Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० दिनभित्र बंगलादेशबाट मल ल्याइने

२० दिनभित्र बंगलादेशबाट मल ल्याइने


काठमाडौं ।
मन्त्रिपरिषद्को निर्णयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउने प्रक्रियालाई अघि बढाएको छ । यसको लागि उसले कृषि सामग्री कम्पनी लिमिटेडलाई बोलपत्र आह्वानको लागि निर्देशन दिएको छ । निर्देशनसँगै लिमिटेडले बंगलादेशबाट मल ढुवानीको लागि शनिबार बोलपत्र आह्वान गरेको छ ।

‘हामीले छिटो मल नेपाल आइपुगोस् भनेर फास्ट ट्र्याक प्रक्रिया अपनाएका छौँ’, मन्त्रालयका प्रवक्ता एवम लिमिटेडका सदस्य डा. हरिबहादुर केसीले भने, ‘त्यसैले अबको करिब १५/२० दिनभित्र मल बंगलादेशबाट नेपाल आइपुग्छ । यसरी छिटो हुनमा भने सबै प्रक्रिया पूरा भएको अर्थात् मन्त्रिपरिषद् निर्णय समेत भइसकेको हुँदा सहज भएको हो ।’

बंगलादेशले खुल्ला रुपमा उपलब्ध गराउने मल सरकारले प्याकेटमा ल्याउन लागेको हो । ‘हामीले बंगलादेशस्थित चटगाउँमा रहेको बंगलादेश कन्टेनर टर्मिनल (बीसीटी) पोर्ट हुँदै मल ल्याउनेछौँ’, उनले भने, ‘बंगलादेशी कम्पनीसँग नेपाललाई दिनको लागि पर्याप्त मल रहेको छ अर्थात् नेपालले ल्याउन लागेको ५० हजार टन युरिया मल रहेको छ ।

धान लगायतका अन्य बालीको लागि अहिले तत्काल मल आवश्यक रहेको हुँदा सरकारले अभाव टार्नको लागि पैँचोस्वरुप बंगलादेशबाट मल ल्याउन लागेको हो । खेतीपातीमा मल राख्ने समयमा अभाव भएसँगै सरकारले मल ल्याउने विषयमा तीव्र छलफल चलाएको थियो भने भारतबाट मल नपाउने भएसँगै बंगलादेशबाट ल्याउनको लागि पहल गरेको थियो ।’

त्यसैगरी बंगलादेशबाट ल्याउने मल भने ट्रकबाट ल्याउने बताइएको छ । यसअघि बंगलोदशबाट ल्याइने मल भारतको कलकत्ता र कलकत्ताबाट रेलमा वीरगञ्जसम्म ल्याइने बताइएको थियो । तर अब कम्पनीले ट्रकबाट मल ल्याउने तयारीमा अघि बढेको छ । कलकत्ताबाट एक पटकको ढुवानीमा करिब दुई हजार पाँच सय टन ल्याउन सकिने बताइएको छ । ट्रकबाट ल्याउन सहज र छिटो हुने देखिएको हुँदा उक्त तयारी गरेको लिमिटेडको भनाइ छ । मल निरन्तर ल्याइनेछ ।

हाल बंगलादेशबाट पैँँचोमा ल्याएको मल सरकारले पछि फिर्ता गर्नेछ । ‘हो, हामी (सरकार)ले अहिलेको अभाव टार्नको लागि मल ल्याउनलागेको हो’, उनले भने, ‘हामी यसको बदला आठ महिनापछि मल नै फिर्ता गर्नेछौँ ।’ बंगलादेशबाट मल ल्याउनको लागि भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता भएको थियो भने सोसँग सम्बन्धित निकायहरु मल ल्याउने प्रक्रिया अघि बढाएका थिए ।

हाल बजारमा साल ट्रेडिङ कर्पोरसनसँग मल रहेको कारण मल नै छैन भन्ने अवस्था नरहेको लिमिटेडले बताएको छ । भदौ दोस्रो सातादेखि युरिया मल आयात गर्न थालेको कर्पोरेसनले उक्त अवधिमा करिब चार हजार टन मल आयात गरेको थियो । यस्तै कर्पोरेसनले ३२ हजार टन मल नेपाल ल्याउनको लागि अनुमति पाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया