Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविवादित चौथो त्रैमासिकको तथ्यांक असोजमै आउने, आर्थिक वृद्धिदरमा संकुचन

विवादित चौथो त्रैमासिकको तथ्यांक असोजमै आउने, आर्थिक वृद्धिदरमा संकुचन


काठमाडौं ।
केन्द्रीय तथ्यांक विभाग (सीबीएस)ले विवादित बनेको चौथो त्रैमासिकको आर्थिक वृद्धिदरको तथ्यांक असोजमा सार्वजनिक गर्ने भएको छ । केही अनलाइन र टेलिभिजनले आर्थिक वृद्धिदरको तथ्यांकलाई लिएर लेखेको समाचारप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको बताएको थियो अर्थात् आर्थिक वृद्धिदरबारे नभएको जानकारी बाहिर ल्याएको विभागको भनाइ छ ।

विभागका लेखाशाखा प्रमुख गणेश प्रसाद आचार्यले पहिलोपटकको बन्दाबन्दी (चैत ११) लामो समयपछि खुलेको हुँदा आर्थिक वृद्धिदरमा संकुचन आउने आँकलन गरेको बताए । ‘लकडाउन लामो समय भएको हुँदा आर्थिक वृद्धिदरमा संकुचन आउनेछ’, उनले भने, ‘तर उक्त तथ्यांक भने असोज महिनाभरमा सार्वजनिक गर्ने हाम्रो तयारी छ, यही महिनामा तथ्यांक आउनेछ ।’

विभागले पहिलेभन्दा तथ्यांक आउने ढिला भएको भने स्वीकार गरेको छ । कोभिड तथा लकडाउनका कारण काम गर्ने अवस्था सहज नहुँदा तथ्यांक आउन ढिलाइ हुनपुगेको विभागका अधिकारी बताउँछन् । विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिदर २.७२ प्रतिशत हुने अनुमान गरेको छ । त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (एसएक्यू जीडीपी) आधारभूत मूल्यमा आव ०७६/०७७ को दोस्रो त्रैमासिकको तुलनामा सोही आवको तेस्रो त्रैमासिकमा २.७२ प्रतिशतले संकुचन हुने प्रारम्भिक अनुमान गरेको हो ।

यसअघि भने विभागले गत आवको तेस्रो त्रैमासिकको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (एसयूक्यू जीडीपी) आधारभूत मूल्यमा आव ०७५/०७६ को तेस्रो त्रैमासिकको तुलनामा ०.८ प्रतिशत (दुई खर्ब आठ अर्ब रुपैयाँ)ले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको थियो ।

यसअघि पहिलो त्रैमासिकमा ५.४ प्रतिशत, दोस्रो त्रैमासिकमा ४.२ प्रतिशत रहेकोमा तेस्रो त्रैमासिकमा भने सबै सूचकांकको अवस्था नकारात्मक नहुने भएको छ । तेस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर सकारात्मक हुनेमा कृषि तथा वनमा २.६ प्रतिशत, मत्स्यमा ७.१ प्रतिशत, विद्युतीय ग्यास र पानीमा १९.९ प्रतिशत, वित्तीय मध्यस्थतामा ४.१ प्रतिशत, घरजग्गामा ३.५ प्रतिशत, शिक्षामा ५ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यमा ५.३ प्रतिशत, सामुदायिक तथा व्यक्तिगत सेवामा ४.४ प्रतिशतमा, यातायात र सञ्चारमा ६.४ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षामा ५.५ प्रतिशत सीमित हुने भएको छ । यस्तै नकारात्मकमा खानी तथा उत्खननमा –२.९, उत्पादनमा (औद्योगिक उत्पादन) –१२.१ प्रतिशत, निर्माणमा –६.१ प्रतिशत, थोक तथा खुद्रामा –६.६ प्रतिशत, होटल तथा रेष्टुरेन्टमा –८.६ प्रतिशतमा आर्थिक वृद्धिद्धर सीमित हुने भएको छ ।

दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर दुई खर्ब ४४ अर्ब रुपैयाँ तथा पहिलो त्रैमासिकमा दुई खर्ब सात अर्ब रुपैयाँ रहेको थियो तर कोभिडका कारण भने चौथो त्रैमासिकको आर्थिक वृद्धिद्धरको लक्ष्य सरकारलाई संशोधन गर्नुपर्ने आवश्यकता छ भने हालसम्म विभागले सो विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । आव ०७५/०७६ मा भने चौथो त्रैमासिकको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहेको थियो । त्यसैगरी विभागले उपलब्ध गराएको औद्योगिक वर्गीकरण अर्थात् विभिन्न उद्योगको वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भने प्रत्येक वर्ष वृद्धि भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया