Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरिब पाँच करोडको लागतमा बैजनाथको भवन निर्माण सुरु

करिब पाँच करोडको लागतमा बैजनाथको भवन निर्माण सुरु


बाँके ।
बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गाउँपालिका कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला प्रशासकीय भवन निर्माण सुरु गरेको हो । अहिले साबिकका गाविस भवन, वडाका पुराना कार्यालय र भाडाका घरबाट सेवा दिन गाउँपालिका बाध्य छ । प्रशासीकय भवनको शनिबार शिलान्यास गरिएको थियो । बैजनाथ–५ स्थित रामपुरमा प्रशासकीय भवनको शिलान्यास गरिएको हो ।

चार करोड ९७ लाख १९ हजार सात सय आठ रुपैयाँमा भवन निर्माणका लागि ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए । कुल लागतमध्ये ६० प्रतिशत जिल्ला समन्वय समिति बाँकेको अनुदान रहेको छ भने ४० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने उनले जानकारी दिए ।

गाउँपालिकाले भूकम्प प्रतिरोधी प्रशासकीय भवन बनाउनेछ । विभिन्न स्थानीय तहमा सवारीसाधन खरिद प्राथमिकतामा परेकाले गाउँ, नगर र वडा कार्यालयका भवन निर्माण हुन नसकेको आरोप लागिरहेका बेला बैजनाथ गाउँपालिकाले भने प्रशासकीय भवन निर्माणको काम अघि बढाएको छ । ‘हाम्रो पनि पहिलो प्राथमिकता प्रशासकीय भवन नै थियो,’ अध्यक्ष रुचालले भने, ‘विभिन्न कारणले केही ढिलाई भए पनि अब शिलान्यास भएरै काम अघि बढिसकेको छ ।’ भवन साँघुरो हुँदा सेवा प्रवाहमा जटिलता हुँदै आएकोले भवन निर्माणलाई प्राथमिकता दिएको उनले बताए ।

भवन निर्माणको काम सम्झौताअनुसार तोकिएकै समयमा सकिने उनको विश्वास छ । भवन निर्माणको काम तीव्र गतिमा अघि बढाउने बताउँदै गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले भने, ‘शिलान्यास भएर निर्माण सुरु भइसकेको छ । तोकिएकै समयमा निर्माण सक्न हामी निर्माण कम्पनीलाई घच्घच्याइरहन्छौं ।’ उनले भवन निर्माणपछि कार्यालय सञ्चालनसँगै जनताले अपेक्षाअनुसार सेवा प्रवाहमा थप सहजता आउने बताए ।

प्रमूख प्रशासकीय अधिकृत ऐडीले भने, ‘भवन तथा पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो भइरहेका बेला आफ्नै प्रशासकीय भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुनेछ ।’ भवन निर्माणपछि गाउँपालिकाको कामकाजमा निकै सहजता आउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्नमा मदत पुग्ने ऐडीको विश्वास छ ।

यही साउन ३१ गते ठेकेदार कम्पनी एमके विल्डर्स एण्ड कन्स्ट्रक्सनसँग भएको निर्माण सम्झौताअनुसार २०७८ असार मसान्तसम्म ठेकेदार कम्पनीले भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गर्नेछ । गाउँपालिकाले सात बिघा जग्गाभित्र ६५ सय वर्गफिटमा निर्माण हुने प्रशासकीय भवन साढे तीन तलाको हुनेछ । भवन निर्माणपछि कार्यालय सञ्चालनसँगै जनताले अपेक्षाअनुसार सेवा प्रवाहमा थप सहजता आउने गाउँपालिकाले लक्ष्य लिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया