Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल एयरलाइन्सले लियो तोकेभन्दा बढी हवाइ भाडा

नेपाल एयरलाइन्सले लियो तोकेभन्दा बढी हवाइ भाडा


काठमाडौं, भदौ १८
विदेशमा रहेका श्रमिक उद्धारको नाममा सरकारले खुल्ला रुपमा नै चर्को हवाइ शुल्क लिई ठगी गरेको अवस्थामा यसलाई नेपाल एयरलाइन्सका कर्मचारीले समेत साथ दिएको पाइएको छ । सरकारले लागतभन्दा बढी हवाइ भाडादर लिएर विदेशमा रहेका अर्थात् श्रमिकहरुको उद्धार गरिरहेको समयमा नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा विदेशबाट फर्किने श्रमिकलाई लागतभन्दा करिब दोब्बर भाडा लिएको पाइएको छ । एकातर्फ चर्को भाडादर त्यसमाथि कर्मचारीको ठगीले गर्दा श्रमिकहरु भने दोहोर मारमा परेका छन् । नेपाल एयरलाइन्सको कार्यालयबाटै सहजै टिकट नपाउने तर उक्त टिकट बढी मूल्य दिएमा पाउने गरेको पाइएको छ ।

स्वदेश आउने क्रममा दुवईबाट नेपाल फर्किने तयारीमा रहेका सुवास (नाम परिवर्तन)ले काठमाडौंमा रहेका आफ्ना परिवारलाई दुवई–काठमाडौंको टिकट लिनको लागि आग्रह गरे । सोहीअनुरुप उनका नेपालमा रहेका परिवारले टिकट लिनको लागि नेपाल एयरलाइन्सको कार्यालय पुगे तर दुवईबाट काठमाडौंको लागि टिकट पाएनन् ।

आफ्नो छोरो फर्काउने प्रयासमा रहेका परिवारजनलाई केही रकम बढी तिरेमा टिकट पाइने एयरलाइन्सका कर्मचारीले बताए । सोसँगै सुवासका परिवारले उनलाई स्वदेश आउनका लागि अर्थात् दुवई–काठमाडौंका लागि ६० हजार रुपैयाँ तिरेका छन् । एयरलाइन्सका कर्मचारीले टिकटबापतको रकम भने आईएमई गर्नको लागि आग्रह गरेका छन् ।

योसँगै आईएमईमार्फत एयरलाइन्सका कर्मचारीले बढी रकम लिएको खुल्न आएको हो । सरकारले अर्थात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुवई–काठमाडौंको लागि करिब ४५ हजार रुपैयाँ (संशोधनपछि) भाडादर तोकेको छ । यसैबीच कर्मचारी नै संलग्न भएर यसरी बढी रकम लिनु भनेको गलत कार्य भएको एयरलाइन्सकै कर्मचारीले बताए । नाम नबताउने शर्तमा भाडा बढी लिएको हुनसक्छ । ‘बदमासी नहोला भन्न सकिँदैन’, उनले भने, ‘कार्यालयलाई थाहा नदिने हिसाबले त्यसो गरेको हुनसक्ला ।’

उनले नेपाल एयरलाइन्सले उद्धारको लागि सरकारले तोकेकै भाडादारमा श्रमिकहरुलाई फर्काउने गरेको बताए । ‘हामीले सरकारले तोकेको भाडादरमा चार्टर्ड उडान गरिरहेका छौँ’, ती अधिकारीले भने, ‘चार्टर उडान गर्नका लागि खर्च पनि बढी लाग्ने हुँदा उडान भाडा अलि बढी छ तर पनि हामीले कार्यालय तथा स्वदेश, विदेशमा रहेका एजेन्टहरुलाई सरकारले तोकेकै भाडादर लिने गरी टिकट बिक्री वितरण गर्न अनुमति दिएका छौँ ।’

त्यसैगरी मलेसियाबाट फर्किएका एक युवाले समेत तोकेभन्दा बढी भाडादरमा आफू नेपाल फर्किएको बताए । ‘मेरो लागि कम्पनीले भाडाको रकम तिरेको कारण मेरो निजी रकम भने खर्च गर्नुपरेन तर विदेशमा रहेका अर्थात् मलेसियामा रहेका नेपाली पनि चर्को भाडाका कारण समस्यामा परेका छन्’, उनले भने ।

यसरी कर्मचारीको बदमासीका कारण नेपाल एयरलाइन्सले कतिपय टिकटहरु सिधै बुकिङ गर्न नदिई आइएमईमार्फत बढी रकममा बुकिङ गर्न लगाएको छ जसले गर्दा स्वदेश फर्किने कयौं नेपालीहरु मारमा पर्ने देखिन्छ । सरकारले उद्धार उडानको नाममा चर्को शुल्क तोकेसँगै चौतर्फी विरोध भएपछि भाडादर संयोजन गरेको थियो भने हाल पनि स्वदेश फर्किनपर्ने नेपालीले चर्को भाडादर तिरिरहेका छन् । यसको सबैभन्दा बढी मार भनेको मलेसिया तथा खाडी मुलुकमा रहेका मजुदरहरुलाई पर्न गएको छ । चर्को हवाइ शुल्कको कारण कयौं नेपालीहरु मलेसिया र खाडी मुलुकबाट स्वदेश फर्किन समेत सकेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x