Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री दृढ

खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री दृढ


काठमाडौं, भदौ १८
अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नै निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अडान लिएका छन् । नेकपा स्थायी समिति बैठक बस्नु एक दिनअगाडि बुधबार नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको संवादमा ओलीले २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा चुनावी घोषणापत्र लेखनका सदस्यसमेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राखेका हुन् ।

स्रोतका अनुसार प्रचण्ड बिहीबारको सचिवालय बैठकका साथै खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीबाट हटाउने पक्षमा आफू नभएको जानकारी प्रचण्डलाई गराएका छन् । केही दिन अगाडि एक टेलिभिजन अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले खतिवडाले अर्थमन्त्रीका रुपमा राम्रो काम गरेको र कार्यशैलीप्रति प्रश्न उठाउने छुट सबैलाई भएको बताएका थिए ।

खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन यसपटक भने सांसद बनाउनैपर्नेछ । अहिले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक पद मात्र राष्ट्रियसभामा खाली छ । उक्त सांसद पदमा मनोनीत हुन नेकपाका नेता वामदेव गौतमले पनि प्रयास जारी राखेका छन् भने प्रधानमन्त्री ओलीले खतिवडालाई नै मनोनीत गर्ने अडान लिएका छन् ।

नेकपाले यसअघि नेता वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय लिए पनि प्रधानमन्त्री ओलीले भने उपयुक्त समयमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको र कहिले लैजाने भन्ने मिति नतोकिएको कारण यसपटक खतिवडालाई नै राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान लिएका हुन् । गौतमले पार्टीले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकेको कारण अर्को व्यक्तिलाई लैजाने हो भने फेरि निर्णय गर्नुपर्ने अडान लिएका छन् । धेरैले प्रधानमन्त्री ओलीले आफू पदमा टिकिरहन वामदेवलाई राष्ट्रियसभामा लगेर खतिवडालाई अमेरिकाको राजदूत बनाउन लागेको हल्ला चलाए पनि त्यो सत्य नभएको ओली र प्रचण्डबीच बुधबार भएको संवादले पनि प्रष्ट पारेको छ ।

राजस्व ठगी गर्नेहरुले सुरुदेखि नै खतिवडालाई अर्थमन्त्रीबाट हटाउन विभिन्न उपायको खोजी गर्दै आएका थिए । अहिले उनीहरुले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुलाई प्रयोग गरेका छन् । तर, प्रधानमन्त्री ओली भने धर्मराएका छैनन् । अर्थतन्त्रलाई दुरुपयोग गर्न पल्केकाहरुले अर्थशास्त्री खतिवडालाई अर्थमन्त्रीबाट विदा गरेर अर्थतन्त्रको जानकारी नभएका व्यक्तिलाई अर्थमन्त्री बनाएर रजाइँ गर्ने प्रयास गरेका छन् । त्यो प्रयासलाई सफल हुन नदिने अडानमा प्रधानमन्त्री ओली दृढ देखिएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका अर्थमन्त्री खतिवडा करछली गर्ने र दलाली अर्थतन्त्रको पक्षधरप्रति नरम छैनन् । विश्वका अन्य देशजस्तै नेपालमा पनि करछली गरेर धन आर्जन गर्नेको एउटा ठूलो गिरोह छ । त्यो गिरोह जुनसुकै देशमा पनि अर्थशास्त्री अर्थमन्त्री भएको हेर्न चाहँदैन । उनीहरु आफूले खेलाउनसक्ने अर्थमन्त्रीको खोजीमा हुन्छन् । नेपालमा पनि करछली गर्न पल्केकाहरु अर्थशास्त्री अर्थमन्त्री हटाउने खेलमा सबै अस्त्र प्रयोग गर्ने पक्षमा छन् । तर, यसलाई राम्रोसँग प्रधानमन्त्रीले बुझेका छन् । अहिले खतिवडालाई अर्थमन्त्रीबाट हटाउनु भनेको करछली गर्नेसँग झुक्नु भएको भन्दै प्रधानमन्त्री ओलीले खतिवडाको पक्ष लिएका हुन् ।

सांसदमा मनोनीत नहुने हो भने यही भदौ २० गते मध्यरातपछि अर्थमन्त्री खतिवडाको पद स्वतः समाप्त हुनेछ । राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले गत फागुन २० गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै खतिवडा संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्रीमा पुनः नियुक्त भएका थिए ।

संविधानको उक्त धाराअनुसार सांसद नभएको व्यक्ति छ महिनाको लागि मन्त्री बन्नसक्छ । त्यसपछि उक्त मन्त्री पद स्वतः समाप्त हुनेछ । खतिवडा २१ फागुनमा गैरसांसदको रुपमा अर्थमन्त्रीमा नियुक्त भएको कारण २० गते राति १२ बजेपछि उनको पद स्वतः समाप्त हुनलागेको हो । त्यही भएर खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिनको लागि सांसद बनाउनैपर्छ । अहिले राष्ट्रियसभामा एक पद खाली छ । सरकारको सिफारिसमा सांसद बनेका खतिवडा गोला तान्दा दुईवर्षे कार्यकालमा परेका थिए । खतिवडाको राष्ट्रियसभाको त्यही दुईवर्षे कार्यकाल सकिएपछि सरकारबाट सिफारिस भएको व्यक्ति राष्ट्रपतिबाट मनोनीत हुने एक पद रिक्त हुन गएको हो ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल सकिएपछि बुधबार साँझ नै प्रधानमन्त्री र नेता गौतमबीच पनि छलफल भएको छ । चार÷पाँच दिनदेखि प्रधानन्त्री ओलीले गौतमलाई फकाएर राष्ट्रियसभामा जाने अडान त्याग्न आग्रह गर्दै आएका छन् । गौतमले राष्ट्रियसभा जाने अडान त्यागेमा गौतम पत्नी कु. तुल्सी थापा मन्त्री बन्ने पक्काजस्तै छ । प्रधानमन्त्री ओली र नेता गौतमबीच सहमति नभएमा नेकपाभित्रको विवाद फेरि नयाँ रुपमा देखापर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x