Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको चपेटामा दशैं व्यापारी मालामाल, सरकार बेखबर

कोरोनाको चपेटामा दशैं व्यापारी मालामाल, सरकार बेखबर


शंकर लुइँटेल
विराटनगर ।
कोरोना भाइरसले विगत नौ महिनादेखि महामारीको चपेटामा पारेको छ । सरकारले महामारी नियन्त्रण गर्न छ महिनाभन्दा बढी लकडाउन गर्नुपरेको थियो । लकडाउनले गर्दा बिग्रिएको आर्थिक, सामाजिक जनजीवन अहिले पनि सामान्य अवस्थामा फर्किनसकेको छैन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन र भदौ ३ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा लागू गरेको थियो । तर पनि भाइरस नियन्त्रण हुनसकेन । बरु अझ पछिल्लो समय दिनप्रतिदिन काठमाडौं उपत्यकालगायत देशैभर कोरोना संक्रमण दर ह्वात्तै बढ्दै गएको छ । अहिले सरकारले पनि बन्द रहेका केही क्षेत्रबाहेक सबै क्षेत्रहरु सञ्चालनमा ल्याएको छ । लामोदूरीका यातायात, हवाइ उडान समेत सञ्चालनमा आइसकेको छ । यतिबेला नै नेपालीहरुको महत्वपूर्ण चाड दशैँ नजिकिँदै आएको छ । कोरोना संक्रमणले महामारीको रुप लिइरहेको अवस्थामा चाडपर्व नजिकिँदै गर्दा बजारमा विभिन्न वस्तुहरुको कालोबजारी तथा मूल्यवृद्धि हुनथालेको छ ।

यसरी चाडपर्वहरु नजिकिँदै गर्दा कालोबजारी तथा व्यापारीहरुले मनलागी रुपमा उपभोक्ताहरुले प्रयोग गर्ने दैनिक उपभोग्य सामानको मूल्य बढाउन थालेका छन् । यस वर्षको दशैँ सबैका लागि दशाजस्तो लाग्न थालेको अवस्थामा बजारमा हुने गरेको कालोबजारीबाट थप मार पर्न थालेको छ । विगतदेखि नै जब चाडपर्व तथा संकट आउँछ, तब व्यापारीहरुले कालोबजारी गरी संकटलाई कमाउने अवसरको रुपमा लिने गरेको दृष्टान्त हाम्रो लागि नयाँ कुरा होइन । यो कोरोना महामारीको संकटमा पनि कालोबजारी गर्नेहरुका लागि दशैं आइरहेको छ भने सर्वसाधारणहरुलाई यो दशैँ दशा बन्दै गएको आभास अहिले विराटनगरको बजारमा गर्न थालिएको छ ।

व्यवसायीहरुले चाडपर्वका बेलामा नै महंगी बढाउने तथा कालोबजारी गर्ने गरेकाले सामान्य मानिसहरुका लागि जहिले पनि दशैं दशा नै बन्दै आएको छ । यो संकटको अवस्थामा पनि हुने महंगी, कालोबजारीजस्ता गतिविधि नियन्त्रण गर्न सरकारको भूमिका प्रभावकारी बन्नसकेको छैन । यसले गर्दा पनि बजारमा व्यापारीको मनोमानी उत्तिकै बढ्दै गएको छ । कोरोना महामारीको अवस्थामा पनि नेपालीहरुको महत्वपूर्ण चाड दशैं नजिकिएसँगै बजारमा किनमेल गर्ने मानिसहरुको भीड लाग्नसकेको छैन ।

तर यही मौका पारेर व्यापारीले सर्वसाधारण उपभोक्तासँग बढी मूल्य असुल्ने गरेका छन् । अहिले व्यापारीले विभिन्न बहाना बनाएर दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढाउँदै गएका छन् । यसरी अहिले सबैभन्दा बढी चाडपर्वको समयमा अत्यधिक खपत हुने वस्तुको मूल्यमा सबैभन्दा बढी मूल्य बढाउने गरिएको छ । यति हुँदा पनि नियमनकारी निकायबाट बजार अनुगमन समेत गर्न सकिरहेको छैन । सरकारले बजार अनुगमन मौसमी रुपमा मात्रै गर्ने गरेको छ । चाडपर्वमा जुत्ता, चप्पल, मोबाइल फोन, कपडा, फर्निचर तथा कोठा सजावटका सामानहरुको सबैभन्दा बढी कारोबार हुने गर्छ । यी सामानको मूल्यमा कुनै निश्चितता नै छैन ।

व्यवसायीले यी सामानमा जति लिँदा पनि भएको छ । यसतर्फ सरकारका कुनै पनि निकायले ध्यान दिएकै छैन । उपभोक्ताहरु पसलैपिच्छे ठगिने गरेका छन् । हरेक पसलमा फरक–फरक मूल्य रहेका हुन्छन् । व्यवसायीहरुले ५ सयदेखि १ हज्जारसम्म नाफा राख्ने गरेको पाइन्छ । तर सरकारले अहिले पनि यस्ता कुरालाई खासै महत्व भने दिएको पाइँदैन । सरकारले जहिले पनि नुन–तेल, मैदा, चामल र मसलाको मात्रै मूल्य तोक्ने गरेको छ । जसले गर्दा नागरिकले बजारमा भएको कालोबजारी तथा मूल्यवृद्धिको भारबाट छुट्कारा कहिले पाउने भन्ने प्रश्न उठ्न थालेको छ ।

अहिले विराटनगरमा दशैँ चाडलाई लक्षित गरी व्यवसायीले स्टक क्लियर गर्न भन्दै हरेक सामानमा भारी छुट दिने गरेका छन् । सडकपेटीका फुटपाते पसलमा समेत चाडपर्वलक्षित छुट अफर सुरु भइसकेको छ । यसरी व्यवसायीहरुले सामान बेचेको कुनै पनि बिल पनि हुँदैनन् । साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विना बिल सामान समेत बेचिरहेका छन् । यसरी साना तथा ठूला सबै पसलमा सर्वसाधारणको भीड बढेको मौकामा व्यापारीले विना बिल सामान बेचिरहँदा सरकारी निकाय भने बेखबरजस्तै बनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया