काठमाडौं,भदौ १९
बिहीबार एकैदिन एक हजार दुई सय २८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्मको २४ घण्टाको परीक्षणमा उक्त संख्या पुगेको हो । नेपालमा एकै दिन सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको यो नै पहिलो घटना हो । बिहीबार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ ।
पछिल्ला दिनहरुमा दैनिक दुई अंकको दरमा मानिसहरुको कोरोनाबाट मृत्यु भइरहेको छ । बिहीबार एक हजार दुई सय २८ जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । १३ हजार चार सय १३ पीसीआर परीक्षण गरिएकोमा उक्त संख्या देखिएको हो । यसैगरी पछिल्लो समयमा नौ सय १७ जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार चार सय १३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मुलुकभर हाल संस्थागत आइसोलेसनमा १० हजार छ सय ७१ र होम आइसोलेसनमा सात हजार सात सय ४२ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी देशभरका क्वारेन्टाइनमा छ हजार सात सय ४९ जना रहेका छन् । देशभर हाल एक सय ४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तिनमा ३० महिला र ६५ पुरुष छन् । सङ्क्रमितमा मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुई÷दुई तथा प्रदेशबाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा सङ्क्रमण देखिएको हो ।
यस्तै सुनसरीको धरानमा चार महिला र १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक पुरुष तथा प्रदेशबाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार सात सय ४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार सात सय ९० जनाको पीसीआर परीक्षण भई कुल ९३ हजार दुई सय ९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
जनजीवन सहज बनाउन सुझाव
बन्दाबन्दी र निषेधाज्ञाले कोरोना रोकथाम एवं नियन्त्रण हुन नसक्ने सञ्चारकर्मीले सुझाव दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बिहीबार यहाँ आयोजित छलफलमा सञ्चारकर्मीले जनजीवनलाई सहज एवं सरल बनाउन कोरोना भाइरसका बारेमा नागरिकलाई सचेत र सजग बनाउनु नै उत्तम उपाय हो भन्दै उद्योग, व्यापार, व्यवसाय बन्द गरेर कोरोनाको रोकथाम एवं नियन्त्रण गर्न नसकिने बताए ।
सो अवसरमा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले नागरिकले सरकारी सेवा पाउनबाट वञ्चित हुन नहुने बताउँदै बन्दाबन्दी र निषेधाज्ञाका विकल्पका बारेमा सुझाव दिन आग्रह गरे । उनले तत्काल सरकारी वा निजी विद्यालयहरु सञ्चालन नहुने जनाउँदै जनजीवन सहज एवं सरल बनाउन सरकारले आवश्यक योजना बनाउने जानकारी दिए । आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले सञ्चारकर्मीलाई सार्वजनिक खरिद ऐनअनुसार नै विज्ञापन दिइएको जानकारी दिए ।
जनकपुर : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु हुनाका साथै दुई सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा सप्तरी जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशमा अहिलेसम्ममा ९६ जनाको मृत्यु भइसकेको छ ।
सोही अवधिमा धनुषाबाट ६३, महोत्तरीबाट १९, सर्लाहीबाट ३०, रौतहटबाट ४६, बाराबाट २५ र पर्साबाट ६९ गरी दुई सय ५२ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या १० हजार आठ सय आठ पुगेको छ । तीमध्ये बिहीबार एक सय ८३ जना उपचार गराई निको भएर घर फर्केका छन् । उपचार गराई निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार दुई सय ५४ पुगेको छ ।
प्रदेशमा एक सय ९६ क्वारेन्टाइन रहेकामा घटेर एक सय ७७ कायम भएको छ । सो क्वारेन्टाइनमा पाँच सय ५५ जना बसेका छन् । होम क्वारेन्टाइनमा एक हजार छ सय ६२, आइसोलेसनमा एक हजार २५ र होम आइसोलेसनमा चार हजार चार सय ३३ जना रहेको सो मन्त्रालयले जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिकाका १० वटा वडामा बिहीबार अपराह्न थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार अपराह्न तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा महानगरका २९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० नं वडाका २१ देखि ५२ वर्ष उमेर समूहका महिला तथा पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तनहुँ, व्यास –१ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय आठ पुगेको छ ।
व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह
रुपन्देहीका उद्योगी व्यवसायीले निर्बाधरुपमा व्यापारव्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरुले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनाको साथै निजी क्षेत्रको लगानीसमेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यापार यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी यही भदौ २० गतेपछि व्यवसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका छन् । यस्तै रुपन्देही उद्योग संघले पनि सुरक्षा सतर्कता अपनाएर उद्योग व्यसाय खोल्ने अनुमति दिन माग गरेको छ ।
कानुन मन्त्रालयका कर्मचारीमा संक्रमण
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एक÷एक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो ।
सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेसनमा बसेको बताए । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उनको भनाइ थियो ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताइन् । मन्त्रालयका अन्य कर्मचारी पनि आइसोलेसनमा रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया