Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्थापनाको ५७ वर्षपछि तङ्ग्रिँदै महाकाली अस्पताल : ५ वर्षपछि आईसीयू सञ्चालनमा

स्थापनाको ५७ वर्षपछि तङ्ग्रिँदै महाकाली अस्पताल : ५ वर्षपछि आईसीयू सञ्चालनमा


धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ १६
कञ्चनपुरको महाकाली अस्पतालमा पहिलो पटक आईसीयू सेवा सञ्चालन भएको छ । अस्पताल स्थापनाको ५७ वर्षपछि अत्याधुनिक उपचार सघन कक्ष (आईसीयू) सेवा सञ्चालन भएको हो । उक्त आईसीयु मेसिन आर्थिक वर्ष २०७२/७३ मा जडान गरिएको थियो तर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको थिएन । सोमबार प्रतिनिधिसभा सदस्य निरुदेवी पालले एक कार्यक्रमका बीच आईसीयु केन्द्रको उद्घाटन गरेकी छिन् ।

आईसीयू सेवा सञ्चालनका लागि महाकाली अस्पतालमा ६ बेडसहितको भेन्टिलेटरसमेत जडान गरिएको छ । तत्कालै आईसीयू कक्षमा चारवटा भेन्टिलेटर र १० वटा बेड थप्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ बेडको आईसीयू सेवा सञ्चालनमा आएको बताए । ‘चालू आर्थिक वर्षमै दुई करोड बजेट आएको छ, ‘उनले भने, ‘अब थप चार भेन्टिलेटर जडान गछौँ ।’

यसअघि आईसीयू सेवा सञ्चालन नहुँदा भारतीय अस्पताल र जिल्लाबाहिर उपचारका लागि जानुपर्ने बाध्यता थियो । आईसीयू सेवामा डा. अर्जुन भट्ट, एनएस्थेसिया विशेषज्ञ डा. बिरेन्द्र बुडालसहितको टिम खटिएको छ । आईसीयू सेवा सञ्चालनमा आएसँगै उपचारका लागि चर्को मूल्य तिरेर निजी क्लिनिक तथा अर्को जिल्ला जानुपर्ने बाध्यता हट्ने स्वास्थ्यकर्मी तथा स्थानीयहरूले अपेक्षा गरेका छन् । पहिले नजिकै अस्पताल भए पनि उपचारका लागि भारत र धनगढी जानुपर्ने बाध्यता रहेको सुनाउँदै आईसीयू सञ्चालनपछि अब घरबाट सेवा लिन सकिने स्थानीय उत्तम विष्टले बताए । ‘पहिले त घर नजिक अस्पताल भए पनि उपचार गर्न टाढा जानुपर्थ्यो,’ उनले भने, ‘पैसा मात्रै होइन, आउन जान र बस्नको साह्रै समस्या हुन्थ्यो । अब ढुक्क भयो ।’

अस्पतालमा थपिए डाक्टर : विगतमा दक्ष जनशक्तिको अभावमा थला परेको अस्पतालमा अहिले भने जनशक्ति थपिँदै गएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टरसहित २८ जना चिकित्सकको दरबन्दीमा २१ जना कार्यरत रहेको अस्पतालले जनाएको छ । यो जनशक्ति विगतका तुलनामा धेरै बढी हो । २१ जना बिशेषज्ञ डाक्टरको दरबन्दीमा स्त्रीरोगसम्बन्धी तीन, हाडजोर्नीसम्बन्धी दुई, एमडीजीपी दुई, ल्याबमा एक र एनस्थेसियामा एक गरी नौ जना विशेषज्ञ डाक्टर छन् । त्यसैगरी १२ जना मेडिकल अधिकृत छन् ।

साथै अस्पतालले जेठ महिनादेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्थापनाको साढे पाँच दशकपछि आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताल सफल भएको हो । हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने सरकारको निर्णयअनुरूप महाकालीले पनि चालू आर्थिक वर्षदेखि आफ्नै फार्मेसी सुरु गरेको हो । अस्पताल परिसरमै फार्मेसी स्थापना भएपछि विपन्न एवं गरिब समूदायका बिरामीलाई ठूलो राहत पुगेको छ । २५ लाखबराबरको आधारभूत औषधि राखेर फार्मेसी स्थापना गरिएको हो ।

यसैगरी अस्पतालले सोमबारदेखि नै थाइराइडको ल्याब सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा अस्पतालले थाइराइडको ल्याब सञ्चालनमा ल्याएको हो । गत वर्ष प्रदेश सरकारले सामग्री तथा उपकरणका लागि दिएको बजेटबाट थाइराइड मेसिन खरिद गरी सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

नयाँ व्यवस्थापन आएसंगै अस्पताल सुधारोन्मुख भईरहेको छ । कृष्णदत्त जोशी नेतृत्वको व्यवस्थापन समितिले रिर्फर सेन्टरको रूपमा विकसित अस्पताललाई अहिले साच्चिकै अस्पतालको रूपमा विकसित गरिरहेको नागरिक अगुवाको अनुभव छ । कोरोना महामारीसंगै अस्पतालले आधुनिक सेवा विस्तार गररेपछि बिरामी समेत हर्षित भएका छन् ।

५७ वर्ष पछि तंग्रिदै अस्पताल : कृष्णदत्त जोशी पहिलो पटक गत वर्ष ७६ जेठ १५ गते महाकाली अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष बने । ‘रेफर’ अस्पतालको रूपमा परिचित अस्पतालकोे अध्यक्ष हुँदा जोशीलाई निकै चुनौति थियो । पर्याप्त चिकित्सकको अभावमा अस्पतालको सेवा लथालिङ्ग थियो । अस्पतालमा चिकित्सक सकेसम्म आउन चाहदैनथे । आइहाले पनि धेरै समय बस्दैनथे ।

आइसीयू उपकरण जडान भएर पनि सञ्चालनमा आउन सकेको थिएन । यो क्षेत्रकै प्रमुख अस्पतालसँग आफ्नै एम्बुलेन्स समेत थिएन । यस्तो अवस्थामा दक्ष जनशक्ति पदपुर्ति गर्दै अस्पतालको सेवा सुधारको जिम्मा जोशीको काँधमा आएको थियो । अध्यक्ष जोशी अस्पतालमा लागेको ‘रेफर सेन्टर’ को दाग मेटाउन चाहन्थे । त्यसैले अस्पतालको सेवा सुधारका लागि सुरुदेखि नै जोशी सक्रिय रूपमा लागे ।

यस क्षेत्रका जनप्रतिनिधिलाई दबाब, बारम्बार प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराउनेदेखि काठमाडौँ गएर सरोकारवालासँग छलफल गरेर अस्पतालको सेवा सुधारमा केन्द्रित रहे । अस्पतालका मेडिकल सुपरिडेन्ट हरिकुमार श्रेष्ठ, स्थानीय बुद्धिजीवि तथा नागरिक सरोकार समुहबाट पनि अध्यक्ष जोशीले साथ पाए । त्यही सक्रियताले पछिल्लो सयम महाकाली प्रादेशिक अस्पतालको सेवा सुधारन्मुख भएको छ ।

अस्पतालको सेवा सुधारको प्रमुख समस्याका रूपमा रहेको चिकित्सक अभाव हाल विस्तारै हल हुदै गएको छ । वि.स. २०२० सालमा प्राथमिक स्वाथ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१ सालमा १०० बेडसहित विस्तार र ०७५ मा प्रादेशिक अस्पतालका रूपमा स्तरबृद्धि गरिएको थियो । ‘यहाँका बिरामीहरू बाहिर जान नपरोस् भनेर हामीले अस्थायी रूपमै भएपनि आइसीयू संचालन गरेका छौँ,’ महाकाली अस्पतालका अध्यक्ष जोशीले भने, ‘अझै पनि हामीसँग जनशक्तिको कमी छ । त्यो पूर्तिका लागि माथिल्लो तहहरूमा पहल भइरहेको छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x