Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोकिएन ट्रेडमार्क चोरी

रोकिएन ट्रेडमार्क चोरी


काठमाडौं ।
नेपालको व्यावसायिक क्षेत्रमा कालो धब्बाको रुपमा रहेको ट्रेडमार्क चोरीको काम रोकिएको छैन । विशेष गरी अन्तर्राष्ट्रिय क्षेत्र तथा विदेशमा चर्चित रहेका ब्राण्डहरुको ट्रेडमार्क नेपाली व्यवसायीले नक्कल गर्ने गरेको पाइन्छ । यही मेसोमा कर्मचार्य बेक्स एण्ड फूड प्रालिले वाल्कर ट्रेडमार्क दर्ताको लागि दिएको निवेदन उद्योग विभागले रद्द गरेको थियो । वाल्कर सर्टब्रेट लिमिटेड, युकेले उक्त ट्रेडमार्क आफ्नो भएको दाबी गरेको थियो । सो दाबीसँगै विभागले कर्मचार्यलाई विभागमा उपस्थित हुन आग्रह गरेको थियो तर कर्मचार्य विभागमा उपस्थित भएको थिएन । फलस्वरुप वाल्कर ट्रेडमार्क वाल्कर सर्टब्रेड लिमिटेडले नै प्रयोग गर्न पाउने भएको थियो ।

यसरी ट्रेडमार्क चोरी अर्थात् नक्कल गर्नेमा कर्मचार्य मात्र नभएर गोयल मेटल, एसियन थाई फूड्स, पोलिक्राफ्ट, मोरङलगायतका कम्पनीहरु समेत रहेका छन् । गोयल मेटल इण्डष्ट्रिजले भने निप्पोन र लोगो माग गरेको थियो भने जुन ट्रेडमार्क जापानको एक कम्पनी निप्पोनको रहेको थियो । विभागले जापानी कम्पनीसँग सुहाउँदो भएको भन्दै गोयलले माग गरेको ट्रेडमार्कको निवेदन रद्द गरेको थियो ।

विभागले निप्पोन नामक वस्तु उत्पादन र बिक्रीवितरण भएमा जापानी सामान भनी उपभोक्ता झुक्किने सम्भावना रहेको बताएको छ । उपभोक्ताले पनि गुणस्तर हेरेर मात्रै सामान खरिद गर्ने गर्छन् । उद्योगबाट उत्पादन हुने मेटल र स्टिलको वस्तुको प्रयोग गर्ने गरी गोयलले माग गरेको ट्रेडमार्कमा उजुरीकर्ताले दाबी गर्दा गोयल समस्यामा परेको विभागले जनाएको छ । उजुरीकर्ताले उपभोक्ताको हितको लागि उपभोक्तालाई वस्तुमा भ्रम नहोस् भनी उजुरी दिएको पाइन्छ ।

पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम सर्वसाधारण जनताको सदाचार र नैतिकतामा नराम्रो असर पर्ने समेत किसिमको ट्रेडमार्क दर्ता नगर्ने व्यवस्था गरिएको छ । त्यसैले गर्दा गोयलविरुद्ध परेको उजुरीमा उजुरीकर्तालाई एक सचेत नागरिकको रुपमा लिँदै उनको कुरालाई मान्ने अवस्था देखिएको भन्दै गोयललाई निप्पोनसँग मिल्दोजुल्दो ट्रेडमार्क नदिने जनाएको छ ।

यस्तै एसियन थाइ फुड्सले पनि अलाइभ नामक ट्रेडमार्क माग गरेकोमा सो ट्रेडमार्क विदेशी कम्पनी फ्रिटो ले ट्रेडिङ कम्पनीको नाममा अ–लाइभ र अलाइभ रहेको भन्दै विभागले ट्रेडमार्क प्रयोगको लागि स्वीकृति दिएको थिएन भने पोलिक्राफ्ट, मोरङले ग्लोब ट्रेडमार्कको लागि दिएको निवेदनमा समेत रोक लागेको थियो । ग्लोब इण्डष्ट्रिज कर्पोरसन, ताइवानले उक्त ट्रेडमार्क आफ्नो भएको भन्दै उजुरी दिएको थियो ।

यसरी नेपाली व्यवसायीहरुले विदेशी कम्पनीको ट्रेडमार्क चोरी गर्दा उपभोक्ता समेत मारमा पर्ने हुन्छ । विश्वप्रसिद्ध लोकप्रिय ब्राण्डको ट्रेडमार्क, डिजायन चोरी तथा नक्कल गर्दा उपभोक्ताहरुले उक्त ब्राण्ड हो भनी सामान खरिद गर्दा समस्यामा पर्ने गरेका हुन् ।

विभागले ट्रेडमार्क, पेटेन्ट र डिजाइनसम्बन्धी आएका उजुरी आफ्नो औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गर्छ र सोमाथि दाबी विरोध भएमा बहस गरी अघि बढ्ने गरेको पाइन्छ । विभागले उजुरी ट्रेडमार्क, पेटेन्ट र डिजाइनसम्बन्धी उजुरी आएमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अनुरुप विभागका महानिर्देशकको रहोबरमा बहस सुन्ने तथा फैसला गर्ने गर्दछ भने विभागको फैसला चित्त नबुझेमा ऐनअनुरुप ३५ दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्नसक्ने व्यवस्था रहेको छ ।

यस्तै सरकारले राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ मा औद्योगिक सम्पत्ति (पेटेन्ट, डिजाइन र ट्रेडमार्क)को व्यवस्था गरेको छ । सो व्यवस्थाअनुरुप ट्रेडमार्कको दुरुपयोग गरेमा फौजदारी अभियोग लगाई जरिवाना र सजाय गर्न सकिने उल्लेख गरिएको छ । फौजदारी दायित्व सिर्जना नभएको स्थितिमा भने देवानी उपचारको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया