Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्यान्नको आयात वृद्धि उच्च

खाद्यान्नको आयात वृद्धि उच्च


काठमाडौं ।
लकडाउनमा चर्चामा रहेको विषयहरुमध्ये एउटा थियो– स्थानीय तरकारीले बजार नपाएको विषय । उक्त विषयलाई सरकारी र निजी दुवै क्षेत्रका मिडियाहरुले प्राथमिकताका साथ उठान गरे । मिडियाले गोर्खा, बर्दिया, बाँके, कञ्चनपुर, उदयपुर, इलामलगायतका क्षेत्रमा उत्पादित तरकारीले बजार नपाएको विषय बाहिर ल्याए भने सरकारले त्यसको निराकरण गर्नतर्फ ध्यान दिएन । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने लकडाउन भएको एक सय ७७ दिनको अवस्थामा तरकारी, खाद्यान्न, दलहन, औषधिजन्यलगायतका वस्तुहरुको आयात गरिएको विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरणअनुरुप लकडाउनमा मात्र व्यवसायीहरुले दुई लाख ४२ हजार नौ सय मेट्रिक टन तरकारी आयात गरेका छन् भने नौ लाख सात हजार पाँच सय मेट्रिक टन खाद्यान्न, एक लाख ५५ हजार दुई सय मेट्रिक टन दलहन, ८२ हजार एक सय मेट्रिक टन फलफूल, १३ हजार मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ । मन्त्रालयले लकडाउनमा अति आवश्यक वस्तुहरुको अभाव नहोस् भन्ने उद्देश्य राख्दै विशेष गरी भारतबाट तरकारी, दलहन, खाद्यान्नलगायतको सामग्रीहरुको आयात गरेको थियो भने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने त्यसलाई बिक्रीवितरण गरेको थियो ।

स्वदेशी उत्पादनलाई महत्व नदिएको भनी सञ्चारमाध्यममार्फत सूचना बाहिर आएको भए पनि त्यसलाई स्वीकार गर्न नसक्ने समितिले बताएको छ । ‘लकडाउनमा हामीले स्वदेशमा नपाउने अर्थात् स्वदेशी उत्पादनले नभ्याउने तरकारी प्याज, आलु, पर्बललगायतका सामग्री मात्र आयात गरेका थियौँ’, समितिका सूचना अधिकृत विनय श्रेष्ठले भने, ‘स्वदेशमा उत्पादित तरकारीहरु भनेको लामो समयसम्म राख्न नमिल्ने खालको गोलभेँडा, सिमी, बोडी, काउली लगायतको तरकारी हुदाँ बजार नपाएका हुन् । अर्को कुरा भनेको लकडाउनमा खपत कम भएको थियो जसले गर्दा उत्पादित तरकारीले समेत बजार नपाउने अवस्था रहेको थियो ।’

त्यसैगरी समितिले ढुवानीमा समेत समस्या हुँदा यहाँ उत्पादित तरकारी किसानहरुले फ्याँँक्नुपर्ने अवस्था आएको जनाएको छ । कृषकहरु भने लकडाउनमा तरकारी बिक्री गर्न नसक्नुको कारण भनेको सरकारको कमजोरीको कारण अर्थात् बेवास्ताले गर्दा भएको बताउँछन् । कृषक सुधार फलफूल तथा तरकारी उत्पादक सहकारी, धादिङका कृषकहरु भने लकडाउनमा आफूहरुसँग प्रशस्त तरकारी भए पनि प्रशासनको बेवास्ताका कारण तरकारी खेर गएको बताएका छन् । सो समयमा दैनिक औसत आयात तरकारी एक हजार तीन सय मेट्रिक टन, फलफूल चार सय मेट्रिक टन, दुग्धजन्य पदार्थ ७४ मेट्रिक टन, खाद्यान्न पाँच हजार एक सय मेट्रिक टन, दलहन आठ सय ७७ मेट्रिक टन रहेको छ ।

तरकारी आयातमा वृद्धि नै देखिएको छ । चैत महिनमा २६ हजार मेट्रिक टन मात्र तरकारी आयात भएकोमा वैशाखमा एकैपटक ३८ हजार छ सय मेट्रिक टन तरकारी आयात भएको थियो । तर, जेठ र असारमा विभिन्न स्थानीय तहहरुले विदेशी तरकारीबाट कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भनी आयातमा केही अवरोध गरेकोले आयातमा केही कमी आएको मन्त्रालयको बताएको छ ।

साउन र भदौमा भने तरकारीको आयातमा उल्लेख्य वृद्धि भएको छ । वर्षाको समयमा यसै पनि स्वदेशी तरकारीको उत्पादन कम हुने भएकोले विदेशबाट आयातित तरकारीको परिमाण बढ्ने भएकोले पनि यी दुई महिनाहरुमा तरकारीको आयत बढ्न गएको मन्त्रालयको भनाइ छ । साउनमा ५३ हजार नौ सय मेट्रिक टन र भदौमा ५३ हजार छ सय मेट्रिक टन आयात भएको छ । तरकारीको दैनिक औसत आयातको प्रवृत्ति पनि यहीअनुसार नै देखिन्छ ।

तरकारी लामो समयसम्म मौज्दात राखन नसकिने भएकोले सामान्यतया दैनिक उत्पादन र आयातले नै धान्नुपर्ने हुन्छ । असारमा तरकारीको आयात कम भएको र उत्पादनमा पनि कम भएकोले तरकारीको मूल्यमा पनि वृद्धि भएको थियो । हाल मूल्यमा केही कमी आएको भए पनि मूल्य नियन्त्रणमा अझ कडाइ गर्नुपर्ने समितिको भनाइ छ । नेपालमा भारतलगायत एसियाका विभिन्न मुलुक र अफ्रिकाबाट समेत तरकारी आयात हुने गरेको छ ।

यस्तै, करिब छ महिनाको उक्त अवधिमा चैतदेखि असारसम्म बढ्दो क्रममा रहेको दलहनको आयात साउनदेखि घट्न थालेको थियो । चैत महिनाको २० दिनमा आयात भएको दलहनको परिमाणभन्दा भदौ महिनाको ३१ दिनमा भएको आयात भएको दलहन कम रहेको छ । यस अवधिमा सबैभन्दा बढी दलहन असार महिनामा आयात भएको छ भने सबैभन्दा कम भदौ महिनामा आयात भएको छ । चैत महिनामा १६ हजार एक सय मेट्रिक टन दलहन आयात भएकोमा असार महिनामा ३९ हजार सात सय मेट्रिक टन र भदौ महिनामा १५ हजार पाँच सय मेट्रिक टन आयात भएको छ ।

दैनिक औसत आयात पनि सोहीअनुसार घटबढ भएको छ । चैत महिनामा दैनिक औसत आठ सय मेट्रिक टन खाद्यान्न आयात भएकोमा असार महिनामा एक हजार दुई सय मेट्रिक टन र भदौ महिनमा पाँच सय मेट्रिक टन दलहन दैनिक औसत आयात भएको देखिएको छ ।त्यसैगरी पछिल्लो दुई महिनमा दलहनको आयातमा केही कमी आएको भए पनि मौज्दात रहेको र दैनिक आयात पनि ठीकै परिमाणमा भइरहेकोले लकडाउनको समयमा र हाल पनि खाद्यन्नको अभाव देखिएको छैन ।

यस्तै, उक्त अवधिमा फलफूलको आयातमा कुनै निश्चित प्रवृत्ति देखिएको छैन । मन्त्रालयका अनुसार फलफूलको आयातमा उत्तारचढाव भइरहेको देखिन्छ । चैत महिनामा ६ हजार पाँच सय मेट्रिक टन मात्र फलफूल आयात भएकोमा भदौ महिनामा ११ हजार सात सय मेट्रिक टन आयात भएको छ । तर, यस्तो आयात वैशाखमा १७ हजार पाँच सय मेट्रिक टन, जेठमा १५ हजार तीन सय मेट्रिक टन, असारमा १० हजार आठ सय मेट्रिक टन र साउनमा सबैभन्दा बढी २० हजार मेट्रिक टन भएको थियो । दैनिक औसत आयात सबैभन्दा बढी साउनमा छ सय मेट्रिक टन र सबैभन्दा कम चैतमा तीन सय मेट्रिक टन छ । फलफूलको मागअनुसारको आपूर्ति भइरहेकोले उपलब्धता र मूल्यमा खासै समस्या रहेको छैन ।

यसैगरी, खाद्यान्नको आयात प्रत्येक महिना बढेको देखिएको छ । चैत महिनमा ४६ हजार आठ सय मेट्रिक टन खाद्यान्न आयात भएकोमा भदौ महिनामा दुई लाख १८ हजार मेट्रिक टन आयात भएको छ । दैनिक औसत आयात पनि प्रत्येक महिना बढेको छ । चैत महिनामा दैनिक औसत दुई हजार तीन सय मेट्रिक टन खाद्यान्न आयात भएकोमा भदौ महिनामा सोको तीन गुणा बढी अर्थात् दैनिक औसत ७ हजार मेट्रिक टन आयात भएको देखिएको छ ।

मौज्दात पनि रहेको र दैनिक आयात पनि उल्लेख्य परिमाणमा भइरहेकोले लकडाउनको समयमा र हालसम्म पनि खाद्यान्नको अभाव देखिएको छैन । त्यसैगरी मन्त्रालयले तरकारी, दलहन, खाद्यान्नका साथै उक्त अवधिमा अति आवश्यक औषधि तथा औषधिको कच्चा पदार्थ समेत आयात गरिएको पाइन्छ । उक्त अवधिमा तीन अर्ब ८३ करोड ८७ लाख ५७ हजार रुपैयाँबराबरको औषधिको कच्चापदार्थ र १० अर्ब ८४ करोड ४१ लाख ७६ हजार रुपैयाँबराबरको तयारी औषधि आयात गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया