Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबालुवाटारमा कोरोना कहर :

बालुवाटारमा कोरोना कहर :


केदार सुवेदी
कोरोना केही होइन, हाच्छ्युँ गरे आफैँ जान्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा गएको हप्ता कोरोनाले प्रवेश गरको पुष्टि भयो । त्यो पनि धेरै नै ठूलो मात्रामा । प्रधानमन्त्री निवास बालुवाटार देशको सबैभन्दा सुरक्षित मानिएको र सधैँ अति नै कडारुपको सुरक्षा घेरा रहने ठाउँ हो । यो ठाउँ अर्थात् निवासमा १६५ जनाको स्वाब परीक्षण गरिएकोमा ७० को हाराहारी संख्यामा कोरोना संक्रमण देखियो ।

सरकारी स्वामित्वको कुनै एक ठाउँमा गरिएको एक डेढ सय संख्या हाराहारीको परीक्षणमा पौने सयको परीक्षण परिणाममा भाइरस संक्रमण भएको देखिनु भनेको सामान्य कुरा होइन । अहिलेसम्म जतिको परीक्षण भयो र जति संक्रमित देखिए त्यसबाट भन्न सकिन्छ– यो परीक्षणमध्येको पुगनपुग दुई जनामा एक जना संक्रमित भएको अवस्था हो ।

संसारभर यस्तो परिणाम आउनु सबैभन्दा खतरनाक मानिन्छ । छिमेकी देश भारतको दिल्ली र मुम्बईका सुकुम्बासी बस्तीमा यस्तो देखिएला भन्ने डर थियो । तर ती ठाउँमा पनि अपवादबाहेक हजारमा सयको हाराहारीमा नै थियो । बालुवाटारमा जे भयो त्यो प्रधानमन्त्रीले भनेजस्तो यो १० लाखमा ३० हजार दरको परीक्षण र त्यसमा प्रतिहजार १०० का दरले संक्रमण भेटिएको अवस्था होइन । त्यसकारण यसलाई गम्भीर भनिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारको पर्खालभित्र पाइएको वा प्रकट भएको यो संख्या थोरै धेरै देखिएको देशैभर अहिलेसम्मको रेकर्ड हो । विज्ञहरुका अनुसार देशभर यही रफ्तारमा संक्रमण फैलिने हो भने त्यसको संख्या एक सवा करोड पुग्नेछ । यतिबेलाको चिन्ता हो कतै देशको कार्यकारी प्रमुखको निवासले यस्तो थालनी त गरेको होइन !

निवासमा प्रकट भएको कोरोना संक्रमणको यो संख्या केही पहिले प्रधानमन्त्रीले दाबी गरेभन्दा धेरै भिन्न देखियो । छैठौं सविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना महामारीविरुद्ध यो समयमा देशमा व्यापक रुपले जनचेतना फैलाइएको र आजको दिनसम्म यसबारे सबै पर्याप्त जानकारी राख्ने भइसकेका भनी घोषणा गरेका थिए । उनका भनाइ उनकै शब्दमा –

एक : ‘बहुसंख्यक नेपालीहरूलाई कोभिड–१९का लक्षण तथा हात धुने, भीडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरूबारे जानकारी छ । मोबाइल रिङ्ग टोन, टोल फ्रि हटलाइन फोन, वेबपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचना प्रवाह गरिएको छ ।’

दुई : ‘समग्रमा जनताको सुझबुझपूर्ण सहयोगमा कोरानालाई तह लगाउन सकिनेमा हामी विश्वस्त थियौँ । हामीले लकडाउन ग-यौँ । सर्वपक्षीय सल्लाह ग-यौँ, सल्लाहमै रोकथाम, नियन्त्रण र उपचारको लागि क्षमताले भएसम्मका उपायहरू अपनायौँ । हामीले ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अगाडि सा-यौँ । उपलब्ध नयाँ तथ्यका आधारमा जनतालाई सचेत पार्ने हरसम्भव प्रयास ग-यौँ । यस अवधिमा प्रधानमन्त्रीको हैसियतमा मैले पटक–पटक औपचारिक सम्बोधन गरेँ ।

मिर्गौला प्रत्यारोपणको लागि अपरेसन थिएटरमा जानुअघि र अस्पतालबाट डिस्चार्ज भएलगत्तै पनि सम्बोधन गरेँ । यी सबै सम्बोधनमार्फत गरिएका काम र गर्ने कामका बारेमा आम देशबासीसँग सम्वाद गरेँ । सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय–समयमा हात धुने मात्रै होइन, आफ्नो आन्तरिक रोग प्रतिरोधी क्षमता वृद्धि गरी सिङ्गो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा जोड दिएँ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, सबै प्रकृतिका कामदार/कर्मचारीहरू, तीनवटै तहमा कार्यरत जनप्रतिनिधिहरू, विज्ञहरू, राजनीतिक दल तथा आम नागरिकहरूको महामारी नियन्त्रण, रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रह्यो, जुन खुसीको कुरा हो ।’

तीन : ‘पहिले परम्परागत औषधि आदिका बारेमा द्विविधा थियो, अहिले हाम्रा जडीबुटी र परम्परागत वस्तुहरूको प्रयोगबाट आफू निको भएको भनेर कतिपय संक्रमितहरूका अनुभव पनि सुन्न थालिएको छ ।’

उल्लिखित विवरणले बालुवाटार निवासमा रहेकाहरुले यो संक्रमण देखिएको १५ दिनअघि मात्र प्रधानमन्त्रीले जनताका नाममा गरेका यो सम्बोधन कि सुनेनन् कि अटेर गरे भन्ने देखाउँछ । कि यो सम्बोधन निवासमा रहेकाहरुका लागि होइन भन्ने मान्यतामा रहे उनीहरु । जे भए पनि यीमध्ये कि प्रधानमन्त्रीले बोल्नका लागि बोलिदिएका कि उनका निकटले आफू जनताभन्दा माथिको वर्गका मानेका अवस्था हुनुपर्छ यो । त्यसो नहुँदो हो त अपवादमा एक/दुई जनामा हुनुपर्ने कुरा सबैमा कसरी आयो भन्ने प्रश्न उठछ नै ।

कस–कसमा देखियो भन्नेभन्दा बालुवाटारको यो संक्रमण प्रकरणमा को–को जोगिएछन् भन्ने खोज्नुपर्ने हुन्छ । यसमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार, विदेश मामिला सल्लाहकार, प्रेस सल्लाहकार, प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि भयो । यी पदमा को–को थिए भन्ने उल्लेख भइरहनु नपर्ला । यसअघि बालुवाटारभित्रकै फोटोग्राफर मात्र होइन प्रधानमन्त्रीका निजी चिकित्सकमा पनि कोरोना देखिएकोमा परेका थिए ।

यो समूह भनेको प्रधानमन्त्रीको धेरै नै निकट रहने समूह हो । उनीहरु आफैँले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यो राजनीतिक समूहमात्र होइन प्रधानमन्त्री निवासमा सुरक्षामा खटिने भित्री घेरामा रहेका सुरक्षाकर्मीहरुको पनि ठूलो संख्या संक्रमित भएको देखियो । यसमा नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका १८ तथा राष्ट्रिय अनुसन्धान विभागका दुई जना गरी ६७ जनामा कोरोना पुष्टि भयो ।

अहिलेसम्म सरकारी घेरामा अर्थात् सुरक्षाको यति कडा व्यवस्था भएको ठाउँमा एकैपटक यति ठूलो सख्यामा संक्रमण देखिनुले प्रधानमन्त्री निवासमा कोरोनाको सतर्कता कस्तो छ भन्ने पक्षबाट प्रश्न उठने भयो नै । यहीँनेर हो प्रधानमन्त्रीले ‘बहुसंख्यक नेपालीहरूलाई कोभिड–१९का लक्षण तथा हात धुने, भीडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरूबारे जानकारी छ’ भनिरहँदा त्यो जानकारी बालुवाटारभित्रै रहेनछ भन्नुपरेको ठाउँ पनि ।

यसबारेमा प्रधानमन्त्रीले थप भनेका छन्, ‘मोबाइल रिङ्ग टोन, टोल फ्रि हटलाइन फोन, वेबपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचनाप्रवाह गरिएको छ ।’ यो ठाउँमा पनि देशवासीलाई दिएको जानकारी बालुवाटारभित्र पुगेनछ वा पुगेको हो भने त्यसको अटेर गरियो अथवा प्रधानमन्त्रीको यस्तो दाबी नै गलत थियो ।

बालुवाटारमा यसप्रकारले अपवादमा जोगिएकाबाहेक सबैमा कोरोना प्रवेशको यो सन्देश सामान्य छैन । यही ठाउँमा परीक्षण बढाऊ भनिरहिँदा आफनो क्षमताको आधामात्र पनि प्रयोग नगरेको परिणाम देशले कसरी भुक्तान गरिरहेको छ भन्ने चित्र देखिन्छ ।

त्यही सम्बोधनमा प्रधानमन्त्रीले परीक्षणको क्षमताबारे भनेका थिए – २०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएकाले त्यसको नमूना विदेश पठाउनुपरेको थियो । हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआरपरीक्षण प्रयोगशालाहरू सञ्चालनमा छन् ।

परीक्षणको दैनिक क्षमता २३ हजार पाँच सयभन्दा माथि छ । यो क्षमताको प्रयोग भएन भन्ने त बालुवाटारमा यो सख्यामा प्रकट भएको दिनको मात्रै परीक्षण संख्या हेरियो भने पनि पर्याप्त होला । त्यसदिन १२ हजार हाराहारीको परीक्षण भएको थियो । प्रधानमन्त्रीले भनेअनुसारको क्षमता यो दिन पनि प्रयोग भएन अर्थात् क्षमताको ११ हजार खेर गयो । यो दिनमात्रै होइन विगतका सधैंभर यस्तै भइरहेको छ ।

यही ठाउँमा पनि एउटा त यसअघि निवासमा कोरोना प्रवेश गरेको भन्ने संकेत प्राप्त भइसकेको थियो प्रधानमन्त्रीका निजी चिकित्सक र फोटोग्राफरमा देखिएबाट । त्यो बेला उनीहरुलाई कोराना पुष्टि भएपछिको हप्ता डेढ हप्तापछिको कुरा हो यो । अहिले अनुमान के छ भने यस्तो परीक्षण गर्न नै ढिलाइ भयो र यिनले कसकसलाई सारे भन्ने प्रश्न निरुत्तरित रहन गयो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया