Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल र ओमानबीच भिसा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता

नेपाल र ओमानबीच भिसा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता


काठमाडौं ।
नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानीवाहकलाई एक अर्काको देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको मस्कटस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । उक्त सम्झौताअनुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एक अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि नब्बे (९०) दिनसम्म प्रवेशाज्ञा नलिईकन प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली र ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरेका छन् ।

दूतावासले यस सम्झौतापश्चात् ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधिहरू बढाउन सहयोग पुग्ने जनाएको छ । त्यसैगरी पछिल्लो समयमा ओमान अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त ट्रान्जिटको रूपमा विकास भइरहेको सन्दर्भमा श्रमलगायत अन्य विविध गतिविधिहरूका लागि यहाँ हुने भ्रमणहरूमा समेत यस सम्झौताले सहजीकरण गर्नेछ ।

हस्ताक्षर कार्यक्रमपश्चात् आआफ्नो धारणा साटासाट गर्दै उनीहरुले प्रवेशाज्ञामा सहजीकरण भएसँगै दुवै देशले आपसी सम्बन्धका विविध आयामहरूलाई थप गतिशील र सक्रिय बनाउनुपर्ने विषयमा जोड दिए । सो अवसरमा महामहिमहरूले कोरोनाको प्रभावका बाबजुद पनि देशहरूले अर्थतन्त्रलाई चलायमान बनाउन सबैले रचनात्मक तथा नवप्रवर्तनात्मक क्रियाकलापमा जोड दिनुपर्ने विचार साटासाट गरेका छन् ।

यसैगरी छलफलमा द्विपक्षीय लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन एवम् आपसी हितका विषयहरू पनि समावेश भएका थिए । उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावास ओमानका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया