Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतत्कालीन यती डेभलपमेन्टसँग सम्बन्धित बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महर्जन पक्राउ

तत्कालीन यती डेभलपमेन्टसँग सम्बन्धित बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महर्जन पक्राउ


काठमाडौं ।
तत्कालीन यती डेभलपमेन्ट बैंकसँग सम्बन्धित बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त मुुद्दाका फरार प्रतिवादी ललितपुर उपमहानगरपालिका १९ इखालखु बस्ने सोही उपमहानगरपालिका २१ खोकना घर भएका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

सीआईबीका अनुसार महर्जनउपर उच्च अदालत पाटनको २०७६ माघ १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा सात दिन कैद र ३२ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । सो पश्चात् फरार रहेका महर्जनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको सीआईबीले जनाएको छ ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिई फरार भएकोमा उनलाई उक्त अदालतले उक्त सजाय तथा जरिवाना फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ । यसैबीच महानगरीय प्रहरी अपराध महाशाखाले कृषि विकास बैंक ह्याकिङमा प्रकरणामा फरार अभियुक्त सुशील गर्गलाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारत उत्तराखण्ड चम्पावत जिल्ला वनबासका ५५ वर्षीय गर्गलाई अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले सोमबार कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका गर्गलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । यसैबीच, प्रहरीले सस्तो मूल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा चार जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका २ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ५ घर भएका हर्क तामाङ, सोही नगरपालिका ५ बस्ने ४७ वर्षीय चैते भन्ने बुद्धि बहादुर तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय गोबिन्द तामाङ रहेका छन् । उनीहरुमध्ये श्रीखण्डलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ८ बाट, हर्कलाई उनकै डेराबाट, बुद्धि बहादुरलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १० साँगा चोकबाट र गोबिन्दलाई चौतारा साँगाचोक गढी नगरपालिका ५ स्थित भिरकुनाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले नुवाकोट दुप्चेश्वर गाउँपालिका २ को कुटुमसाङ बस्ने पुरुषलाई २०७७ असार २० गते फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार सस्तो मूल्यमा दिने भन्दै प्रलोभनमा पारी अमेरिकी डलर भनिएको पोको दिई उक्त रकम लिई फरार भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । उनीहरुउपर ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी पनि प्रहरीले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया