Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकम्पनी दर्तामा बाढी, २० खर्ब चुक्ता पुँजी भएका दुई लाख बढी कम्पनी दर्ता

कम्पनी दर्तामा बाढी, २० खर्ब चुक्ता पुँजी भएका दुई लाख बढी कम्पनी दर्ता


काठमाडौं ।
आन्तरिक आम्दानी न्यून हुँदा पुँजीगत खर्चका लागि मात्र होइन, चालू खर्चका लागि पनि वैदेशिक सहयोग लिनुपर्ने अवस्था आउनलागेको दाबी अर्थशास्त्रीहरुले गरिरहे पनि देशमा व्यवसाय गर्ने भनेर कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ताको संख्या हेर्दा नेपाल समृद्ध राष्ट्रजस्तै देखिएको छ । दर्ता भएका कम्पनीले आम्दानी र खर्च कतिको पारदर्शी गरेका छन्, त्यसको वास्तविक तथ्यांक त बाहिर आएको छैन । तर, कम्पनीको संख्या हेर्दा वर्षायामको खोलामा आएको बाढीजस्तै गरी नेपालमा कम्पनी दर्ता भएको देखिन्छ ।

कम्पनी रजिष्ट्रार कार्यालयले मुलुुकमा हालसम्म दुई लाख ३८ हजार कम्पनी दर्ता भएको बताएको छ । आइतबारसम्ममा दुई लाख ३८ हजार ८९ वटा कम्पनी दर्ता भएको र उक्त कम्पनीको ३० हजार खर्ब रुपैयाँ अधिकृत पुँजी, २० खर्ब ३१ अर्ब रुपैयाँ चुक्ता पुँजी र २ हजार ५ सय ३३ खर्ब ८१ अर्ब रुपैयाँ जारी पुँजी रहेको बताइएको छ ।

त्यसैगरी कार्यालयका अनुसार उक्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दुई लाख ३३ हजार दुई सय १४ वटा, नाफा वितरण नगर्ने कम्पनी दुई हजार नौ सय ४७ वटा, पब्लिक एक हजार छ सय आठ वटा र विदेशी कम्पनी तीन सय २० वटा रहेका छन् । त्यसैगरी प्राइभेट कम्पनीको सेयर लगानीकर्ता छ लाख ३४ हजार जना तथा नाफा वितरण नगर्ने कम्पनीको सेयर होल्डर १९ हजार तीन सय जना रहेको कार्यालयले बताएको छ ।

कार्यालयका राजिष्ट्रार प्रदिपराज अधिकारीले लगानीकर्ताहरुले कम्पनीको पुँजी वृद्धिको सहजताको लागि बढी रकम राख्ने गरेको हुँदा अधिकृत पुँजी धेरै हुन गएको बताए । ‘कम्पनी अर्थात् पब्लिक र प्राइभेट कम्पनीले लगानी कति वृद्धि गर्छन्, एकीन हुँदैन । त्यसैले गर्दा बढी रकम अर्थात् अधिकृत पुँजी राख्दा उनीहरु पुँजी वृद्धिको लागि कार्यालय धाउनुपर्दैन’, उनले भने, ‘सहजताको लागि अधिकृत पुँजी बढी देखिएको हो ।’

यस्तै चार्टर्ड एकाउन्टेन्ट गोविन्द गैरेले रकम ठूलो देखिनुमा अनौठो मान्नु नपर्ने बताए । ‘अधिकृत पुँजी राख्दा लगानीकर्ताहरुले भोलिका दिनमा अर्थात् कम्पनीमा सहजैसँग लगानी रकम थप गर्न सकिन्छ भनेर गरेको हुनसक्छ । त्यसमा पनि कतिपय लगानीकर्ताहरुले हचुवाको भरमा तथा कतिपयले भने व्यावसायिक योजनाअनुरुप अधिकृत पुँजी राख्ने गरेको पाइन्छ’, सीए गैरेले भने, ‘अधिकृत पुँजीभन्दा पनि कम्पनीको लागि चुक्ता पुँजी महत्वपूर्ण हुन्छ । अर्को कुरा भनेको जारी पुँजीभन्दा पनि चुक्ता पुँजी बढी हुनुहुँदैन र यो भएको पाइँदैन ।’

कम्पनी कति छन् भनेर अनुमान गर्न भने जारी पुँजी र चुक्ता पुँजीमार्फत गर्न सकिने बताउँदै उनले भने, ‘कुनै पनि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीबराबर हुन सक्छन् तर जारी पु्ँजीभन्दा चुक्ता पुँजी बढी हुनसक्दैन ।’

त्यसैगरी सबैभन्दा बढी कम्पनी दर्ता वाग्मती प्रदेशमा भएको छ भने सबैभन्दा कम कर्णालीमा भएको छ । वाग्मती प्रदेशमा एक लाख ७१ हजार चार सय सातवटा, कर्णालीमा दुई हजार सात सय ३१ वटा तथा प्रदेश दुईमा १३ हजार दुई सय ३७, प्रदेश १ मा १७ हजार ९९ वटा, सुदूरपश्चिममा चार हजार चार सय ९८ वटा, प्रदेश ५ मा १५ हजार २३ वटा र गण्डकी प्रदेशमा १२ हजार सात सय ८६ वटा कम्पनी दर्ता भएका छन् ।

यस्तै रजिष्ट्रार अधिकारीले बन्दाबन्दीको अवस्थामा समेत कम्पनी दर्ता उत्साहजनक रहेको बताए । ‘अनलाइन सुरु भएपछि अनलाइनमार्फत र त्यसअघि भने फाइल नै बोकेर सेवाग्राहीहरु कम्पनी दर्ताको लागि आएका छन्’, उनले भने, ‘दैनिक ६०/७० वटाको हाराहारीमा कम्पनी दर्ता गरेका थियौँ । भदौको सुरुदेखि कार्यालयले अनलाइनमार्फत सेवा दिन थालेको हो ।’

हाल कम्पनी ऐन, २०६३ मा रही कार्यालयले मुलुकभर कम्पनी, प्राइभेट कम्पनी, पब्लिक कम्पनी, विदेशी कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गर्दै आएको छ । प्राइभेट कम्पनीको हकमा संस्थापिततर्फ बढमिा ५० जनासम्म सेयरधनी तथा एकल सेयरधनी भएका कम्पनी पर्दछन् । पब्लिक कम्पनीमा भने सात जना संस्थापक तथा चुक्ता पुँजी कम्तीमा एक करोड रुपैयाँ हुनुपर्छ भने मुनाफा वितरण नगर्ने कम्पनीको हकमा भने कम्तीमा पाँच जना संस्थापक हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने कार्यालयले कम्पनी अध्यादेश २०६२ अनुसार आफनो कामकारबाही अघि बढाएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया