Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरा र भैरहवा विमानस्थलमा कार्यरत चिनियाँ कामदार ल्याउने तयारी

पोखरा र भैरहवा विमानस्थलमा कार्यरत चिनियाँ कामदार ल्याउने तयारी


काठमाडौं, भदौ २६
सन् २०२० सम्ममा सञ्चालनमा ल्याउने तयारीस्वरुप निर्माणकार्य अघि बढाइएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कामदार अभाव हुँदा आयोजना विस्तारको काम अघि बढ्न समस्या भएको छ । कोभिडकै कारण स्वदेशी तथा विदेशी कामदारको अभाव भए पनि आयोजनाको काम भने अघि बढिरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आर्थिक दैनिकलाई जानकारी दिए ।

‘सामान्य अवस्था भएको भए निर्धारित समयमै विमानस्थल निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्न सकिन्थ्यो’, प्रमुख मुनकर्मीले भने, ‘तर चिनियाँ कामदार आउन नसक्नु र नेपाली कामदार समेत आयोजनासम्म आइपुग्न नसक्नुले समस्या भएको छ ।’ आयोजनामा चिनियाँ र नेपाली कामदारले काम गर्दै आएका छन् । चिनियाँ कामदार उडान बन्द भएका कारण तथा नेपाली कामदार भने सवारीसाधन नचल्दा काममा आउन नसकेका हुन् ।

यसैबीच आयोजना तथा नेपाल उड्डयन प्राधिकरण (क्यान)ले चिनियाँ कामदार ल्याउनको लागि पहल थालेको छ । ‘पहिलो चरणमा ३० जना चिनियाँ प्राविधिक ल्याउनको लागि परराष्ट्रलाई जानकारी गराएका छौँ’, उनले भने, ‘सरकार चिनियाँ प्राविधिक ल्याउन सकारात्मक छ भने चिनियाँ प्राविधिकमा मेकानिकल, इलेक्ट्रिकल इन्जिनियर, विमानस्थलसम्बन्धी दक्ष कर्मचारी तथा प्राविधिक रहेका छन् । अबको केही समयभित्र उनीहरु नेपाल ल्याइनेछ भने आयोजना विस्तारमा थप सहज हुनेछ ।’

प्राधिकरणले अक्टोबरसम्म सबै चिनियाँ प्राविधिक ल्याउने तयारीस्वरुप अघि बढेको छ भने कोभिडका कारण आयोजनामा कार्यरत करिब दुई सय जना चिनियाँ प्राविधिक नेपाल आउनसकेका छैनन् । सामान्य अवस्थामा प्रशासनिक, प्राविधिक तथा सहयोगी कामदार गरी दैनिक साढे पाँच सय जनाले काम गर्ने गरेकोमा पछिल्लो समय सो संख्या न्यून हुँदा आयोजना प्रभावित बन्नपुगेको हो । अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द हुँदा करिब दुई सय जना चिनियाँ प्राविधिक आयोजनासम्म आउन नसकेका हुन् ।

सवारीसाधन सञ्चालन नहुँदा तथा स्वास्थ्य सुरक्षाको कारण नेपाली कामदारहरु पनि सबै जना आयोजनामा काम गर्न आएका छैनन् भने उनीहरुलाई निर्माण कम्पनीले समेत जानको लागि निर्देशन दिएको आयोजनाले जानकारी दिएको छ ।

यसरी करिब साढे तीन सय जना इन्जिनियर, इलोक्ट्रेसियनलगायतका प्राविधिकले भने निरन्तर काम गरिरहेका छन् । ‘हामीले गेट बन्द गरी आयोजनाभित्र रहेका व्यक्तिहरुबाट काम निरन्तर गरिरहेका छौँ भने ६३ प्रतिशत भौतिक प्रगति रहेको छ’, उनले भने, ‘हाल सहायक सडक, सर्भिस सडक, ट्याक्सी पार्किङ तथा विद्युतीय उपकरण जडानलगायतका कामहरु भइरहेको छ भने ट्याक्सी पार्किङ, ह्यांगर एप्रोन, आइसोलेटेड पार्क तथा विभिन्न सडकहरुको भने निर्माणसम्पन्न भइसकेको छ ।’

आयोजनामा एक्स्काभेटर, लोडर, क्रेनलगायतका चलाउने प्राविधिज्ञ तथा इन्जिनयर, इलेक्ट्रिसियनलगायतका प्राविधिकहरुले काम गरिरहेका छन् । केही समयअघि वर्षाको कारण विमानस्थल निर्माणको काम प्रभावित बनेको थियो भने हाल भने काम निरन्तर भइरहेको छ । गिट्टी, बालुवा, सिमेन्टलगायतका सामग्री स्टक भएको तथा स्थानीय बजारबाट उपलब्ध सामग्रीको प्रयोग गरी विमानस्थलको सिभिलतर्फको काम नियमित भइरहेको छ ।

त्यसैगरी चीनबाट ल्याइएको एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री तथा डोजर, एक्स्काभेटर, ट्रान्सफर्मर, इलेक्ट्रिकलगायतका सामग्री नआइसकेको हुँदा समेत विमानस्थलको काम अघि बढ्न समेत सकेको छैन । यस्तै पोखरामा कार्यरत चिनियाँ प्राविधिक तथा कामदार मात्र नभई भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल समेत रोकिएका चिनियाँ प्राविधिज्ञ ल्याउने तयारी गरिएको छ ।

प्राधिकरणका अनुसार पोखराका साथै भैरहवा विमानस्थलमा कार्यरत चिनियाँ प्राविधिज्ञ र कामदार समेत ल्याउनको लागि पहल गरिएको बताएको छ । २० जना चिनियाँ प्राविधक मुलुक गएका थिए भने उनीहरु फर्किनसकेका छैनन् ।

आयोजनाका अनुसार विमानस्थल निर्माणकार्यमा प्राविधिक र कामदार गरी २८ जना चिनियाँ नागरिक कार्यरत थिए । उनीहरु चिनियाँ वर्ष मनाउन स्वदेश गएको क्रममा आफ्नै मुलुकमा रोकिनपुगेका थिए । २८ जना चिनियाँ र बाँकी नेपाली कामदार गरी ८० जना प्राविधिक तथा कामदारले विमानस्थल निर्माणका कार्य गर्दै आएका थिए ।

पोखरा विमानस्थल निर्माणको कुल लागत २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ भने भैरहवा विमानस्थल निर्माणको कुल लागत छ अर्ब ८२ करोड रुपयाँ रहेको छ । यो रकम जग्गा अधिग्रहणबाहेकको हो भने जसमध्ये एसियाली विकास बैंकको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x