राहत लिन बोलाएर सर्वसाधारणमाथि प्रहरीद्वारा लाठीचार्ज
सन्तोष पौडेल
काठमाडौं,भदौ १९
जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरणका लागि सर्वसाधारणलाई बोलाएर कुटपिट गरेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका गरिब र असहायलाई राहत प्रदान गर्ने भनेर जिल्ला प्रहरी कार्यालय परिसरमा आह्वान गरी सर्वसाधारणलाई कुटपिट गरेको हो । राहत प्रदान गर्ने भन्दै महानगरका सम्पूर्ण वडा कार्यालयहरूलाई जिल्ला प्रहरी कार्यालयले गरिब, विपन्न तथा निषेधाज्ञाका कारण प्रभावित भएकाहरूलाई पठाउन निर्देशन दिएको थियो । सोहीअनुरूप बुधबार साँझ राहत लिन पुगेका सर्वसाधारणहरूमध्ये केहीले राहत पाएका थिए भने केहीलाई राहत लिन बिहीबार बोलाइएको थियो ।
बिहीबार बिहानै राहत लिन पुगेका सर्वसाधारणलाई राहत नदिएर प्रहरीले गेटमै रोकेको थियो । प्रहरी उपरीक्षक गंगा पन्तले केहीबेरमै राहत बाँड्ने भन्दै सबैलाई लामबद्ध हुन आग्रह गर्दै कार्यालय प्रवेश गरेकी थिइन् । त्यसको केहीबेरमै प्रहरी कार्यालयभित्रबाट आएका केही प्रहरीले सर्वसाधारणलाई लखेट्ने सुरु गरेको घटनास्थलमा रहेकी महिला अधिकारकर्मी शैली चौधरीले बताइन् ।
सर्वसाधारणहरूमध्ये केहीलाई प्रहरीले कुटपिट गरेको उनको भनाइ छ । उनले भनिन्, ‘एसपी पन्त भित्र प्रवेश गरेको पाँच मिनेटमै केही प्रहरीहरू आएर सर्वसाधारणहरूसँग कुरा गर्न थाले । यतिमै एक महिला प्रहरीले सर्वसाधारणउपर लाठी बजार्दै लखेट्न थालिन् ।’ राहत लिन पुगेको सर्वसाधारणहरूका अनुसार गत दुई दिनबाट जिल्ला प्रहरी कार्यालयले राहत बाँडिरहेको थियो र त्यही क्रममा बिहीबार पनि बोलाएको थियो । तर, बिहीबार राहतका लागि बोलाएर आफुहरूलाई प्रहरीले कुटपिट गरेर लखेटेको उनीहरूको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको संयुक्त पहलमा प्रहरी कार्यालय पर्सासँग पहिलाको मौज्दात रहेको १० किलोका दरले ४२ पोका चामल र स्थानीय सरकारले उपलब्ध गराएको ७३ पोकाप्रति पोका २० किलो चामल, १ किलो नुन, ३ किलो दालमध्ये बुधबार अति गरिब र विपन्न एक सय पाँच परिवारलाई राहत वितरण गरेको थियो । बाँकी परिवारलाई बिहीबार राहत वितरण गर्ने कार्यक्रम तय भएको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार बिहान केहीलाई राहत बाँडिएको थियो । राहत वितरण गरेको थाहा पाएपछि वीरगञ्जका विभिन्न वडाका एक हजार पाँच सयको हाराहारीमा स्थानीयहरू राहत लिन जिल्ला प्रहरी कार्यालय पर्साको मुल गेटमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको मुल गेटमा स्थानीयहरूले होहल्ला गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न समान्य बल प्रयोग गरेको पर्साका प्रहरी प्रवक्ता मनोजीत कुँवरले बताए । स्थानीयहरूले यस्तो महामारीको बेलामा भीडभाड गर्ने तथा भौतिक दूरी समेत कायम नगरेपछि प्रहरी व्यवस्थापन मात्र गरेको प्रवक्ता कुँवरले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया