Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँ श्रम स्वीकृति खुल्यो

नयाँ श्रम स्वीकृति खुल्यो


काठमाडौं, भदौ १६
सरकारले नयाँ श्रम स्वीकृति खुल्ला गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको थियो । सोसँगै युवाहरुले वैदेशिक रोजगारीमा जानका लागि नयाँ श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन् ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा बताएका हुन् । यस्तै मन्त्रिपरिषद् बैठकले आज भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय हवाइ उडान यही भदौ ४ गतेको

मन्त्रिपरिषद्को निर्णयअनुसार गर्ने निर्णय गरेको छ । भदौ ४ को मन्त्रिपरिषद् बैठकले आज भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाइ उडान सञ्चालन गर्ने निर्णय लिएको थियो। आइतबारको मप बैठकले भदौ ४ को मप बैठकको दफा ११ बमोजिम उक्त उडान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान हुनलागेको हो ।

यस्तै बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी र जवाफदेहितामा उडान संख्या र यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेसनको उपलब्धताको सुनिश्चितताको आधारमा दैनिक आगमन यात्रु आठ सय जनामा नबढ्ने गरी नियमित तथा उद्धार (चार्टर्ड) अन्तर्राष्ट्रिय हवाइ उडान सञ्चालन र सोको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै उद्धार उडानका साथै अनुमति भएका नेपाली नागरिक मृत्यु भएका वा उपचारका लागि मुलुक आउनैपर्नेलाई समेत आउन दिने बताइएको छ ।

‘अनुमति भएका नेपाली नागरिक र भन्ने व्यहोरापछि सम्बन्धित कूटनीतिक नियोगको सिफारिसमा एकाघरका आफन्तको मृत्यु भई वा गम्भीर उपचारका लागि नेपाल आउनुपर्ने अवस्थाका गैरआवासीय नेपालीलाई स्वदेश फर्किन दिइनेछ’, निर्णयमा भनिएको छ । त्यस्तै परीक्षण सहज नभएका मुलुकमा रहेका नेपालीहरुलाई भने स्वदेश फर्किन नदिइने बताइएको छ ।

परीक्षण सहज नभएका मुलुकहरु साउदी अरब, कुवेत, कतार वा अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरु ल्याउन नपाइने निर्णयमा भनिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएबमोजिमका र रोजगारदाता कम्पनीकै खर्चमा वा रोजगारी सम्झौता सकिएका आफ्नै खर्चमा नेपाल आउन चाहने यात्रुको लागि उद्धार उडान गरिने भएको छ ।

अन्तर्राष्ट्रिय उडान खुल्ला गरेसँगै विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने विदेशमा रहेका नेपालीहरुलाई सहज हुने कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बताएको छ । यता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अलपत्र कामदार छिटोभन्दा छिटो स्वदेश फर्किन चाहेको बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x