Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजेएसएस मोबाइलविरुद्ध ८५ करोड रुपैयाँ बिगो मागदाबीसहित मुुद्दा

जेएसएस मोबाइलविरुद्ध ८५ करोड रुपैयाँ बिगो मागदाबीसहित मुुद्दा


काठमाडौं ।
गैरकानुुनीरुपमा विदेशी मुद्रा अपचलन गर्ने जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालिविरुद्ध ८५ करोड ९५ लाख २२ हजार सात सय २७ रुपैयाँ बिगो असुलउपर गरी बिगोको तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकले उक्त कम्पनीविरुद्ध बुुधबार काठमाडौं जिल्ला अदालतमा मुुद्दा दायर गरेको हो ।

विभागका अनुसार स्थायी लेखा नम्बर ३०४४९२ र स्थायी लेखा नम्बर ६०१०९५०१ का श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार सात सय २७ रुपैयाँ बिगो असुलउपर गरी बिगोको तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय समेत मागदाबी लिई बुुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज र श्याम इम्पेक्सका सञ्चालकहरु मोहन वंशल र गोविन्द वंशलले विदेशमा निर्मित मोबाइल, मेमोरीकार्डलगायतका मालवस्तुहरु पटक–पटक भन्सार नतिरी चोरी पैठारी गरी अवैधरुपमा ल्याई बिक्रीवितरण गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ ।

यसरी निकासी पैठारी गर्ने फर्मले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने कानुनी व्यवस्थाको विपरीत कार्य भएको र यस्ता मालवस्तु तेस्रो मुलुकबाट नेपाल सरहदभित्र ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन नसकिने देखिँदा ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी तवरले विदेश पठाई विदेशी विनिमय अपचलन गरेको हुुँदा ती कम्पनी र कम्पनीका सञ्चालकहरुविरुद्ध बिगोसहित मुुद्दा दायर गरिएको हो’, विभागले भनेको छ ।

दुुवै कम्पनी र त्यसका सञ्चालकहरुलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१) बमोजिम असुलउपर गर्न र उनीहरुलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१), बमोजिम बिगोको तीन गुणासम्म सजाय र दफा १७ (८) र तथा १७ (९) बमोजिम ३ वर्षसम्म कैद सजाय समेत हुन मागदाबी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसैगरी विभागले जयनगर भेलुवाटोला ठेगाना भएका भारतीय नागरिक विकाश कुमार साह, जनकपुर उ.म.न.पा वडा नं. ५ धनुषास्थित शिव ज्वेलर्सका प्रोप्राइटर निर्मल कुमार सिंघानिया समेत तीन जनाले सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको कसुरमा ३५ करोड ५५ लाख १३ हजार तीन सय ४६ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय समेत हुुने मागदाबी लिई बुुधबार नै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएकोे जानकारी दिएको छ ।

सोही दिन विभागले वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर र काठमाडौं महानगरपालिका सोल्टीमोडमा बसोबास गर्ने नेपाली नागरिकता र भारतीय राजदूतावासबाट जारी भारतीय नागरिकको परिचय समेत भएका रजनिश कुमार गुप्ता, चितवन खैरहनी घर भएका राजु थापा भन्ने राजेन्द्र थापा समेतले भारतीय ट्रकहरु खरिद गरी छुट्टै केविन (फल्स वटम) बनाई सोभित्र भन्सार चोरी पैठारीको मालवस्तु लुकाइछिपाइ गरी भन्सार राजस्व समेत छलेर बिक्री वितरण गरी राजस्व चुहावट गरेको कसुरमा कुल बिगो २१ करोड ६० लाख ४९ हजार सात सय ३१ रुपैयाँ बिगो कायम गरी बिगो असुलउपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया