Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतलब नपाएसँगै मनमोहन अस्पतालका चिकित्सक रिले अनशनमा

तलब नपाएसँगै मनमोहन अस्पतालका चिकित्सक रिले अनशनमा


काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नेता एवं पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेको स्वर्गीय अध्यक्ष एवम नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा खोलेको मनमोहन सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीले विगत करिब आठ महिनादेखि तलब भत्ता नपाए आइतबारदेखि अस्पताल परिसरमै रिले अनशन बसेका छन् ।

आठ महिनादेखि तलब भत्ता नपाएको तथा स्थायित्वको सुनिश्चित नपाएको भन्दै संयुक्त संघर्ष समिति निर्माण गरी आफूहरु अस्पतालपरिसरमा २४ घण्टे रिले अनशन बसेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष निशु गजुरेलले बताइन् ।

उनीहरुले अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको तलब, भत्ता, सञ्चय कोषलगायतका बाँकी बक्यौता तुरुन्त चुक्ता गर्न तथा स्थायित्वको सुनिश्चित गर्न अस्पताल व्यवस्थापन, नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड तथा अस्पतालका निर्देशकसमक्ष माग गरेका छन् ।

अस्पतालका कर्मचारी प्रकाश गुरुङले अस्पतालसँग कर्मचारीहरुको लागि दिनको लागि रकम हुदाँहुँदै पनि नदिएको बताए । ‘कोभिडको कारण असर परे सोभन्दा अघि भने वार्षिक पाँच करोड रुपैयाँ आम्दानी गर्ने अस्पतालले अहिले आएर कर्मचारीको तलब छैन भन्ने मिल्छ ?’, उनले प्रश्न गर्दै भने, ‘अस्पतालको नाममा उपत्यकाको स्वयम्भू, रविभवनलगायतमा कलेज, अस्पताललगायतका क्षेत्रमा लगानी गरेको रकम तथा त्यसको आम्दानी रहेको हुँदा अहिले पैसा छैन भन्नु अस्पतालका निर्देशक तथा सञ्चालकहरुको कर्मचारीलाई तलब भत्ता नदिने बहानाबाजी मात्र हो ।

‘अस्पताल सञ्चालकहरुले पारिश्रमिक नदिई कर्मचारीमाथि श्रमशोषण गरेका छन्’, गुरुङले भने, ‘अहिले अस्पतालले कर्मचारीमाथि गरेको व्यवहार भनेको काम गरुन्जेल फाइदा लिने अर्थात् काममा लगाउने अनि अहिले अप्ठ्यारो परिस्थितिमा अस्पतालबाट जाऊ भन्न मिल्छ ?’

उनले आफूहरुमाथि भएको अन्यायविरुद्ध लड्नको लागि अन्तिम विकल्पको रुपमा रिले अनशन बस्नुपरेको बताए ।
यसैबीच, अस्पताल सञ्चालकले भने तत्काल कर्मचारीहरुलाई रकम दिन नसक्ने बताएको छ । पूर्वमन्त्री एवं सहकारीका अध्यक्ष समेत रहेका पाण्डेले तत्काल कर्मचारीहरुलाई रकम उपलब्ध गराउन नसक्ने बताए । ‘अस्पातलको कमाइभन्दा खर्च ज्यादा छ, त्यसैले गर्दा तत्काल तलबभत्ता दिन सक्दैनौँ’, अध्यक्ष पाण्डेले भने, ‘कोभिडपछि महिनाको तीन लाख रुपैयाँ आम्दानी छ अनि मासिक खर्च ५० लाख रुपैयाँ छ ।

यस्तो अवस्थामा अर्थात् कमाइ नै नभएको अवस्थामा कसरी रकम दिन सक्छौँ ? त्यसैले अहिले भुक्तानी गर्न सक्दैनौँ बरु केही दिनपछि अस्पताल नै बन्द हुनेछ ।’ उनले अघि भने, ‘अहिलेको अवस्थामा पारिश्रमिक दिने कुरै नगरौँ, समग्र क्षेत्रमा असर परेको छ, त्यसबाट हाम्रो अस्पताल मात्र अछूतो रहन्छ भन्ने कहाँ छ ?’

यता कर्मचारी गुरुङले भने अध्यक्ष पाण्डेको भनाइमा सत्यता नभएको बताएका छन् । यसअघि करोडौँ रकम आम्दानी गर्दै आएको २६ सयभन्दा बढी सेयर रहेको अस्पतालमा रकम छैन भन्नु न्यायोचित नहुने उनले बताए । त्यति मात्र नभएर सरकारको समेत स्वामित्व रहेको हुँदा कर्मचारीलाई दिने रकम छैन भन्नु गलत नियत भएको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले कर्मचारी युनियनले अस्पताल चलाउँदा समस्या भएको बताए । ‘युनियनकै कारण आवश्यकताभन्दा बढी कर्मचारी अस्पतालमा राखेको कारण अहिलेको अवस्था आएको हो’, उनले भने, ‘तत्कालीन निर्देशक अरुणमणि दीक्षितले बढी कर्मचारी राख्नु तथा बीचमै छोडेर जाँदा पनि समस्या देखिएको हो ।’

‘टन्न भात खाएर आएर बसेको अनशनको केही अर्थ हुँदैन’, उनले भने, ‘यस्तो अनशन त हामी पनि बसेको छौँ, अन्य राजनीति गर्ने व्यक्तित्वहरु पनि बस्नुभएको देख्नुभएकै होला त्यसले केही असर ग¥यो त ?’यसैबीच अध्यक्ष पाण्डले वार्ता समिति निर्माण गरेको र वार्ता हुने बताए ।

त्यसैगरी अस्पतालका निर्देशक जिउनेसोर लाल झाले पुरानो अस्पताल भएको हुँदा पहिला अर्थात् सामान्य अवस्थामा बिरामी आउने गरे पनि कोभिडका कारण बिरामीको चाप कम हुँदा अहिलेको समस्या उत्पन्न भएको बताए ।
‘कोभिडपछि अस्पतालमा बिरामीको संख्या कम हुँदा आर्थिक अवस्था कमजोर हुनपुगेको छ’, निर्देशक झाले भने, ‘हामी पारिश्रमिक दिनको लागि रकम जुटाउने प्रयासमा लागेका छौं । रकमको व्यवस्थापन गर्ने तयारीमा लागेका छौँ । कर्मचारीहरुलाई छिटै तलब दिनेछौँ ।’

तर, अनशनरत चिकित्सक, कर्मचारीहरुले भने अस्पताल व्यवस्थापन, सहकारी व्यवस्थापन तथा अस्पताल निर्देशकसँग पटक–पटक छलफल गर्दा आश्वासन मात्र पाएको बताएका छन् भने निर्देशक झाले कर्मचारीहरुलाई पैसा दिन नसक्ने भन्दै फोन गरेर अस्पतालमा भएका बिरामी अन्यत्र रिफर गर्ने निर्देशन समेत दिएको बताइएको छ ।

यसरी तलब, भत्ता तथा स्थायित्वजस्ता जायज माग उठान गर्दा अस्पताल व्यवस्थापन पक्षले कर्मचारीलाई अस्पतालन बन्द गर्ने, धम्की दिने, बिरामी अन्यत्र पठाएर कर्मचारी माथि अनावश्यक दःुख दिएको बताएका छन् । अस्पताल परिसरमा निशु गजुरेल, कमला लुइँटेल, निर्मल पोखरेल, कल्पना पाण्डे, राम बहादुर तामाङलगायतका कर्मचारीहरु अनशनरत छन् ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया