Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबन्दमा पनि गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति राम्रो

बन्दमा पनि गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति राम्रो


काठमाडौं, भदौ २८
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य लकडाउनको समयमा समेत जारी छ । लकडाउनमा समेत निर्माणकार्यलाई सुचारु गरेको आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनकै समयमा भौतिक प्रगति ४ प्रतिशत र समग्रमा ९२ प्रतिशत भौतिक प्रगति रहेको बताए ।

प्रमुख अधिकारीले कोभिड १९का कारण सरकारद्वारा जारी गरिएको लकडाउनका समयमा पनि आयोजना अघि बढाउने अर्थात् विमानस्थल निर्माणको क्रममा धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने ट्याक्सी वेय (सी) को निर्माणकार्य सुरु भई सम्पन्न गरेको तथा पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावन मार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य चालू रहेको बताए ।

त्यसैगरी आयोजना अघि बढाउने अर्थात् विमानस्थल निर्माणको क्रममा लकडाउनमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसनर, इन्टेरियर, फायर हाइड्रन्ट, पानी वितरण एवम अन्य उपकरण जडान, धावन मार्गमा विद्युतीय कार्यका लागि आवश्यक पूर्वाधारसम्बन्धी कार्य सम्पन्न गरेको, पेरिमिटर सडकका लागि आवश्यक नदीजन्य निर्माण सामग्री संकलन एवम् ढुवानी गरेको तथा टर्मिनल भवनमा मार्बल, टायल, आल्मुनियम एवम रंग रोगनसम्बन्धी कार्य सम्पन्न भएको छ ।

आयोजना विस्तार गर्ने क्रममा चीनमा तयार भएको कनमेर बेल्ट, धावनमार्ग एवम ट्याक्सी वेयको विद्युतीय सामग्री (लाइट फिक्सचर) मध्ये केही आयोजना स्थलमा आइपुगेको साथै केही आउने क्रममा बाटोमा रहेको छ भने हाल उपकरण जडानका लागि ३५ जना दक्ष चिनियाँ प्राविधिक/इन्जिनियर जनशक्ति ल्याउनका लागि आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार चिनियाँ कामदार ल्याउने विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गरेको बताइएको छ ।

त्यसैगरी विमानस्थल निर्माणको लागि आवश्यक पर्ने हार्डवेयर जन्य सामग्री (सिमेन्ट, रड, मार्बल, टायल्स, आल्मुनियम)हरु विभिन्न निकायसँग समन्वय गरी आपूर्ति गरिएको तथा लकडाउनमा समेत चिनियाँ २९ सहित औसतमा करिब दुई सय ७५ जना कामदारले दैनिक कार्य गर्ने गरेको बताइएको छ । यसरी सामान्य अवस्था र कोभिडका कारण उत्पन्न परिस्थितिमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई दैनिक काम गर्दा विमानस्थलको भौतिक तथा वित्तीय प्रगति हासिल गर्न सकेको प्रमुख अधिकारीले बताए ।

विमानस्थल निर्माण गर्ने क्रमलाई अघि बढाउने क्रममा हालसम्म अर्थात् सुरुवाती दिनदेखि हालसम्म तीन हजार मिटरको धावनमार्ग, ट्याक्सी वे एवं एप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युतीकरणसम्बन्धी काम अघि चलिरहेको उनले बताए । यस्तै विमानस्थल निर्माणको क्रममा अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन एवम कन्ट्रोल टावरसम्बन्धी कार्यको संरचना निर्माणको कार्य सम्पन्न भई हाल उपकरण जडान, फिनिसिङ, आन्तरिक कार्य सम्बन्धी काम पनि सञ्चालन भइरहेको तथा ल्यान्डस्केपिङ, भित्री तारवार एवं नाला बनाउने कार्य अन्तिम चरणमा रहेको छ ।

यस्तै आईसीबी ०२ अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडान पूर्ण तयार हुनुपर्ने भौतिक संरचनाहरु तयार हुँदै गरेको बताइएको छ । निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्यसहित विमानस्थल निर्माणको जिम्मेवारी आईसीबी ०१ ः नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन समूह (चीन), आईसीबी ०२ एरोनौटिकल रेडियो अफ थाईल्याण्ड प्राइभेट लिमिटेड दिएको थियो तर समयमै सम्पन्न हुन नदेखिएसँग विमानस्थलको म्याद दुईपटक थप गरिएको छ ।

२०७१ माघ १ गते शिलान्यास गरिएको विमानस्थल २०२० को सुरुमा परीक्षण उडान गर्ने लक्ष्य लिएको थियो जुन पूरा हुनसकेन । भूकम्प, नाकाबन्दी र पछिल्लो समय कोभिडका कारण विमानस्थल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीहरुले बताएका छन् ।

यसैगरी लकडाउनमा विमानस्थल निर्माण कार्यलाई सुचारु राख्नको लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन नगरपालिका, सिद्धार्थनगर नगरपालिका, स्थानीय वडा कार्यालयसँग समन्वय गर्नुको साथै मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देहीलगायतका स्थानमा नियमित समन्वय एवं पत्राचार गरिएको बताइएको छ ।

संघ एवम् प्रदेशका सदस्यहरुसँग उचित समन्वय भई आयोजना स्थलमा नदीजन्य निर्माण सामग्री आपूर्ति गरिएको तथा राष्ट्रिय गौरव आयोजनाका निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, मन्त्री तथा गृह मन्त्रालयसँग समन्वय गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x