Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंमा कोरोना छल्नै मुस्किल

काठमाडौंमा कोरोना छल्नै मुस्किल


काठमाडौं ।

पछिल्लो समय काठमाडौंमा जताततै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शनिबारसम्म देशभर २१ हजार तीन सय दुई जना सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्रै १२ हजार दुई सय ५४ जना सक्रिय कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकाको उक्त सक्रिय संक्रमितको संख्या कुल संक्रमितको ५७ दशमलव ५२ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या नौ हजार आठ सय ९२ जना, भक्तपुरमा एक हजार ७२ जना र ललितपुरमा एक हजार दुई सय ९० जना छन् । काठमाडौंमा एक सय तीन जना, भक्तपुरमा २४ जना र ललितपुरमा २५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । शनिबारसम्म देशभर पाँच सय २८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

संक्रमितको तुलनामा काठमाडौं उपत्यकामा निको हुनेको संख्या अत्यन्त न्यून छ । काठमाडौंमा १२ हजार छ सय ७७ जना, भक्तपुरमा एक हजार तीन सय ५५ र ललितपुरमा एक हजार चार सय ८२ जनामात्र निको भएका छन् । चाडबाड नजिकिँदै गर्दा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउने अपिल नै गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सकभर काठमाडौं उपत्यकामा नआउन आग्रह गर्दै आउनैपर्ने भएमा स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्ड पालना गरेर मात्र आउन आग्रह गरे । शनिबार मात्र दुई हजार एक सय २० जनाका कोरोना पुष्टि हुँदै काठमाडौं उपत्यकामा एक हजार एक सय ७७ जनामा कोरोना पुष्टि भएको थियो ।

काठमाडौंमा सुरक्षाघेरा रहनेहरुमा नै कोरोना पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जनाउँदै सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री निवासमा सुरक्षामा खटिने भित्री घेरामा रहेका सुरक्षाकर्मीलाई पनि कोरोना लागेको छ । नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ तथा राष्ट्रिय अनुसन्धान विभागका दुई जना गरी ६७ जनामा कोरोना पुष्टि भएको छ । प्रधानमन्त्री निवासमै यति ठूलो संख्यामा कोरोना पुष्टि भएको पहिलो पटक हो । यसअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह र फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएपछि अरुको परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

दैनिकी सञ्चालन गर्नका लागि सरकारले बजार खुला गरे पनि नागरिकहरूले सतर्कता नअपनाउँदा समस्या बढेको हो । अहिले देशभरिको कुल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ । उनीहरूमध्ये ६० हजार ६ सय ९६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर २१ हजार २ सय ३४ सक्रिय सङ्क्रमितमध्ये ११ हजार ७ सय ६० होम आइसोलेसनमा छन् । नौ हजार ४ सय ७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २ सय १० जना आईसीयू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सरकारले भनेअनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्र्याइँ बढेपछि काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुनथालेको हो ।

काठमाडौं आएर छोटो समयको बसाइ तथा काठमाडौंमा लामो समय बसेर जिल्ला फर्किनेहरुमा कोरोना बाहिरिने आशंका स्वास्थ्य मन्त्रालयको छ । अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सङ्क्रमित सङ्ख्या पनि ह्वात्तै बढेको छ । अब तीनै मानिस गाउँघरमा जाँदा सङ्क्रमण फैलिने डर रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाइजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

नेपालमा अहिले सङ्क्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार एकैपटक दुई हजार ७२२ जनामा सङ्क्रमण देखिएको थियो । त्यसमध्ये आधाभन्दा धेरै एक हजार ६३८ काठमाडौँ उपत्यकाका सङ्क्रमित रहेका छन् । उक्त तथ्याङ्कले पनि अहिले सबैभन्दा बढी सङ्क्रमित शहरी क्षेत्रमा रहेको देखाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया