सिल गरिएको अन्तर्राष्ट्रिय सीमाबाट खुलेआम आवतजावत
शंकर लुइँटेल
विराटनगर
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण संघीय सरकारले प्रदेश १ को अन्तर्राष्ट्रिय नाका जोगवनी बन्द गरे पनि दशैँको किनमेल गर्न भारततर्फ जानेहरूको संख्या ह्वात्तै बढेको छ । आफूखुसी भारत जाने क्रम बढेसँगै अहिले प्रदेश १ को राजधानी नै संक्रमणको उच्च जोखिममा परेको छ ।
विराटनगरबाट भारतीय बजार जोगवनी नाकाको मुख्य बाटो नभई चोरबाटोबाटै पारि गएर सामान किन्न उपभोक्ताको लर्काे लाग्न थालेपछि संक्रमणको उच्च जोखिम भएको हो । मुख्य नाका जोगवनी र विराटनगर भन्सारको आईसीपीबाट मानिसको आउजाउ नभए पनि छेउछाउको चोरबाटोबाट आवतजावत बाक्लो बनेको छ । नेपाल–भारतको बीचमा खुला सीमा भएका कारण दक्षिण र उत्तरबाट सुरक्षाकर्मीको आँखा छलेरै पारिबाट दशैँका लागि आवश्यक उपभोग्य वस्तु किनेर नेपाल आउनेको भीड थामी नसक्नु हुने गरेको छ । भन्सार आईसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक तीन हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् । नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । तर, प्रहरीकै सेटिङमा आउजाउ बढ्दै गएको आरोप स्थानीयले लगाएका छन् ।
चोरबाटोबाट हुने खुला आउजाउले प्रदेश १ को राजधानी विराटनगरमा संक्रमणको जोखिम झन् उच्च बनाएको छ । काम विशेषले जानेभन्दा पनि जोगवनीमा सामान किन्न जानेहरूको लर्को लाग्ने गरेको छ । ठूलो संख्याका मानिस नेपालबाट इस्लामपुर नाका हुँदै जोगवनी सामान किन्न जाने गरेको दाबी स्थानीयको रहेको छ । स्थानीयका अनुसार अहिले दैनिक चार हजारसम्म मानिस नेपालबाट जोगवनीमा सामान किन्न जाने गरेका छन् ।
महामारीको समय सीमापारि सामान किन्न जान दिनु सरकारको कमजोरी भएको गुनासो स्थानीयको छ । दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेहरू बढ्दै गएपछि कुनै कुनै बेला प्रहरी र जोगवनी जानेको भागाभाग समेत हुने गरेको छ । इस्लामपुर नाकामा जोगवनी जाने मानिसलाई खेदाउँदाखेदाउँदै प्रहरी पनि कुनै बेला मूकदर्शक भएर बस्ने गरेको गुनासो स्थानीयले गरेका छन् । कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा विराटनगरको इस्लामपुरमा भारत जाने र आउनेको घुइँचो लाग्ने गरेको छ ।
इस्लामपुरमा प्रहरीले रकम लिएर मानिसलाई आउजाउ गर्न दिने गरेको स्थानीयको आरोप छ । दिनमा कडाइ गर्ने प्रहरीले रातको समयमा भने रकम लिएर सामान ल्याउन दिने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार एक व्यक्तिको सामान बराबर पाँच सयदेखि दुई हजारसम्म प्रहरीले लिने गरेको दाबी रहेको छ । नाका पूर्णरूपमा बन्द नगराएर संक्रमण गाउँमा फैलाउन पछिल्लो समय प्रशासन आफैँ लागिपरेको गुनासो स्थानीयको छ ।विराटनगरकै दरैया नाकाबाट पनि नेपालीहरु सामान किन्न भारतीय बजार जोगवनी जाने गरेका छन् । दरैया नाकाको दसगजामा भएको पोखरी छेउबाट नेपालीहरू सामान ओसार्न जोगवनी पुग्ने गरेका हुन् । पोखरी क्रस गर्नेबित्तिकै उनीहरू हलुका सवारी सिटी, अटोमा चढेर आफ्नो गन्तव्यतिर लाग्ने गरेका छन् । सीमा क्षेत्रमा तस्करी नियन्त्रण र आउजाउमा कडाइ गर्ने मुख्य जिम्मा सशस्त्र प्रहरीको हो । कोरोना महामारीसँगै सीमा क्षेत्रमा प्रहरीको जनशक्ति पनि थप भएको छ ।
यसले पनि तस्करी र अवैध कारोबार नरोकिएको सीमा क्षेत्र पुगेर हेर्दा देख्न सकिन्छ । भारतीय बजारमा किनमेल गर्न जानेहरू कसैले पनि न त मास्कको नै प्रयोग गरेका छन्, न त कुनै सुरक्षाका मापदण्ड नै प्रयोग गर्ने गरेका छन् । भारतीय बजार जोगबनी किनमेल गर्न जानेहरू धेरैजसो महिला छन् । नाका सिल भए पनि किनमेल गर्न जाउआउ गर्नेहरूलाई सुरक्षाकर्मीले समेत अवरोध गर्दैन । सिल भएको नाकाबाट आउजाउ गर्ने जोकोहीलाई ठेगाना पुष्टि गराई आवश्यक चेकजाँच गरेर मात्र आफ्नो देशतर्फ आउन दिनुपर्नेमा प्रहरी समेत बेखबर रहेको दाबी स्थानीयले गरेका छन् ।
असोज २५ गते आइतबार मात्र सीमापारि भारतको जोगवनीबाट कपडा तस्करी हुने गरेको पाएपछि प्रहरीले केही व्यापारीहरुलाई पक्राउ गरेको छ । कपडा र ओसारपसारमा प्रयोग हुने गाडीसहित १० लाख रुपैयाँको वस्तु प्रहरीले आइतबार पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । विराटनगर–१४ जतुवाबाट प्रहरीले तस्करीको सामान बोक्ने एक मारुती भ्यानसहित ७ लाख रुपैयाँबराबरको सामान बरामद गरेको थियो ।
भारतबाट मध्यरातमा मोटरसाइकलमा ओसारेको कपडाका बोरा बिहानीपख धरमबाँध रोड हुँदै मारुती भ्यानबाट विराटनगर बजारका कपडा व्यापारीलाई दिने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ । सीमावर्ती रानी क्षेत्रमा वर्षौदेखि भन्सार छलीको कारोबार गर्दै आएकाहरुले नै पछिल्लो समय सेटिङ्ग गरी जतुवाको बाटोबाट ओसारपसार गर्र्दै गरेको सामानसहित कपडा पक्राउ गरिएको दाबी स्रोतले गरेको छ । कपडा पक्राउका सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक मानबहादुर राईले सम्पूर्ण जानकारी आएपछि सार्वजनिक गरिने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग
- आरएसडीसी लघुवित्तको लाभांश घोषणा
- स्वालम्बन लघुवित्तको साधारणसभाको आह्वान
- बेष्ट फाइनान्सको साधारणसभा आह्वान
- निषेधाज्ञा तोडेर कास्कीमा रास्वपाले गर्यो प्रदर्शन
- पूर्वगृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
- ज्वलनपीडितको निःशुल्क उपचार प्रयासमा सरकार
- कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया