Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना परीक्षणको नाममा निजी क्षेत्रको लुट

कोरोना परीक्षणको नाममा निजी क्षेत्रको लुट


काठमाडौं ।
सरकारले भदौ २८ गतेदेखि कोरोनाको आरटी–पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ तोकेको थियो । सरकारी निर्णय सबै प्रयोगशालाले मानेको भए त्यही दिनदेखि दुई हजार रुपैयाँमा कोरोनाको छ/छैन भन्ने परीक्षण हुने थियो । केही प्रयोगशालाले सरकारी निर्देशन माने पनि केहीले अझै मानेका छैनन् ।

सरकारले पटक–पटक तोकिएको शुल्कमा परीक्षण शुल्क लिन आग्रह गरे पनि निजी प्रयोगशालाले तोकिएको शुल्कमा नलिई सोमबार विज्ञप्ति जारी गरी आफैँले कोरोना परीक्षणको शुल्क तीन हजार आठ सय ९९ रुपैयाँ लिने घोषणा गरे । यसरी विज्ञप्ति जारी गरेर सरकारी निर्णयलाई चुनौती दिने प्रयोगशालाहरुमा स्टार अस्पताल प्रयोगशाला, ह्याम्स अस्पताल प्रयोगशाला, बीएण्डबी प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थकेयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टर र इन्ट्रापिड डायग्नोस्टिक सेन्टर प्रालि छन् ।

विश्वव्यापी महामारीको बेलामा त्यस्ता प्रयोगशालाले सरकारलाई सहयोग गरेर सरकारले तोकेको शुल्कमा मात्र परीक्षण गर्नुपर्नेमा मौकामा लुटको शैलीमा कमाउने योजना बनाएपछि सरकारको आलोचना भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनामा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले परीक्षणको नाममा ठगी गर्ने ती आठवटा प्रयोगशालालाई सरकारले तोकेअनुसार शुल्क समायोजन गर्न २४ घण्टाको अल्टिमेटम दिँदै अटेर गरे कारबाही गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको बताए ।

सरकारले अन्तर्राष्ट्रिय मूल्यअनुसार दोस्रो पटक समायोजन गरेर दुई हजार रुपैयाँमा झारिएको दाबी गरे पनि ती आठवटा प्रयोगशालाले भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफूहरुले शुल्क निर्धारण गरेको दाबी गरेका छन् । सुरुमा सरकारले पाँच हजार पाँच सय रुपैयाँ तोकेर कोरोनाको पीसीआर परीक्षण गर्न सरकारी र निजी प्रयोगशालालाई अनुमति दिएको थियो । त्यसपछि एक हजार रुपैयाँ घटाएको थियो भने दोस्रोपटक शुल्क घटाएर सरकारले दुई हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरेको थियो ।

अहिले विश्वलाई कोरोनाको महामारीले आक्रान्त पारेको छ । नेपालमा बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार आठ सय ९१ पुगेको छ । कोरोनाबाट बढी जनघनत्व भएका जिल्लाहरु प्रभावित भएका छन् । त्यसमा पनि काठमाडौं उपत्यकामा दैनिक देशभरको कुल कोरोना संक्रमितको ६० प्रतिशत बढी देखिन थालेको छ ।

सरकारले परीक्षणको दायरा बढाएर सरकारी तथा निजी प्रयोगशालामार्फत संक्रमित र गैरसंक्रमितको तथ्यांक संकलन गर्दै त्यहीअनुसार व्यावसायिक गतिविधि पनि जारी राखेको छ । बढीभन्दा बढीको परीक्षण गरेर रोकथामका उपाय लिन सरकारले सरकारी र निजी दुवै क्षेत्रलाई कोरोना परीक्षणको स्वीकृति दिएको हो । अहिले देशभर ४० वटा सरकारी र १६ वटा निजी क्षेत्रको गरी ५६ वटा कोरोना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा छन् ।

५६ वटा प्रयोगशाला सञ्चालनमा रहे पनि अझै परीक्षणको दायरा फराकिलो नभएको भनेर सरकारको आलोचना भइरहेको छ । सरकारले शुल्क घटाएसँगै कोरोना परीक्षण गर्नेको संख्या बढ्ने अपेक्षा गरिएको छ । त्यहीअनुसार सरकारले मूल्य समायोजन गरेर एक व्यक्तिको एकपटक कोरोना परीक्षणको शुल्क दुई हजार रुपैयाँ तोकेको हो । तर, सरकारी निर्णय अवज्ञा गर्ने निजी क्षेत्रका प्रयोगशालाको धम्कीको कारण बढीभन्दा बढीको परीक्षण गर्ने सरकारी योजनामा धक्का लागेपछि २४ घण्टाभित्रमा शुल्क समायोजन नगरे कारबाही गर्ने चेतावनी स्वास्थ्य मन्त्रालयले बुधबार दिएको हो ।

सरकारले सातवटै प्रदेशम कोरोनाको परीक्षणको व्यवस्था गरेको छ । सरकारी तथ्यांकअनुसार प्रदेश नम्बर १ मा चारवटा, प्रदेश नम्बर दुईमा पाँचवटा, वाग्मती प्रदेशमा २८, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा आठ, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा पाँचवटा प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ । निजी क्षेत्रका अधिकांश प्रयोगशालाले सरकारले तोकेको शुल्कमा काम गरेका छैनन् । सरकारले अल्टिमेटम दिएपछि ती आठसहित शुल्क बढी लिने प्रयोगशालाको परीक्षण गर्न पाउने इजाजत खारेज हुनेछ र ठगीअन्तर्गत कारबाही चलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा सरकारी र निजी क्षेत्रका प्रयोगशालाले बुधबारसम्म १० लाख २१ हजार पाँच सय तीन जनाको कोरोना परीक्षण गरेको छ । तीमध्ये बुधबार मात्र १२ हजार दुई सय पाँच जनाको परीक्षण गरेको थियो । तीमध्ये एक हजार पाँच सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको प्रतिशत तीन पुगेको छ भने नेपालमा पोजेटिभमध्ये मृत्यु हुनेको दर शून्य दशमलव छ प्रतिशत छ । यो क्रम बढ्दो भएको कारण नेपालमा पनि परीक्षण गरेर सक्रमितलाई थप व्यक्तिलाई कोरोना सार्न नदिन र संक्रमितलाई उपचारको व्यवस्था गर्न परीक्षणलाई तीव्रता दिइएको हो । नेपालमा परीक्षणमध्ये संक्रमणको दर सात दशमलव छ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार दिउँसो २ बजेसम्म १० हजार आठ सय चार जना होम आइसोलेसनमा छन् भने दुई सय एक जना आईसीयू र ३० जना भेन्टिलेटरमा छन् ।

तीमध्ये काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या बुधबारसम्म नौ हजार छ सय ९२ जना, निको भएकाको संख्या नौ हजार सात सय ८४ जना र मृत्यु भएकाको संख्या ९८ जना पुगेको छ । त्यस्तै ललितपुर जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार १३ जना, निको भएकाको संख्या एक हजार ९६ जना, मृत्यु भएकाको संख्या २१ जना र भक्तपुरमा सक्रिय संक्रमितको संख्या एक हजार एक सय ८३ जना, निको भएकाको संख्या एक हजार दुई सय ५४ जना र मृत्यु भएकाको संख्या २१ जना पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया