Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशबाट फर्किएकालाई भीमदत्तले रोजगारी दिने

विदेशबाट फर्किएकालाई भीमदत्तले रोजगारी दिने


धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ १७
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना महामारीका कारण विदेशबाट घर फर्किएहरूलाई रोजगारी दिन गृहकार्य अघि अगाडि बढाएको छ । नगरपालिकाले विदेश फर्किएकाहरूको सीप उत्पादनमूलक कार्यमा प्रयोग गर्ने गरी तयारी सुरु गरेको हो ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले सबै वडाका सचिवलाई विदेशबाट फर्किएकालाई स्वरोजगार बनाउन कार्यक्रमको तयारीमा जुट्न निर्देशन दिएका छन् । त्यसका लागि उनले सबै वडाका सचिव र सामाजिक परिचालकसित छलफल समेत गरेका छन् । रोजगार कार्यक्रम सञ्चालनका लागि सबैभन्दा पहिले सबै वडामा विदेशबाट घर फर्किएकाहरूको तथ्यांक संकलन गरी अघि बढाइने भएको छ ।

त्यसका लागि भदौ मसान्तभित्र सबै वडामा तथ्यांक संकलन गर्ने तयारी गरिएको नगरप्रमुख विष्टले बताएका छन् । नगरपालिकाका अनुसार तथ्यांक संकलनका क्रममा विदेशबाट फर्किएको व्यक्ति र उनीहरूले गर्न चाहको व्यवसायको तथ्यांक संकलन गरिनेछ । नगरप्रमुख विष्टले कोरोना संक्रमणले घर फर्किएका बासिन्दाको सीप क्षमताले नगरको विकास र समृद्धिमा टेवा पुग्ने भएकाले रोजगारका कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

‘भीमदत्तको समृद्धि र विकासको नारा लिएर अघि बढेका छौं, त्यसका लागि हरेक नागरिक सक्षम, स्वरोजगार र उत्पादनमूलक कार्यमा लाग्नु आवश्यक छ’ उनले भने, ‘त्यसका लागि अहिले विदेशबाट घर फर्किएका बासिन्दाको सीप क्षमतालाई नगरको विकास र समृद्धिमा लगाउने कुरा गरेका छौं ।’

नगरपालिकाले कोरोना संक्रमण फैलिएपछि गत वर्ष कार्यपालिका बैठकबाट नगर बासिन्दालाई उत्पादनमूलक कार्यमा लगाउने निर्णय गरेको थियो । पश्चिमी सीमा नाका गड्डाचौकीका कारण भीमदत्त नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा छ । कोरोना महामारीपछि भारतसहित तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश बासिन्दा घर फर्किएका छन् ।

नगरपालिकाका नगर प्रमुखको सचिवालयका नायब सुब्बा दिनेशराज भट्टले सबै वडाबाट तथ्यांक संकलन गरी व्यवसाय गर्न चाहनको बासिन्दाको विवरण तयार गरिने बताए । ‘मेयरसापको उपस्थितिमा तथ्यांक संकलन गर्नेसम्बन्धी अभिमुखीकरण गरिएको छ, भदौ मसान्तभित्र तथ्यांक संकलन हुन्छ,’ उनले भने, ‘त्यसपछि फारामका आधारमा के–कस्तो व्यवसाय गर्न खोजिएको छ, त्यसको विवरण तयारी गरी अघि बढ्छौँ ।’ तथ्यांकका आधारमा व्यवसाय सञ्चालन गरी उनीहरूलाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिने भएको हो । त्यसका लागि नगरपालिकाले अन्य निकायसँग पनि सहकार्य गर्ने नायब सुब्बा भट्टले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x