट बिक्रीवितरणमा समस्या रहेकाले तत्काल पूर्ण क्षमतामा सञ्चालन नहुने उनको भनाइ छ । कोइलाको मात्रा कम भएकाले आगामी दिनमा कोइलाको अभाव हुन नदिन त्यसको टेन्डरसमेत भइसकेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा लकडाउन भएपछि सो उद्योग पनि बन्द भएको थियो तर त्यस अवधि २०७६/०७७ मा उत्पादन गरिएका चार लाख बोरा सिमेन्ट उद्योग बन्द भए पनि बिक्री गरिएको थियो ।

गत वर्ष २०७६ मा वैशाखदेखि फागुनमा उद्योग मेसिनमा खराबी कारण पटक–पटक उद्योग बन्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभई उद्योग घाटामा गएको हो । मेसिन मर्मत र पुरानो मेसिनले सञ्चालनमा धेरै रकम खर्च भएको बताइएको छ । उद्योगमा रहेका मेसिनहरु धेरै पुराना भएको कारण कार्यक्षमतामा ह्रास आएकाले उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्यसमेत राखेको उद्योग प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग २०७५/०७६ मा मेसिन खराबीका कारण लामो समय बन्द रहँदा घाटामा गएको बताइएको छ । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टका उत्पादन लागत कम रहने र धेरै सिमेन्ट उत्पादन भई अन्य सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिने त्यहाँका कर्मचारीहरुको भनाइ छ ।

दैनिक तीन हजार मेट्रिक टन क्षमता विस्तार गर्नका लागि उद्योग मन्त्रालयमा केही वर्षअगाडि प्रस्तावसमेत पेश गरिसकेको उद्योगले जनाएको छ । २०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका मेसिनहरु पुराना भएका कारण उत्पादन लागत धेरै भएको र उत्पादनमा ह्रास आएकाले उद्योग समस्यामा रहेको महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगको सञ्चालक समितिको अध्यक्ष पदमा उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीलाई नियुक्ति गरेकोे छ । उनीबाट केही सुुधार हुन्छ भनी त्यहाँका कर्मचारीले आशा गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x