Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्झौता

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्झौता


विराटनगर ।
विराटनगर विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको रूपमा विस्तार गर्नको लागि त्रिपक्षीय सम्झौता भएको छ । संघीय सरकारको नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, आधुनिक टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास गराउन सोमबार विराटनगरस्थित होटल इस्टर्न स्टारमा त्रिपक्षीय सम्झौता भएको हो ।

पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यावसायीहरूले माग राख्दै आएका छन् । हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहाँबाट बङ्गलादेश, भारतका विभिन्न राज्य, भुटान र सिक्किमसँग सिधै हवाइ यात्रा गर्न सकिनेछ ।

समझादारीपत्रमा प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विमानस्थलको वर्तमान धावनमार्गको लम्बाइ तीन हजार मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधासम्पन्न बनाइने भएको छ ।

त्यसका लागि नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने प्रावधान राखिएको छ । यसैगरी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले जग्गा अधिग्रहणमा देखिएको समस्या समाधानको पहल तथा सहजीकरण गर्नेछ । त्यस्तै प्राधिकरणले यसको गुरुयोजना तयार गर्ने र जग्गा अधिग्रहण र मुआब्जा वितरणको लागि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गराउनेछ । विमानस्थलको जग्गा अधिग्रहण, डीपीआर तथा डिजाइन सबै प्राधिकरणले नै गर्नेभएको छ ।

स्रोतको उपलब्धताको आधारमा दुवै पक्षले लागत साझेदारीमा थप रकम उपलब्ध गराउनसक्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । हस्ताक्षर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको तीव्र गतिमा विकास गर्न तीनै तहका सरकार सार्वभौम रहेको बताए । मन्त्री भट्टराईले विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुवै विमानको ‘हब’ बन्न सक्ने बताउँदै धार्मिक, पर्यटकीय, भौगोलिक तथा शक्तिपीठले मात्र नभई यो प्रदेश संस्कृति, सभ्यता र प्रकृतिले भरिपूर्ण रहेको बताए । मन्त्री भट्टराईले काठमाडौँबाहिर अन्तर्राष्ट्रिय विमानस्थल बन्नलागेको गौतम बुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा बताए ।

नेपाल सरकारले प्रत्येक प्रदेशमा हिल स्टेसन बनाउने नीति लिएको चर्चा गर्दै कोभिड–१९ को महामारीको समयमा पनि सडक, ऊर्जा, विमानस्थलको काम नरोकिएको बताए । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताए । धार्मिक, सांस्कृतिक र ऐतिहासिकताले भरिपूर्ण यो प्रदेशमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वच्छ, सुखी र समुन्नत प्रदेशको आकांक्षा पूरा गर्न बल पुग्ने उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया