Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबन्देज हटेपछि चिनीको आयात बढ्यो

बन्देज हटेपछि चिनीको आयात बढ्यो


सन्तोष पौडेल
बीरगञ्ज ।
सरकारले भारत तथा विदेशबाट चिनी आयातमा लगाएको बन्देज हटाएपछि सरकारी संस्थान तथा निजी कम्पनीहरूले धमाधम चिनी आयात गर्न थालेका छन् । लकडाउन तथा निषेधाज्ञाको प्रवाह नगरी आगामी दशैं, तिहार र छठलाई लक्षित गरी व्यवसायीहरूले भारतको उत्तरप्रदेशबाट करोडौँ मूल्यको चिनी आयात गरिसकेका छन् भने कतिपय व्यवसायी चिनी आयात गर्न तम्सेका छन् ।

वीरगञ्जस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ५१ करोड ३८ लाख ७५ हजार चार सय मूल्यबराबरको करिब एक लाख टनभन्दा बढी चिनी आयात भएको छ । उक्त मूल्यबराबर चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करबापत सुक्खा बन्दरगाह भन्सार कार्यालयले २९ करोड ८१ लाख ५२ हजार रूपैयाँ राजस्व प्राप्त गरेको सो सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

सरकारले भन्सार महसुलमा २० प्रतिशत सहुलियत दिएको साल्ट ट्रेडिङ कम्पनी र नेपाल खाद्य संस्थान चिनी आयातको प्रक्रियामै अल्झिरहेका बेला नेपालको एक चिनी उद्योगसहित पाँचवटा नेपाली ट्रेडिङ कम्पनीले धमाधम चिनी आयात गरी भण्डारण तथा बिक्री वितरण सुरू गरेको व्यवसायीहरूले बताएका छन् ।

वीरगञ्जका व्यवसायीका अनुसार चिनी उत्पादन गर्ने बाराको रिलायन्स सुगर मिल्स प्रालि, जगदम्बा ट्रेडिङ बारा, शिवम् ओभरसिज पर्सा, मीरा ट्रेडिङ झापा, इभोलुसन इन्टरप्राइजेज प्रालि काठमाडौंले दुर्ई महिनामा ५१ करोड रूपैयाँभन्दा बढीको चिनी आयात गरेका छन् । सबै आयातकर्ताले भारतको उत्तरप्रदेशकै चिनीमिलहरूबाट चिनी खरिद गरी नेपाल आयात गरिरहेका छन् ।

रिलायन्सले उत्तर सुगर मिल्स, उत्तरप्रदेशबाट २५ लाख ५९ हजार सात सय ३५ किलो, जगदम्बा इन्टरप्राइजेज बाराले एलएच सुगर फ्याक्ट्री, उत्तरप्रदेशबाट २५ लाख ८६ हजार किलो, शिवम् ओभरसिज पर्साले युनिस्टार मेटलल्स प्रालि कोलकाताबाट १३ लाख ७८ हजार किलो, मीरा ट्रेडिङ झापाले कलन साह एन्ड कम्पनी, उत्तरप्रदेशबाट १३ लाख ३० हजार किलो र एलएच सुगर फ्याक्ट्री, उत्तरप्रदेशबाट १२ लाख ६५ हजार गरी २५ लाख ९५ हजार किलो चिनी आयात गरेका छन् ।

व्यवसायीहरूले सबै खर्च जोडेर भारतबाट किलोमा साढे ७५ रूपैयाँमा चिनी आयात गरी साढे ७६ रूपैयाँमा चिनी बेचिरहेको बताएका छन् । ‘हामीलाई भारु साढे २७ रूपैयाँदेखि २९ रूपैयाँमा चिनी खरिद गरी भन्सार राजस्व, ढुवानी र अन्य खर्च जोड्दा प्रतिकिलो साढे ७५ रूपैयाँ परिरहेको छ’, वीरगञ्जका एक व्यवसायीले भने, ‘बजारमा थोकमा साढे ७६ रूपैयाँमा चिनी बेचिरहेका छौँ ।’

सरकारले साल्ट ट्रेडिङ र खाद्य संस्थानलाई सहुलियत दिएर पनि कमिसनको कारण चिनी आयात प्रक्रिया अल्झिरहेको छ । तर निजी व्यवसायीलाई राजस्व दर बढाउँदा नेपालमा चिनीको मूल्य आकासिएको छ । चिनी आयातमा भन्सार महसुल ४० प्रतिशतबाट २० प्रतिशतमा झारे नेपालमा ७० रूपैयाँ प्रतिकिलोमा चिनी आयात गरी बढीमा ७५ रूपैयाँमा बेच्न सकिने व्यवसायीहरूको भनाइ छ ।

यता, सरकारले साल्ट ट्रेडिङले अहिले पनि साढे ७३ रूपैयाँमै चिनी बेचिरहेको बताइरहेको छ । तर सरकारी संस्थानले चिनी आयातमा २० प्रतिशत सहुलियत लिएर पनि समयमा चिनी आयात गर्न नसक्नु र नेपालमा चिनीको अभाव हुनु सरकार र जनताको लागि दुःखद भएको विश्लेषण भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया