Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात बढ्दा घट्यो व्यापारघाटा

निर्यात बढ्दा घट्यो व्यापारघाटा


काठमाडौं ।
मुलुकको व्यापारघाटामा कमी आएको छ । निर्यात सूचकांकमा वृद्धि र आयात सूचकांकमा कमी आएसँगै मुलुकको अन्य अर्थात् तेस्रो मुलुकसँगको व्यापारघाटामा कमी आएको भन्सार विभागले जनाएको छ । समीक्षा अवधि अर्थात् गत आर्थिक वर्ष (२०७६/०७७) पहिलो तीन महिना (साउनदेखि असोज)को अवधिको तुलनामा चालू आव (०७७/०७८)को सोही अवधिमा मुलुकको व्यापारघाटामा कमी आएको छ ।

परिस्थिति सामान्य नबन्दा मुलुकको व्यापारघाटामा कमी आएको विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘कोभिडका कारण आयातनिर्यातमा सहजता छैन भने बजार समेत खुल्न नसकेको अवस्थामा खाद्यान्न, लत्ताकपडा आदि सामग्रीहरुको माग नहुँदा आयात खुम्चिन पुगेको हो’, उनले भने, ‘आयातमा कमी देखिएसँगै मुलुकको व्यापारघाटामा कमी देखिएको हो ।’

गत आवको त्रैमासिकको तुलनामा चालू आवको त्रैमासिकको अवधिमा मुलुकको व्यापारघाटामा १५ प्रतिशत अर्थात् ४६ अर्ब ५५ करोड ८८ लाख रुपैयाँले कमी आएको छ । व्यापारघाटा चालू आवको समीक्षा अवधि अर्थात् तीन महिनाको अवधिमा दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाखमा सीमित रहेकोमा गत आवको सोही समयमा व्यापारघाटा तीन खर्ब सात अर्ब ७८ करोड २५ लाख रहेको थियो ।

यस्तै मुलुकको निर्यातको सूचकांकमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा निर्यात भने गत आवको तुलनामा चालू आवमा १४ प्रतिशतले अर्थात् तीन अर्ब ८७ करोड ९३ लाखले वृद्धि भएको छ । निर्यात चालू आवको सोही समयमा ३१ अर्ब चार करोड ६० लाख रुपैयाँ रहेकोमा गत आवमा २७ अर्ब १६ करोड ६७ लाख रहेको थियो । निर्यात व्यवसायी महासंघका सचिव दुर्गाबहादुर थापाले कोभिडका बीचमा करिब ३०/३५ प्रतिशत उद्योग सञ्चालन गरेकोमा उत्पादित सामग्री भने निर्यात गर्न सफल भएको बताए । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

त्यसैगरी समीक्षा अवधिमा आयातमा गिरावट आएको छ । समीक्षा अवधिमा आयातमा १३ प्रतिशत अर्थात् ४२ अर्ब ६७ करोड ९५ लाखले कमी आएको छ । चालू आवमा व्यवसायीहरुले दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख रुपैयाँ मूल्यबराबरको सामग्री आयात गरेकोमा गत आवामा तीन खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ मूल्यबराबरको सामग्री आयात गरिएको छ ।

नेपालले पेट्रोलियम पदार्थका साथै हवाइ तथा सवारीसाधनका महंगा पार्ट्स तथा कृषिजन्य सामग्रीलगायतका वस्तु आयात गर्ने गरेकोमा सोमा समेत कमी आउँदा आयातको सूचकांकमा कमी देखिएको विभागका अधिकारीहरूको भनाइ छ । उनीहरुले खाद्यान्न, तरकारीलगायतका सामग्री समेत मुलुकमा तेस्रो मुलुकबाट आउने गरेकोमा त्यसमा कमी आएको बताएका छन् ।

यस्तै समीक्षा अवधिमा कुल वैदेशिक व्यापारघाटामा समेत ११ प्रतिशत अर्थात् ३८ अर्ब ८० करोड एक लाख रुपैयाँ रहेको छ । चालू आवमा कुल वैदेशिक व्यापारघाटा तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख रुपैयाँ रहेकोमा गत आवमा तीन खर्ब ६२ अर्ब ११ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस्तै आयातनिर्यातको सूचकांक समीक्षा अवधिमा २४ प्रतिशतले कमी देखिन्छ भने चालू आवमा १० प्रतिशत र गत आवमा १२ प्रतिशत रहेको छ ।

यस्तै कुल व्यापारको निर्यात प्रतिशत समीक्षा अवधिमा २८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने चालू आवमा १० प्रतिशत र गत आवमा सात प्रतिशत रहेको छ भने उक्त अवधिमा कुल आयात प्रतिशत तीन प्रतिशतले कमी आएको देखिन्छ जुन चालू आवमा ९० प्रतिशत र गत आवमा ९२ प्रतिशत रहेको पाइन्छ ।

सरोकारवालाहरुका अनुसार मुलुकमा तरकारीदेखि खाद्यान्न, मेसिनरी औजार तथा पार्टपुर्जा, इन्धनलगायतका अधिकांश सामग्री आयात गर्ने हुँदा मुलुकको व्यापार सदैव अत्यासलाग्दो देखिन्छ । त्यसैले सरकारले उत्पादनमा जोड नदिँदा मुलुकको व्यापार अत्यासलाग्दो रहेको उनीहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया