Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुरधामको मणिपाल कोभिडविशेष अस्पताल

जनकपुरधामको मणिपाल कोभिडविशेष अस्पताल


बटुकनाथ झा
जनकपुरधाम, भदौ २१
प्रदेश २ सरकारले जनकपुरधामको मणिपाललाई कोभिडविशेष अस्पताल बनाउने भएकोे छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को शुक्रबार बसेको बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रूपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने कार्य तत्काल सुरु गर्नको लागि समितिले निर्देशन दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कोभिड विशेष अस्पताल बनाउने उपयुक्त स्थान मणिपाल रहेकोले तत्काल तयारी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । प्रदेशमा कोभिड विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएको छ । संक्रमितको व्यवस्थित तरिकाले उपचार गर्नको लागि तत्काल मणिपाललाई कोभिड विशेष अस्पतालको रूपमा परिणत गर्न सबै तयारी अगाडि बढाउनको लागि उनले निर्देशन दिएका हुन् । भएको जनशक्तिलाई व्यवस्थापन गर्दै थप जनशक्ति लोकसेवा आयोगमार्फत थप गर्ने प्रक्रिया अघि बढाउने मुख्यमन्त्री राउतले जानकारी दिए ।

हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरूमा हुने गरेको छ । तर, त्यो दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालको रूपमा परिणत गर्ने निर्णय गरेको छ । कोभिड विशेष अस्पताल तयार गर्नको लागि आवश्यक स्रोतसाधन र जनशक्ति व्यवस्थापनको जिम्मा सम्बन्धित मन्त्रालयहरूलाई दिइएको छ ।

बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रूपैयाँ थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले २५ करोड रूपैयाँको कोष स्थापना गरेको थियो । रकमको आवश्यकक्ता महसुस गरेर १० करोड रूपैयाँ थप गर्ने निर्णय गरेको हो । कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्नको लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ ।

५० थान भेन्टिलेटर खरिद गर्ने : प्रदेशभरि नै कोरोना अस्पतालमा भेन्टिलेटरको अभावमा संक्रमित बिरामीहरूको मृत्यु हुनेको संख्यामा वृद्धि भएपछि प्रदेश सरकारले एक साताभित्रमा ५० थान भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको छ । प्रदेश सफ्ट व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकले आईसीयू तथा भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको मृत्यु भएपछि चाँडो प्रक्रियामार्फत भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका आठवटा आईसीयू तथा दुई वटा भेन्टिलेटर कोरोनाका गम्भीर बिरामीको उपचार गर्नका लागि पर्याप्त नभएको भन्दै भेन्टिलेटर आवश्यक रहेको भन्दै गत वैशाख ८ गते नै ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको थियो । तर सामानको अभाव तथा गुणस्तरीय सामानको आपूर्तिलाई देखाएर खरिद हुन सकेको थिएन ।

प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोनाका बिरामीको उपचार प्रभावकारी भएका कारणले धेरै गम्भीर प्रकारको कोरोनाका बिरामीहरू पनि निको भएका छन् । थप सुविधाहरू भएको खण्डमा मान्छेहरूको जीवन रक्षा गर्नका लागि थप मदत पुग्ने भन्दै प्रदेश सरकारले शीघ्र प्रक्रियामार्फत सामानको आपूर्ति गर्न लागेको जनाएको छ । यसका साथै भेन्टिलेटरसहितको कोरोना अस्पताललाई राम्रोसँग सञ्चालनका लागि स्वास्थ्यका कर्मचारी पनि लोकसेवा आयोगमार्फत भर्ना गर्ने जनाएको छ ।

जनशक्तिको अभावमा कुनै पनि स्वास्थ्य उपकरण सञ्चालन सहज रहेको छैन । महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा पाँच थान भेन्टिलेटर खरिद भए पनि जनशक्तिको अभावमा हालसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारको बजेटबाट नै अस्पताल आफैँले खरिद गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x