Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघको ५४औं वार्षिक साधारणसभा मंसिरमा

महासंघको ५४औं वार्षिक साधारणसभा मंसिरमा


काठमाडौं ।
पटक–पटक सर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गरिने तय भएको छ । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

निर्धारित कार्यक्रमअनुसार गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले तीन/तीन पटकसम्म मिति तोकेर पनि हुनसकेको थिएन । यसअघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि छ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्यदृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो ।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको अवस्था छ । सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब उप्रान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवतजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औँ वार्षिक साधारणसभा तथा निर्वाचन गत चैत २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्णरुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि गत जेठ ७ र ८ गते र गत साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाले साधारणसभा हुनसकेको थिएन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया