Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय विवरण कात्तिक मसान्तसम्म सार्वजनिक गर्न पाइने

वित्तीय विवरण कात्तिक मसान्तसम्म सार्वजनिक गर्न पाइने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नको लागि यही कात्तिक मसान्तसम्मको समय तोकेको हो ।

‘एकीकृत निर्देशन २०७७ अनुसार हरेक त्रैमासिकमा त्रैमासिक सकिएको १५ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा सार्वजनिक गरिसक्नुुपर्ने व्यवस्था रहेको थियो’, राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको नाउँमा सूचना जारी गर्दै भनेको छ । यो व्यवस्थामा केही सहुलियत दिँदै चालू आवको पहिलो त्रैमासिकको लागि मात्र उक्त थप समय दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैबीच राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले सार्वजनिक रुपमा सूचना जारी गर्दै साबिककै आकार, रंग र बाह्रसिंगेको चित्र रहेको २० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याइएको जानकारी दिएको छ । उक्त नोटको अग्रभागमा सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको उल्लेख छ ।

नोटको पृष्ठभागअन्तर्गत नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा बाह्रसिंगेको चित्र, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज ट्वान्टी लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंगे्रजीमा २०२० एडी लेखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया