Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुम्लामा चीनले नेपाली भूमि नमिचेको परराष्ट्रमन्त्रीको भनाइ

हुम्लामा चीनले नेपाली भूमि नमिचेको परराष्ट्रमन्त्रीको भनाइ


काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमिमा चीनले नेपाली भूमि नमिचेको बताएका छन् । २०७३ सालमा नेपाली सरकारी अधिकारीहरुले गरेको अध्ययनमा अहिले चीनले भवन बनाएको सो ठाउँ चीनकै भएको प्रतिवेदन दिएको भन्दै मन्त्री ज्ञवालीले सीमा नमिचिएको बताएका हुन् ।

बुधबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले उक्त कुराको जानकारी दिएका हुन् । सो ठाउँमा चीनले नेपाली भूमिमा भवन बनाएको समाचारहरु सार्वजनिक भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नाम्खा गाउँपालिकाका अध्यक्ष र सुरक्षा निकायका प्रमुखहरु स्थलगत अध्ययनमा गएका थिए । चीनले पनि ती भवनहरु बनेको क्षेत्र आफ्नो भूभागमा भएको दाबी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले गरेको स्थलगत अध्ययनमा त्यसका बारेमा थप सत्य आउने मन्त्री ज्ञवालीको भनाइ छ । मन्त्री ज्ञवालीका अनुसार २०७३ सालमा पनि यस्तै समाचार आएपछि त्यतिबेलाको सरकारले अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर अध्ययन गरेको थियो । उक्त छानबिन टोलीमा गृह, परराष्ट्र, नापी विभागसहितका अधिकारी थिए । टोलीले स्थलगत अध्ययन गरेको थियो ।

त्यतिबेला बनेका घरहरु नेपाल चीन सीमाको एक किलोमिटर भित्र चिनियाँ भूभागमा रहेको प्रतिवेदन दिइएको थियो । चीनले नेपाली भूमि मिचेको भनेर बुधबार केही व्यक्तिले काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया