Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश सरकारले स्थानीय तहलाई पठायो थप एक करोड १० लाख

प्रदेश सरकारले स्थानीय तहलाई पठायो थप एक करोड १० लाख


विराटनगर, भदौ २६
प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको छ ।

मोरङ्गका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ । इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ ।

सुनसरी जिल्लाको क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेसन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो । स्थानीय पालिकाहरुको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x