Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले क्षति पु-याएको अर्थतन्त्रलाई सुधार्न सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी आवश्यक

कोरोनाले क्षति पु-याएको अर्थतन्त्रलाई सुधार्न सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी आवश्यक


उमेश दुबे
काठमाडौं, असोज १
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनाले क्षति बनाएको अर्थतन्त्रलाई सुधार्न सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको आवश्यक रहेको बताएका छन् । सार्क राष्ट्रका अर्थमन्त्रीहरूको १५औँ बैठकमा भाग लिँदै उनले कोरोनाको कारणले विश्वको अर्थतन्त्रसँगै दक्षिण एसियाको अर्थतन्त्रमा पनि गम्भीर असर पारेकोले यसबाट मुक्त हुन सार्क राष्ट्रबीचको सहयोग र साझेदारीको महत्व बढेको गएको बताए । नेपाल तथा दक्षिण एसियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्दै उनले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरू क्रियाशील रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्न सम्भव हुने बताए ।

यसका लागि सार्कका आर्थिक संयन्त्रहरूलाई क्रियाशील बनाउँदै आर्थिक पुनरोत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरूको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उक्त बैठकमा सार्कका महासचिव इसाला विराकुन, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन चेनले आ–आफ्नो धारणा राखेका थिए । ‘कोभिड–१९ र दक्षिण एसियाली अर्थतन्त्र’ विषयमा एसियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुति दिएका थिए ।

उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरू र प्रतिनिधिमण्डलका प्रमुखहरूले सार्कका औपचारिक संयन्त्रहरूलाई क्रियाशील बनाई दक्षिण एसियाली अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गरेका थिए । एसियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको उक्त बैठक एसियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया