Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञा र लकडाउनको नयाँ मापदण्ड

निषेधाज्ञा र लकडाउनको नयाँ मापदण्ड


काठमाडौं, भदौ १८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा र लकडाउन गर्न नयाँ मापदण्ड बनाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण पाँच सयभन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी अर्थात् लकडाउन गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र दुई सयभन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्देही रहेका छन् । अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणको भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात् नेपालमा समेत ल्याइने मन्त्रालयले तयारी गरेको छ । तर, अहिलेसम्म खोपको परीक्षण सफल भइसकेको छैन । यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय २० महिला र आठ सय जना पुरुषमा नयाँ सङ्क्रमण देखिएको हो । अहिलेसम्म नेपालमा ४१ हजार छ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । मङ्गलबार एक हजार ६९ जना सङ्क्रमित भएका थिए । विगत २४ घण्टामा एक हजार एक सय १२ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म २३ हजार दुई सय ९० जना निको भएर घर फर्किएका छन् । निको ५६ प्रतिशत हो । मङ्गलबार सात सय ६८ जना निको भएका थिए । प्रदेश–१ मा एक हजार सात सय ८७ जना, प्रदेश नंं २ मा छ हजार ३४, वाग्मती एक हजार पाँच सय ६९, गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश नंं ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना छन् । उनले अहिलेसम्म १२ जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्देही छन् ।

यस्तै, पाँच जिल्ला सङ्क्रमणमुक्त भएका छन् । सोलुखुम्बु, मुस्ताङ, भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगु छन् । सङ्क्रमित देखिएकामध्ये एक सय ४४ जना सघन कक्षमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश नंं १ मा सात, प्रदेश नंं २ मा ३०, वाग्मती प्रदेशमा ६१, गण्डकी प्रदेशमा छ र प्रदेश नंं ५ मा २० जना सघन कक्षमा उपचाररत छन् भने प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा तीन जना भेन्टिलेटरमा उपचाररत छन् । संस्थागत आइसोलेसनमा १० हजार चार सय ९३ र होम आइसोसनमा सात हजार छ सय १५ जना रहेका छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार एक सय आठ जना र क्वारेन्टाइनमा छ हजार सात सय ६६ जना छन् । काठमाडौं उपत्यकामा तीन सय ८८ जना सङ्क्रमित देखिएका छन् । काठमाडौंमा तीन सय ५०, भक्तपुरमा नौ र ललितपुरमा २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यस्तै, कोरोना भाइरसको कारणले एकै दिन १२ जनाको बुधबार निधन भएको छ । २४ घण्टामा छ महिला र छ पुरुषको सङ्क्रमणको कारणले निधन भएको हो । मङ्गलबार ११ जना सङ्क्रमणबाट निधन भएका थिए । सङ्क्रमणबाट निधन हुनेमा चितवनका ५५ र १८, काठमाडौंका ८९, ललितपुरका ७०, तनहुँका २० र कपिलवस्तुका ६० वर्षीया महिला रहेका छन् । यस्तै बाराका ९७, चितवनका ६५, भक्तपुरका ४०, काठमाडौँका ७० र ७५ र धादिङका ४७ वर्षीय पुरुष रहेका छन् । बुधबारसहित सङ्क्रमणको कारणले निधन हुनेको सङ्ख्या दुई सय ५१ जना पुगेको छ ।

नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने सङ्क्रमितमध्ये ०.६ प्रतिशत हो । यसैबीच, अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका भित्रिने व्यक्तिहरुले अनिवार्य रुपमा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाउनुपर्नेछ । यसअघि त्यस्तो व्यवस्था गरिएको थिएन । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयल त्यस्तो निर्णय गरेका हुन् ।

साथै काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि अर्काे एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाको तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्काे एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअ सहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि बुधबार राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो । यही भदौ २४ गते राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ । सङ्क्रामक ोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशनबमोजिम आदेश जारी गरिएको हो ।

के–के सञ्चालन गर्न पाइन्छ ? तीनै जिल्लाका प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार औषधि र पानीजन्य व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्न पाउने पुरानै व्यवस्थालाई कायम गरिएको छ । अन्य खाद्यवस्तु, दूध, तरकारी फलफूल, माछामासुका व्यवसाय भने बिहान ११ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि उक्त व्यवसाय बिहान ९ः१५ सम्म मात्रै सञ्चालन हुँदै आएको थियो ।

तोकिएको मापदण्ड प्रयोग गर्दै विकास निर्माणसम्बन्धी पसल, व्यवसाय तथा ढुवानीका लागि सञ्चालन हुने छोटो दूरीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । पिसिआर नेगेटिभ भएका व्यक्तिबाट टेक–अवे सेवा तथा सरकारले तोकेको मापदण्ड प्रयोग गरी अनलाइन सेवासमेत सञ्चालन गर्न पाइने भएको छ । होमडिलिभरी सेवा भने मापदण्ड जारी भएपछि मात्रै सञ्चालन गर्न पाइने छ । त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ ।

कामदार र कर्मचारीलाई आयोजनास्थलकै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकतामा परेका आयोजना सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै मापदण्डअनुसार अनलाइन कक्षा सञ्चालन गर्न, क्वारेन्टिन र आइसोलेसनमा बस्ने व्यक्तिका लागि खाना बनाउने, क्याटरिङ र होटल, विमानस्थलदेखि क्वारेन्टिन तथा आइसोलेसनसम्म जाने यातायातका साधन पनि सञ्चालन गर्न पाउने छन् । अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको भने पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने जनाइएको छ । स्वाब परीक्षण गराएका व्यक्तिहरू रिपोर्ट नाउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ । बुधबारको निर्णयअनुसार अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछन् । उद्योगले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र छुट्टै क्वारेन्टिनको व्यवस्था गनुपर्नेछ । बैंकलगायत अन्य संस्थाले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा सञ्चालनको व्यवस्था गर्नुपर्ने छ । उक्त कार्य गर्न कठिन भए नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी सङ्ख्याको एक तिहाइ नबढ्न गरी सेवा सञ्चालन गर्न सकिनेछ । एटिएम सञ्चालन गर्दा सम्बन्धित बैंकले डिसइन्फेक्ट गर्नुपर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुने व्यक्तिका लागि सिधै विमानस्थल जाने सवारी साधनको हकमा भने सहजीकरण गरिनेछ । पिसिआर सेवा उपलब्ध नभएको क्षेत्रबाट आउनेको हकमा बस्ने स्थानको सुनिश्चितता गरी सम्बन्धित प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।

अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

निषेध गरिएका सेवाहरू : निषेधाज्ञा जारी भएपछि तोकिएका र अत्यावश्यकबाहेकका गतिविधि सञ्चालन गर्न पाइनेछैन । अत्यावश्यक सेवामा खटिएका व्यक्ति र अत्यावश्यक वस्तु खरिद गर्नेबाहेक कोही पनि बाहिर निस्किन पाउनेछैनन् । अत्यावश्यक सेवाको हकमा पनि १२ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएका व्यक्ति घरबाट बाहिर निस्किन पाउनेछैन ।

तोकिएको र अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न पाइनेछैन । अत्यावश्यक सामग्रीलगायत मालवाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । यसरी आएका सवारीका चालक सहचालक अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

उपत्यकामा तोकिएकाबाहेकका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन समेत सञ्चालन गर्न पाइँदैन । कोभिड­१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रका आधारमा सञ्चालन हुनेबाहेकका सवारीसाधन सञ्चालन गर्न पाइनेछैन ।

कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला हुन भीडभाड गर्न, सभा जुलुस गर्न पाइँदैन । परम्परागत रूपमा र दैनिक रूपमा भई आएको र दैनिक हुने आन्तरिक नित्यपूजाबाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइनेछैन ।

शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधिसमेत सञ्चालन गर्न पाइँदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ सञ्चालन गर्न पाउनेछैन । अत्यावश्यक कामका लागि घरबाहिर निस्किनुपरेमा अनिवार्य रूपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूउपर कडा कारबाही गरिने जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x