Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले आक्रान्त पारेको बेला विदेश जाने युवाबाट ३ करोड २५ लाख ठगी

कोरोनाले आक्रान्त पारेको बेला विदेश जाने युवाबाट ३ करोड २५ लाख ठगी


काठमाडौं ।
कोरोनाले आक्रान्त पारिरहेको विषम परिस्थितिमा पनि वैदेशिक रोजगारीमा जाने युवाबाट मेनपावर तथा बिचौलियाले ठगी गर्ने क्रम नरोकिएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार मेनपावर र व्यक्तिहरुले मिलेर विदेश पठाउने भन्दै युवाहरुबाट तीन करोड २५ लाख २२ हजार रुपैयाँ ठगी गरेका छन् । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा युवाहरुमार्फत उक्त रकम ठगी गरेको विभागले जानकारी दिएको हो ।

यद्यपि हालसम्म विभागले संस्थागत श्रम स्वीकृति भने खुल्ला गरेको छैन । विभागका महानिर्देशक कुमार दाहालले लकडाउनमा पनि ठगी हुनु भनेको दुःखद विषय भएको बताए । ‘संस्था वा व्यक्तिले विदेश पठाउने नाममा ठगी गर्नु गम्भीर विषय हो’, उनले भने, ‘ठगी गरेको उजुरी प्राप्त भएपछि भने हामी क्षतिपूर्ति दिने गर्छौँ । यसको लागि हामी प्रकृति हेरेर धरौटीमार्फत र व्यक्तिमार्फत दिने गर्छौँ ।’

यसका साथै उनले उजुरी आएसँगै प्रहरीको सहयोगमा ठगी गर्ने संस्था वा व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने गरेको बताए । ठगी कम गर्नको लागि भने विभिन्न सञ्चारमाध्यमबाट सन्देशहरु प्रवाह गरेका बताउँदै उनले विदेश जानेहरुले त्यसको प्रयोग गर्नु आवश्यक रहेको बताए । महानिर्देशक दाहालले भने, ‘विभागको वेबसाइट समेत प्रयोग गरेको खण्डमा भने ठगिनबाट युवाहरु बच्न सक्नेछन् ।’

साउन र भदौमा गरी विदेश पठाउने नाममा व्यक्तिले ठगी गरेको भन्दै युवाहरुले विभागसमक्ष १६ वटा उजुरी दिएका छन् भने दुई करोड २५ लाख ५२ हजार रुपैयाँ दाबी गरेका छन् । यस्तै युवाहरुले ठगी गरेको भन्दै २१ वटा मुद्दा अदालतमा दायर गरेका छन् । तीन लाख ६० हजार रुपैयाँ बिगो उनीहरुले दाबी गरेका छन् ।

युवाहरुले विदेश पठाउने भन्दै उक्त अवधिमा मेनपावरले ठगी गरेको भन्दै विभागसमक्ष १३ वटा उजुरी दिएका छन् भने ९६ लाख नौ हजार रुपैयाँ दाबी गरेका छन् । त्यसैगरी समीक्षा अवधिमा विभागले जरिवानास्वरुप मेनपावरहरुलाई पाँच लाख रुपैयाँ बिगो भराएको छ भने उक्त अवधिमा श्रम स्वीकृति लिनेको (कोरियाबाहेक) संख्या एक सय ९८ जना रहेको छ भने जसमध्ये एक सय ७९ जना पुरुष र १९ जना महिला रहेका छन् ।

विभागका अनुसार भदौ महिनामा विदेश जाने नाममा मेनपावरले ठगी गरेको भन्दै तीनवटा उजुरी परेका छन् भने २६ लाख छ हजार रुपैयाँ दाबी गरिएको छ । ठगी गरेको उजुरी परे पनि उक्त अवधिमा विभागले कुनै पनि संस्थालाई उजुरी नगराउनको साथै बिगो रकम समेत भराएको छैन । यस्तै कल सेन्टरबाट ११ वटा उजुरी आएको छ भने फरफारकको संख्या भने चारवटा रहेको छ । व्यक्तिले ठगी गरेको भन्दै भदौ महिनामा चारवटा उजुरी परेका छन् भने ७१ लाख २२ हजार रुपैयाँ दाबी गरेका छन् भने मेनपावरले ठगी गरेको भन्दै युवाहरुले सातवटा मुद्दा अदालतमा दायर गरेका छन् भने दुई लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरेका छन् ।

यता साउन महिनमा मेनपावरले ठगी गरेको भन्दै विभागसमक्ष १० वटा उजुरी आएको छ भने ७० लाख तीन हजार रुपैयाँ ठगी भएको भन्दै युवाहरुले दाबी गरेका छन् । यसरी उजुरी आएसँगै विभागले निर्णय गरी मेनपावरहरुलाई पाँच लाख रुपैयाँ बिगो समेत भराएको छ भने उसले एउटा जाहेरी फरफारक गरेको छ भने कल सेन्टरबाट ठगीसम्बन्धी २४ वटा उजुरी प्राप्त गरेको छ । यस्तै साउन महिनामा श्रम स्वीकृति लिनेको संख्या (कोरियाबाहेक) तीन हजार एक सय ५२ जना रहेको छ । यसमध्ये दुई हजार नौ सय ७४ जना पुरुष र एक सय ७८ जना महिला रहेका छन् ।

त्यसैगरी विदेश पठाउने नाममा व्यक्तिले ठगी गरेको भन्दै युवाहरुले साउन महिनामा १२ वटा उजुरी दिएका छन् । यसमा एक करोड ५४ लाख ३० हजार रुपैयाँ दाबी गरिएको छ । साउन महिनामा व्यक्तिगततर्फ १४ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक लाख पाँच हजार बिगो दाबी गरिएको छ ।

संस्थागत श्रम स्वीकृति बन्द तथा बन्दाबन्दीमा समेत विदेश जाने नाममा युवाहरु ठगिनुले गर्दा उनीहरु थप समस्यामा पर्ने देखिन्छ । विदेश जान भन्दै करिब तीन महिनाअघि दिएको रकम हालसम्म नपाएको पीडित श्याम श्रेष्ठले बताए । विदेश पनि पठाउन सकेन रकम पनि फिर्ता दिएन । ‘त्यसैले गर्दा समस्यामा परेको छु’, उनले भने । यसरी सीमित समयको अन्तरालमा सयौँ युवाहरु ठगी हुँदा सरकारले भने यसको समाधान गर्न सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया