Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा करिब साढे चार खर्ब भारु खरिद

राष्ट्र बैंकद्वारा करिब साढे चार खर्ब भारु खरिद


काठमाडौं, भदौ १८
नेपाल राष्ट्र बैंकले एक आर्थिक वर्ष अर्थात् २०७६/०७७ मा खुला बजार कारोबारमार्फत कुुल दुुई खर्ब १९ अर्ब १६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । यसअन्तर्गत रिपोमार्फत एक खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत एक खर्ब तीन अर्ब २८ करोड प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष भने तीन खर्ब २२ अर्ब ४९ करोड तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी कुल ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । सोमध्ये निक्षेप संकलन बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत ४८ अर्ब तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर चार अर्ब २१ करोड खुद खरिद गरी चार खर्ब ९२ अर्ब २४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब १९ करोड खरिद गरी तीन खर्ब ६० अर्ब ९१ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा अमेरिकी डलर तीन अर्ब ८२ करोड बिक्री गरी चार खर्ब ४२ अर्ब १३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब २४ करोडलगायत अन्य विदेशी मुद्रा बिक्री गरी पाँच खर्ब १६ अर्र्ब ९७ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

सात अर्ब ४९ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा सात अर्ब ४९ करोड रुपैयाँ लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा पाँच अर्ब ८८ करोड र भूकम्पपीडितलाई प्रवाह गरिएको पुनर्कर्जा एक अर्ब ६१ करोड रुपैयाँ लगानी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी २०७७ असार मसान्तसम्ममा ३२ हजार चार सय ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २४ हजार सात सय ६३ ऋणीलाई प्रवाह भएको ५४ अर्ब ११ करोड कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत भने सात हजार छ सय ८५ ऋणीको पाँच अर्ब ४५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x