Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा कोरोना संक्रमित आधा लाख नाघे

नेपालमा कोरोना संक्रमित आधा लाख नाघे


काठमाडौं, भदौ २६
गत चैत/वैशाखको जनअपेक्षाविपरीत नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारदेखि आधा लाख नाघेको छ । पहिलोपटक नेपालमा विदेशबाट आएका एक युवामा गत माघ ९ गते कोरोना देखिएको थियो । त्यसपछि चैत ४ गते फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पुष्टि भएपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

चैत १३ गते थप एक जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि वैशाख ५ गते एकै दिन उपयपुरका भुल्केमा १४ जनामा कोरोना देखिएको थियो । ती अधिकांश भारतबाट आएका वा भारतीयसँग सम्पर्कमा भएका व्यक्ति मात्र थिए । वैशाख ३० गतेसम्म आइपुग्दा दुई सय १७ जना मात्र संक्रमित भएका थिए । त्यसमा पनि अधिकांश भारत र अन्य देशबाट आएकाहरुमा मात्र कोरोना संक्रमित थिए ।

वैशाख अन्तिम दिन आउँदासम्म नेपालभन्दा पनि विदेशबाट आएकामा कोरोना देखियो भने जेठ लागेपछि थप केही मात्रामा विदेशबाट आउने व्यक्तिका सम्पर्कमा गएकाहरुमा कोरोना संक्रमण देखिएको थियो । लकडाउन भएको दुई महिना पुग्न लाग्दा खुलाउन माग गर्दै नेपालीमा रहेका कसैलाई पनि कोरोना नै नलाग्ने र विदेशबाट आउनेलाई व्यवस्थापन गर्नुपर्ने माग बढ्यो । विभिन्न संस्थाले नेपालमा ६० देखि ७५ हजारमा कोरोना देखिन्छ भनेर प्रक्षेपण गर्दा अर्थतन्त्र तहसनहस पार्ने प्रपञ्च भनेर विरोध भयो । तर, अहिले गाउँका गाउँ कोरोना लागेर एउटै वडाका सयौँ जनामा एकै दिन संक्रमण देखिन थालेको छ ।

नेपालमा दुई जनामा कोरोना देखिएको सवा पाँच महिनाको अवधिमा बिहीबारसम्म ५० हजार चार सय ६५ जनामा कोरोना पुष्टि भएको छ भने तीन सय १७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । तर, नेपालमा भदौ २५ गते बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ४८ जना मात्र छन् । तीमध्ये पनि आईसीयूमा ८६ जना र भेन्टिलेटरमा १९ जना मात्र छन् । कुल संक्रमितको संख्या बढी भए पनि सक्रिय संक्रमितको संख्या कम हुँदा केही आशा गर्न सकिने ठाउँ भए पनि पछिल्लो एक तीन सातामा दैनिक सरदर एक हजारको दरले संक्रमित थपिन थालेको कारण केही महिनाको अवस्था थप जोखिमपूर्ण हुने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार एकै दिन देशभर एक हजार दुई सय ४६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । काठमाडौंलगायतका देशका धेरै सहरी क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन हुनथालेको कारण यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । बिहीबारसम्म ३५ हजार सात सय जनाले कोरोना जितेका छन् । सार्वजनिक यातायात खुलेकै दिन काठमाडौं उपत्यकामा संक्रमितको संख्या पाँच सय ७२ जना पुगेका छन् । त्यसमा काठमाडौं जिल्लमा मात्रै चार सय ९५ जना छन् भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना थपिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x