Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुदूरपश्चिमका तीन विमानस्थलमा परीक्षण उडान

सुदूरपश्चिमका तीन विमानस्थलमा परीक्षण उडान


धन बहादुर जप्रेल
कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशको धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका तीन पहाडी जिल्लामा कालोपत्रे गरी नयाँ बनाइएको विमानस्थलमा हवाइ सेवा सञ्चालन गर्नका लागि परीक्षण उडान गरिएकोे छ । समिट एयरले शनिबार धनगढीबाट डोटीको दिपायल, बझाङको देवल विमानस्थल र बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान गरेको हो ।

परीक्षण उडानको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आएको र त्यसपछि धनगढीबाट डोटी, डोटीबाट बझाङ, बझाङबाट बैतडी उडान गरिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढा थापाले बताए । सबै विमानस्थलमा उडान परीक्षण सफल भएको उनले बताए ।

उनका अनुसार चाँडै सबै विमानस्थललाई धनगढीबाट साना विमानद्वारा निरन्तर रूपमा सञ्चालन गर्न प्रयास गरिनेछ । परीक्षण उडान सफल भएकोले अब विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

वर्षौँदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडान भएपछि प्रदेशमा उत्साह बढेको छ । बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाइ सेवा सञ्चालनमा आए पर्यटनलगायत स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ  ।

२६ वर्षपछि पाटनमा विमान : विगत २६ वर्षदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित समिट एयरको विमान बैतडी पुगेको हो । पाटन विमानस्थल बैतडीसँगै डडेल्धुरा, दार्चुला र बझाङको अधिकांश क्षेत्रका लागि पायक पर्ने ठाउँमा रहेको छ ।

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो । परीक्षण उडान सफल भएकोले अब नियमित उडान हुने पाटन नगरपालिकामा मेयर केशबहादुर चन्दले बताए ।

दिपायल विमानस्थलबाट नियमित सुचारु गर्ने : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले दिपायल विमानस्थलबाट नियमित उडान हुने बताएका छन् । लामो समयदेखि बन्द रहेका सुदूरपश्चिम प्रदेशका ३ विमानस्थलको निरीक्षणका लागि डोटी पुगेका उनले विमानस्थललाई नियमितरूपमा सञ्चलान गर्न आफ्नो मन्त्रालय चिन्तित रहेको बताएका छन् ।

साथै उनले अझै दिपायल विमानस्थलमा कामहरू गर्न बाँकी रहेको बताए । रनवे बढाउनुपर्ने देखिएकाले त्यसका लागि जग्गा लिएर विमानस्थलको क्षेत्र विकासमा आफू क्रियाशील हुने मन्त्री भट्टराइको भनाइ थियो । प्राकृतिक रूपमा सुन्दर रहेको दिपायल विमानस्थलबाट नियमितरूपमा हवाइ उडान हुन थालेपछि राजधानीदेखि डोटी टाढा नहुने मन्त्री भट्टराईको भनाइ थियो ।

१० वर्षपछि देवल विमानस्थलमा जहाज अवतरण
आशिष बहादुर सिंह
बझाङ , बझाङ जिल्ला सदरमुकाममा रहेको देवल विमानस्थलमा १० वर्षपछि जहाज अवतरण गरेको छ । करिब ५ करोड ५० लाख लागतमा पुनर्निर्माण भएपछि शनिबार विमानस्थलमा परिक्षण उडान गरिएको हो । २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुरसम्म यातायातका साधन पुग्न थालेपछि २०६६ सालमा देवल विमानस्थल बन्द भएको थियो । संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले समिट एयरको जहाज मार्फत बझाङ विमानस्थलको परिक्षण उडान गरेका छन ।

२०३२ सालमा तत्कालिन शाही नेपाल वायु सेवा निगमले बझाङको देवल विमानस्थलबाट साप्ताहिक उडान सुरु गरेको थियो । त्यतिबेला हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ र बझाङ–धनगडि उडान हुने गरेको थियो । पछि तारा, मकालु, सांग्रिला जस्ता निजी एयरलाइन्सले पनि हप्तामा दुई तीन पटक उडान भर्न सुरु गरेका थिए । तर सरकारी पक्षको वेवास्ताका कारण असुरक्षित भएको भन्दै निजि कम्पनिहरुले पनि उडान बन्द गरेपछि २०६६ सालबाट विमानस्थल बन्द भएको थियो ।

विमानस्थल सुचारु नहुँदा बझाङ वासीले सास्ती खेप्नु परेको थियो । हवाईमा २७ मिनेट यात्रामा धनगढी पुग्न सकिने ठाउँमा हवाई सेवा बन्द भएपछि सडक यातयात प्रयोग गरि दुई दिनसम्म लगाउनु पर्ने अवस्था थियो । स्थानीय रमेश सिंहले हवाईै सेवा संचालन भएपछि विरामीहरुले अकालमा ज्यान गुमानुपर्ने अबस्थाको अन्त्य हुने बताए ।

समयमा नै उपचार नपाएर यहाँका विरामीहरुले अकालमै ज्यान गुमाउँदै आएका छन् । उडान सुरु भएपछि यहाँका सर्वसाधारण स्थानीय बासिन्दा सबै खुःसी भएका छन् । हवाई उडानसंगै आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्यामा पनि उल्लेख्य बृद्धि हुने र जिल्लाको आर्थिक स्थिती पनि सुधार हुने बझाङ उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनले बझाड हुदै तिव्वतको मानासरोवर र साईपाल हिमाल जाने छोटो रुट हुने हुदाँ यहाँ आन्तरीक तथा बाह्य पर्यटन भित्रन सक्ने बताए ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री भट्टराईले बझाङका लागी नियमित उडान तालिका छिट्टै दिने जानकारी दिए । मन्त्री भट्टराईले बझाङ जिल्लाको हवाई मैदानको रन वे पनि लामो भएको र हवाई मैदान पनि उपयुक्त स्थानमा भएकाले अब कुनै पनि जहाज अबतरण हुनका लागी समस्या नभएको बताए ।

बिमानस्थलको सफल परिक्षण उडानपछि अब सरकारले तत्काल बझाङका लागी नियमित उडान भर्न आवश्यक रहेको प्रतिनिधी सभा सदस्य भैरबबहादुर सिंहले बताए । उनले बझाङबाट तिब्बत मानसरोबर पुग्न सबै भन्दा छोटो नाका भएकाले त्यहाँ जाने तिर्थ यात्रीहरुलाईसहज हुने हुदा धनगडी बझाङ नियमित उडान हुनु पर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया