Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक महिनामा ७६ अर्ब १९ करोडको व्यापारघाटा

एक महिनामा ७६ अर्ब १९ करोडको व्यापारघाटा


काठमाडौं ।
चालू आर्थिक वर्षको पछिल्लो एक महिनामा मुुुलुकले ७६ अर्ब १९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोेरेको छ । नेपाल राष्ट्र बैंकले शुुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउन महिनामा मात्र देशले उक्त परिमाणमा व्यापारघाटा व्यहोरेको हो ।

यस अवधिमा कुल वस्तु आयात १९ दशमलव छ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दशमलव पाँच प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा कुल वस्तु निर्यात भने आठ दशमलव नौ प्रतिशतले बढेर नौ अर्ब ६२ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ दशमलव सात प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा कुल वस्तु व्यापारघाटा २२ दशमलव दुुई प्रतिशतले घटेर ७६ अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३ दशमलव नौ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः चार दशमलव चार प्रतिशत र २५ दशमलव पाँच प्रतिशतले निर्यात बढ्दा चीनतर्फ ७१ दशमलव सात प्रतिशतले निर्यात घटेको छ ।

वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधि, जडीबुटी, जुटका सामानलगायतका वस्तुको निर्यात बढे पनि पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापातालगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव आठ प्रतिशत, ३९ दशमलव सात प्रतिशत र १० दशमलव पाँच प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेललगायतका वस्तुको आयात बढेको भए पनि पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सिटलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, मेची र कृष्णनगर भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ भने भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कैलाली, तातोपानी र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

वार्षिक विन्दुगत आधारमा २०७७ साउन महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक शून्य दशमलव पाँच प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक तीन दशमलव आठ प्रतिशतले घटेको छ । यसैगरी २०७६ साउन महिनामा तीन दशमलव एक प्रतिशतले बढेको व्यापारको शर्त २०७७ साउन महिनामा चार दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमा खुद सेवा आय दुई अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८६ दशमलव एक प्रतिशतले कमी आई ६० करोड ५६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ३६ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा
चालू आर्थिक वर्षको पहिलो एक महिनामा मुुलुकको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति छ अर्ब पाँच करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा पाँच करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ । यसैगरी समीक्षा अवधिमा चालू खाता २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता नौ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा आठ करोड ३८ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर छ दशमलव सात प्रतिशतले बढेर एक अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी तीन दशमलव तीन प्रतिशतले घटेर एक अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब तीन करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

एक महिनामा भित्रियो ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीको बीचमा पनि नेपालले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात् रेमिट्यान्स रकम भने बढाउन सफल भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि विश्वका धेरै राष्ट्रहरु लकडाउनमा गएपछि विश्व श्रमबजार सबैभन्दा बढी प्रभावित रहेको थियो ।

यो अवस्थामा पनि नेपालको रेमिट्यान्स रकम भने चालू आर्थिक वर्षको पहिलो महिनामा २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव सात प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९ दशमलव दुुई प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक दशमलव तीन प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले बढेर एक खर्ब एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव दुई प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया