Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–चीन नाका सुचारु गर्ने सहमति

नेपाल–चीन नाका सुचारु गर्ने सहमति


काठमाडौं ।
नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो भर्चुअल बैठक मंगलबार सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं नेपाल–चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहाल र जनवादी गणतन्त्र चीनकोतर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक पेङ गाइको नेतृत्वमा भएको भर्चुअल बैठकमा प्रस्तावित एजेण्डाका विषयमा दुवै मुलुकले आपसी सहयोग र अन्तर्निर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ ।

यसका साथै नेपाल–चीनबीचका तातोपानी र रसुवागढीमा कोभिड १९ को संक्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा दवै पक्षबीच सहमति भएको मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले बताइन् ।त्यसैगरी पारवहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयन गर्ने, व्यापार सहजीकरण : रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन र सुख्खा बन्दरगाह निर्माण गरिने, एक सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने विषयमाथि सहमत भएको थियो ।

यस्तै नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने विषय, नेपालबाट चीन निकासी गरिने खाद्य वस्तुहरुमा लेवलिङसम्बन्धी विषय, नेपालमा चिनियाँ लगानी र व्यापारको लागि वातावरण विकास गर्ने र स्याफ्रुबेंसी–रसुवा सडक मर्मतसम्भार र स्तरोन्नति गर्ने विषयमा दुई पक्षबीच सहमत भएका थियो भने नेपाल–चीन सीमानजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्नेसम्बन्धी, व्यापार पूर्वाधार विकासमा सहयोगसम्बन्धी विषयमा समेत सहमत भएका थिए ।

यस्तै नेपाल–चीनबीचका तातोपानी र रसुवागढी दुईवटा अन्तर्राष्ट्रिय नाकाहरु सुचारु गर्ने सम्बन्धमा भने मुस्ताङको कोरोला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणको लागि चिनियाँ पक्षलाई अनुरोध गर्नुको साथै नेपाल–चीनबीचको दुईपक्षीय सीमाविन्दु ओलाङ्चुङ्गोला र किमाथांकामा व्यापार पूर्वाधारको लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने तथा १७औँ नेपाल–चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय आयात प्रदर्शनी मेलामा नेपाली पक्ष सहभागी हुने विषयमा सहमत भएका थिए ।

सहसचिव दाहालले दुवैतर्फको स्थानीय प्रशासनको बैठकले भने तातोपानी नाका असोज १९ गते तथा रसुवा नाका पनि छिटै सञ्चालन गर्ने विषयमा सहमति भएको बताए । ‘नाकामा कोभिड देखिएसँगै करिब १५/१६ दिन चिनियाँ पक्षले तातोपानी नाका बन्द गरे भने नेपालतर्फ भने पहिरो गएको कारण कन्टेनर आउन सकेन’, उनले भने, ‘यस्तै चिनियाँ भूभागमा रहेको तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटरमाथि रहेको क्यानोन कु ताल फुट्नसक्ने भन्दै नाका सुचारु हुन सकेन ।’ चाडपार्व नजिक आएको कारण नाका सुचारु गर्न चिनियाँ पक्षसँग माग राखेको उनले बताए ।

‘छिमेकी मुलुक भएको नाताले पनि हाम्रो चाडपर्व नजिकिँदै छ, यो अवस्थामा नाका भने सामान्य अवस्थामा जसरी सुचारु गर्नुपर्छ भनी हामीले चिनियाँ पक्षसँग माग राखेका हौँ’, सहसचिव दाहालले भने, ‘यसमा चिनियाँ पक्ष सकारात्मक भएको र हामी सम्बन्धित पक्षलाई यस विषयमा जानकारी गराउँछौँ ।’ कूटनीतिक तहबाट समस्या समाधान गरौं भन्ने उनीहरुको जवाफ रहेको थियो । यस्तै केरुङ नाकामा भने केही दिनअघि गएको पहिरोको कारण हाल कन्टेनर आउजाउ गर्न समस्या भएको छ भने सो नाका पनि सामान्य रुपमा सञ्चालन गर्नको लागि नेपाली पक्षको मागमा चीन सकारात्मक रहेको छ ।

चिनियाँ पक्षले दुवै नाकाबाट दैनिक ४/५ वटा कन्टेनर छोड्न सहमति जनाए पनि त्यसले समस्याको समाधान नहुने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले बताए । करिब ६ महिनादेखि नाकामा सामान रोकिएको छ । ‘गार्मेन्टलाई मात्र खुल्ला गरेर अन्य सामग्री भने आयातनिर्यात नभएमा अन्य सामग्रीका व्यापार गर्ने व्यापारी प्रभावित बन्नेछन्’, अध्यक्ष पौडलले भने, ‘त्यसैले गर्दा कयौं व्यापारीहरुको नाकामा सयौं कन्टेनर रहेका छन्, त्यसलाई छाडिदिनु अहिलेको आवश्यकता हो ।’

दुवै पक्षले कोरोना सुरक्षा सतर्कता अपनाई कन्टेनर सञ्चालन हुनुपर्ने बताएका छन् । बैठकमा नेपाल र चिनियाँ क्रमशः ११/११ सदस्यहरु सहभागी थिए । भन्सार विभागका अनुसार चीनबाट आर्थिक वर्ष (२०७६/७७) मा एक खर्ब ८१ अर्ब ९२ करोड रुपैयाँको सामग्री आयात भएको थियो । नेपाली व्यवसायीहरुले चीनसँगको व्यापारमा विशेषगरी लसुन, प्याज, तरकारी, मसला, खाद्यान्न, फलफूल मासुजन्य पदार्थका साथै लत्ताकपडा कम्प्युटर, टेलिभिजनलगायतका सामग्रीहरु आयात गर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया