Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपीसीआर परीक्षणमा सर्वसाधारणको सहज पहुँच

पीसीआर परीक्षणमा सर्वसाधारणको सहज पहुँच


काठमाडौं, भदौ २९
सरकारले कोरोना भाइरस कोभिड–१९ को परीक्षण शुल्क दुई हजार रुपैयाँमा सीमित गरिदिएको छ । सरकारले एक पटकको कोरोना परीक्षण शुल्क १५ हजार रुपैयाँ लिनलागेको भनेर प्रचार गरिए पनि सरकारले त्यसलाई झूट साबित गर्दै पहिलोपटक परीक्षण शुल्क पाँच हजार पाँच सय तोकेको थियो ।

त्यसलाई परिमार्जन गर्दै सरकारले चार हजार चार सय रुपैयाँमै कोरोना परीक्षण शुल्क तोकेको थियो । आइतबार भने सरकारले कोरोना परीक्षण शुल्क घटाएर दुई हजार रुपैयाँमा सीमित गरेको छ । अब सरकारी तथा निजी जुनसुकै ल्याब तथा अस्पतालले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँमा सीमित गरेको छ । परीक्षणका क्रममा थप कुनै पनि शुल्क लिन नपाइने सरकारले जनाएको छ ।

पीसीआर परीक्षण शुल्क महंगो भएको भन्दै निःशुल्क गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा व्यक्तिगत तथा संस्थागत रुपमा दबाब परेपछि मन्त्रालयले शुल्क नै घटाइदिएको हो । अब भने निःशुल्क परीक्षण गरिदिनुप-यो भन्ने दबाब नआउने अनुमान मन्त्रालयको छ । सामान्य कमाइ गर्ने व्यक्तिले पनि अब पीसीआर परीक्षण गर्नसक्ने भएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको कुल संख्यामध्ये काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी देखिएका छन् । देशभरको संक्रमित संख्यामध्ये आधाभन्दा बढी काठमाडौंमा देखिएको यो नै पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट एक हजार ३९ जनामा कोरोना देखिएकामा काठमाडौंमा चार सय ८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जना गरी पाँच सय ९७ जना र बाँकी देशका अन्य जिल्लाका छन् । यो तथ्यांकले नेपालका बाँकी ७४ जिल्लाभन्दा आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा आधाभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।

सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पीसीआर परीक्षणको शुल्क पुनरवलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको हो । बजारमा रिएजेन्ट र पीसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको छ र नेपालमा अहिलेसम्म आठ लाख ४० हजार पाँच सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ५४ हजार एक सय ५९ जना सङ्क्रमित भएका छन् । दैनिक करिब १० हजारको सङ्ख्यामा पीसीआर परीक्षण भइरहेको छ ।

सरकारले सर्वसाधारण सबैलाई निःशुल्क परीक्षण गर्दै आइरहेको छ भने सशुल्क परीक्षण गराउन इच्छुक व्यक्तिले मन्त्रालयले तोकेको अस्पताल वा प्रयोगशालामा गई परीक्षण गराउनसक्ने व्यवस्था गरेको छ । अहिले ४७ सरकारी प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आइरहेको छ ।

यसैगरी मन्त्रालयले बंगलादेशबाट आएको रेम्डेसिभिर खोप नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचीकृत भएका अस्पतालमा बिरामीको चाप हेरेर वितरण गर्न निर्देशन दिएको छ । उक्त खोपको सम्पूर्ण वितरण परिषद्ले प्राप्त गरी मन्त्रालयमा पेश गर्नसमेत भनिएको छ । सरकारले बंगलादेशबाट पाँच हजार सो खोप प्राप्त गरेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार छ सय ९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । आइतबार देशभर एक सय ६९ कोरोनाका संक्रमित आईसीयूमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण हालसम्म तीन सय ४५ जनाको मृत्यु भएको जनाइएको छ ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार पाँच सय १० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x