Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट विदेशमा २ सय ४४ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा २ सय ४४ जना नेपालीको मृत्यु


काठमाडौं ।
कोरोना संक्रमणबाट विदेशमा हालसम्म दुई सय ४४ जना नेपालीको मृत्यु भएको छ । गतसाता अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या दुई सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले बताए ।

कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीहरूले ज्यान गुमाएका छन् । स्वास्थ्य समितिका अनुसार गतसाता यूके, स्पेन र भारतलगायतका देशमा कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसैगरी कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी रहेको बताइएको छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरूको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको छ ।

एनआरएनएद्वारा एक लाख ५० हजार गैरआवासीय नेपालीलाई सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीका कारण समस्यामा परेका एक लाख ५० हजार गैरआवासीयलाई प्रत्यक्षरूपमा सहयोग पु-याएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनसत्रमा बोल्दै संघका महासचिव डा. हेमराज शर्माले कोरोना भाइरस संक्रमण सुरु हुनेबित्तिकै एनआरएनका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरी योेजनाबद्ध रूपमा अगाडि बढेको र समस्यामा परेका नेपालीलाई घरैमा पुगेर समेत सहयोग गरेको बताए ।

डा. शर्माका अनुसार करिब ५० देशमा २१ सय भोलेन्टियर्सहरू खटिएका छन् । एनआरएनएले कोरोनाका कारण समस्या परेका एक लाख ५० हजार गैरआवासीय प्रत्यक्ष सहयोग गरेको जनाएको छ । सहयोगमा स्वास्थ्य समग्रीदेखि खाद्यान्नसम्म छ ।

गैरआवासीय नेपालीहरूबाट नै १२ करोड संकलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिएको छ । एनआरएनएले नेपाल सरकारलाई पनि करिब दुई करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरिसकेको र सहयोग गर्ने क्रम जारी नै रहेको जनाएको छ । ‘सुरुमा अर्वानेस्, प्रिभेन्सन र प्रोमोसनमा जोड दिएका थियौँ । पछिल्लो पटक थ्रीआर (रिलिफ, रिपाट्रिएसन र रिह्याबिलिटेसन)को योजनाबद्ध रूपमा काम गरेका थियौँ । त्यो समयमा हाम्रो सचिवालय पूरै परिचालन थियो’ उनले भने ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरूको अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक रहेकाले विभिन्न ८२ वटा मुलुकमा रहेका नेसनल कोअर्डिनेसन काउन्सिल (एनसीसी) हरूसँग समन्वयन गरेर अगाडि बढेको उनले बताए । कतार च्यारिटी र कतार रेडक्रसको कोलाब्रेसनमा करिब सात हजार दुई सय फुड प्याकेजहरू बाँडिएको महासचिव शर्माले बताए ।

त्यस्तै एनआरएनएले आईएलओसँग एउटा प्रोजेक्ट सुरु गरेको जनाएको छ । आईएलओले पहिलो चरणमा पाँच करोड उपलब्ध गराइसकेको र पाँच करोड केही समयपछि दिने निश्चित भएको महासचिव शर्माले जानकारी दिए । यो प्रोजेक्ट खास गरेर मध्यपूर्वमा रहेका आप्रवासी श्रमिकहरूको लागि लञ्च गरिएको उनको भनाइ छ ।

नेपाल सरकारले मध्यपूर्वका केही मुलुकमा राहतका लागि करिब ७० लाख उपलब्ध गराइसकेको उनले बताए । विभिन्न मुलुकका एनसीसी तथा काठमाडौंमा पनि २४सै घण्टा हटलाइन सेवा सञ्चालन तथा उपलब्ध सबै प्रविधिको प्रयोगमार्फत गैरआवासीय नेपालीहरूको अवस्था बुझ्ने कोसिस गरिएको उनको भनाइ थियो । एनआरएनए अब पुनर्स्थापनाका कार्यक्रममा केन्द्रित हुने उनले बताए । यसका लागि नेपाल र अन्य विभिन्न चार मुलुकमा गरी ४५ जनाको समूह रहेको महासचिव शर्माले बताए ।

यूके एकेडेमिक टिमसँग मिलेर नेपालमा फर्किएका गैरआवासीय नेपालीहरूसँग कस्तो सीप छ भनेर तथ्यांक संकलन गर्न समेत सुरु गरिएको उनले जानकारी दिए । तथ्यांक संकलनपछि उनीहरूलाई रोजगारदातासँग कसरी जोड्ने भन्ने योजना तयार गर्ने महासचिव शर्माको भनाइ छ । त्यस्तै एनआरएनले अक्टोबर ९ देखि ११ सम्म दोस्रो विश्व ज्ञान सम्मेलन समेत आयोजना गर्ने उनले जानकारी दिए । शुक्रबारदेखि नै सुरु भएको सम्मेलन आइतबार सकिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया