Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा कोरोनाबाट निको हुने संख्या एक लाख नाघ्यो

नेपालमा कोरोनाबाट निको हुने संख्या एक लाख नाघ्यो


काठमाडौं ।
नेपालमा विश्व महामारी कोरोना भाइरस संक्रमणपछि निको हुने संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कुल संक्रमितहरुमध्ये १ लाख २ हजार ८ सय २० जना निको भएका हुन् । यो भनेको कुल संक्रमितमध्ये ६९.२ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या बिहीबारसम्म १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । यसमध्ये आइसोलेसनमा पुष्टि भएका केसहरु अर्थात् सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ रहेको छ । त्यस्तै हालसम्म ८ सय १२ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । हाल ३ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १३ लाख ५० हजार १ सय ५२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । नेपालमा ६८ प्रतिशत पुरुष तथा ३२ प्रतिशत महिला संक्रमित छन् ।

थपिए ३६ सय ३७ संक्रमित :यसैबीच, बिहीबार अपराह्नसम्मको पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ३ हजार २ सय १५ जना कोरोनाबाट निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ । उक्त अवधिमा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ५२ जना संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १८ हजार ९ सय ६२ सक्रिय संक्रमित छन् । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः १ हजार ३ सय ९ र २ हजार ९ सय ८४ सक्रिय संक्रमित छन् ।

पाँच दिन नियमित पत्रकार सम्मेलन नहुने :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशैंका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए । मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया