Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफेरि निषेधाज्ञाको संघारमा

फेरि निषेधाज्ञाको संघारमा


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकार गरेमा नेपाल पुनः लकडाउन वा निषेधाज्ञाको संघारमा पुगेको छ । स्वास्थ्य मन्त्रालयले देशमा २५ हजार कोरोना संक्रमित नाघेमा अस्पतालले नधान्ने भन्दै लकडाउन वा निषेधाज्ञा लगाउनुपर्ने प्रस्ताव गरेको छ । सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ११ हजारभन्दा बढी छन् । उनीहरुमध्ये केहीले न्यूनतम मापदण्ड पालना नगरी घरबाहिर निस्केको अनुमान गरिएको छ ।

व्यवसायीहरुले सरकारलाई कोरोनाको नाममा कुनै पनि किसिमको बन्द नगर्न आग्रह गर्दै आए पनि सरकारले आधिकारिक धारणा बाहिर ल्याएको छैन । बन्दले आर्थिक क्षेत्रलाई तहसनहस पारेको कारण बन्द गर्नैै नहुने अडानमा व्यवसायीहरु छन् ।

स्वास्थ्य मन्त्रालयले भने कोरोना फैलिएमा बिरामीको उपचार गर्ने क्षमता अस्पतालहरुसँग नभएको कारण लकडाउनको विकल्प नभएको बताउँदै आएको छ । नेपालमा बिहीबारसम्म २१ हजार आठ सय ३० जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार सात सय ६१ जना छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर दुई सय २० जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टाइनमा पाँच हजार ७७ जना छन् । बिहीबार देशमा थप एक हजार नौ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बुधबारदेखि बिहीबारको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार चार सय ४४ जनाको पीसीआर परीक्षणका क्रममा उक्त सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै उक्त २४ घण्टामा काठमाडौँ उपत्यकाका नौ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ८ सय १७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् । सोही अवधिमा भाइरस सङ्क्रमण भई घर फर्किनेको सङ्ख्या नौ सय ६१ जना रहेको छ । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५७ हजार तीन सय ८९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ११ रहेको छ जसमा १० पुरुष र एक महिला छन् । योसँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या पाँच सय नौ पुगेको छ । मृत्यु हुनेमा सुनसरीको ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौँका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरको ६८ वर्षीय पुरुष र ललितपुरको ४८ वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ ।

बैतडीमा दुई स्थानीय तह सिल : कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो । मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो ।

यस्तै पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको हो ।

प्रदेश प्रमुख कलौनीलाई कोरोना : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । प्रदेश प्रमुखको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया