Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत् महसुल भुक्तानीमा जरिवाना नलाग्ने

विद्युत् महसुल भुक्तानीमा जरिवाना नलाग्ने


काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले गत भदौ महिनाको विद्युत् महसुल भुक्तानीमा सहुलियत दिएको छ । प्राधिकरणले मंगलबार सूचना प्रकाशित गरी भदौ महिनाको महसुल यही असोज २२ गतेसम्म भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ गतेदेखि ३० गतेसम्म भुक्तानी गर्दा पाँच प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरेको छ ।

कोडिभ–१९ को कारण अधिकंश स्थानमा निषेधाज्ञा भएको कारण विद्युत्को मिटिररिडिङ तथा विलिङ समयमा नभएको कारण प्राधिकरणले ग्राहकका लागि उक्त छुट सुविधा उपलब्ध गराएको हो । साथै प्राधिकरणले विद्युत् भदौ महिनाको विद्युत् महसुल भुक्तानीसम्बन्धी अन्य व्यवस्था तथा असोज महिनादेखिको नियमित महसुल भुक्तानीसम्बन्धी व्यवस्था विद्युत् महसुल संकलन विनियमावली २०७७ मा तोकिएअनुसार हुने जनाएको छ । भदौ महिनामा कुनै ग्राहकले महसुल भुक्तानी गर्दा थप दस्तुर तिरेको भए उक्त रकम आगामी बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न नेपाल विद्युत्् प्राधिकरणलाई मंगलबार नै निर्देशन दिएका थिए । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मंगलबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट सो अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्रीले पुनले जरिवाना नलगाउन निर्देशन दिएका हुन् ।

यसअघि जरिवाना लिइएको भए सो रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि उनले निर्देशन दिएका छन् । ‘जरिवाना लिएको भए त्यसलाई अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुस्’, मन्त्री पुनले भने । उनले सो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैँलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरेका छन् ।

यसैबीच प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गर्ने जनाएको छ । आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए ।

मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न समेत निर्देशन दिएका छन् । त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनले सुझाव दिए । लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुने बताए । प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिनतिर उनले ध्यानाकर्षण गराए । ‘वितरण प्रणालीमा सानोभन्दा सानो गडबडी नआओस्’, उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होस् ।’

गत साता मौसमका कारण उपत्यकासहित मुलुकका विभिन्न स्थानमा विद्युत् सेवा आंशिक प्रभावित भएको थियो । त्यतिबेला पनि मन्त्री पुनले प्राधिकरणको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर सेवा तत्काल नियमित गर्न निर्देशन दिएका थिए । यसैगरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया