Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन क्षेत्रले पुनर्जीवन पाउन पाँच वर्ष लाग्ने

पर्यटन क्षेत्रले पुनर्जीवन पाउन पाँच वर्ष लाग्ने


काठमाडौं, भदौ २३
कोभिड १९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् । पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको पर्यटनको संभावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको उनले बताए । ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विशेष इन्ट्रेस्टको आधारमा सेवा दिन सकिन्छ । त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने ।

पर्यटन क्षेत्रमा केही नयाँ आविष्कार गर्नसके पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै उनले त्यसबाट माथि उठ्नुको विकल्प नभएको बताए । भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उनको भनाइ थियो ।

नेपालमा ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिने उनले बताए । त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा तथा बीमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यसतर्फ ध्यान पु-याउनुपर्ने बताए । सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । त्यसैलाई लक्षित गर्दै सरकारी तथा निजी क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले बताए । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भए पनि कार्यान्वयन नहुँदा प्रभावकारी नभएको उनको भनाइ छ ।

त्यसैगरी पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार/पाँच वर्ष लाग्ने बताए । ‘२०२४/०२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउनसक्ने देखिन्न’, शाक्यले भने । पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आश्यकता पर्नेमा शाक्यले जोड दिए ।

यस्तै पर्यटन भित्र्याउन विमानस्थलको सम्पूर्ण व्यवस्थापन गर्न निजी क्षेत्र तयार रहेको संयोजक शाक्यको भनाइ छ । कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उनले बताए । त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायतका खर्च कटौती गर्न पाउनुपर्ने बताए ।

पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको शाक्यले बताए । पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याएको प्याकेजलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई दिने वातावरणको अन्त्य गर्नुपर्ने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x