Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक हवाइ भाडा नबढ्ने

आन्तरिक हवाइ भाडा नबढ्ने


काठमाडौं ।
भोलि सोमबारदेखि आन्तरिक हवाइ उडान हुने भएको छ । १ गतेदेखि नै उडान सुरु गर्न सरकारले स्वीकृत दिए पनि आधा यात्रु मात्र राखेर उडान भर्नुपर्ने निर्देशनका कारण सुरु हुनसकेको थिएन । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर पूरै यात्रु राखेर उडान भर्न सहमति दिएपछि विमान सेवा कम्पनीहरुले सोमबारदेखि उडान गर्न लागेका हुन् ।

नेपालको आन्तरिक उडान कोभिड–१९ महामारीका कारण विगत छ महिनादेखि बन्द छ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् । उडान निश्चित भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले बुकिङ खुलाइसकेका छन् । उनीहरुले शुक्रबारदेखि बुकिङ खोलेका हुन् ।

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाइभाडा पनि नबढ्ने जनाइएको छ । तर, बसको भाडा भने ५० प्रतिशत बढाइएको छ । आधा मात्र यात्रु राख्न पाउने भएको कारण बसेको भाडा ५० प्रतिशत बढेको हो । विमानको टिकट काट्नेको संख्या देखिए पनि बसमा यात्रा गर्नेको संख्या भने शनिबारसम्म पनि न्यून छ । सरकारले सुरुको एक साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।

यसैबीच वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै आन्तरिक हवाइ उडान खोल्ने सरकारको निर्णयको स्वागत तथा आभार प्रकट गर्दै आन्तरिक उडानका लागि शुक्रबार पर्यटन मन्त्रालयबाट भएको निर्णयअनुरुप पूर्ण परिपालना गरी सबै वायुसेवाहरूले उडान पुनः सञ्चालन गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया