Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीनकुनेको खाली जग्गामा रोप्यो १५ सय वटा गुर्जोको बिरुवा

तीनकुनेको खाली जग्गामा रोप्यो १५ सय वटा गुर्जोको बिरुवा


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको बिरूवा रोपेको छ । महाशाखाले आन्तरिक राजस्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीको सहकार्य र विशेष सहयोगमा उक्त गुर्जोको बिरुवा रोपेको हो ।

महाशाखाका अनुसार शनिबार मात्रै उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि पाँच/पाँच वटाको दरमा गुर्जोको बिरूवा रोपिएको छ । शनिबार एक कार्यक्रमका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाल, प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो ।

‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनुपर्ने भएकोले कोरोना भाइरस संक्रमणको जोखिम ज्यादा छ’, एसएसपी भीम प्रसाद ढकालले भने, ‘त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदाकारी भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता बिरूवा रोप्ने कामको थालनी गरिएको हो । यसबाट कोरोना माहामहारीलाई रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुग्नुको साथै पर्यावरण संरक्षण र उपत्यकाको सहरी सौन्दर्य समेत बढाँउछ ।’

निःशुल्क गुर्जोको बिरुवा एवं गुर्जोजन्य औषधि वितरण अभियानमा सहभागी राष्ट्रिय योजना आयोगका सहसचिव जोशीले भने कोरोना महामारीको यो समयमा जसलाई पर्छ, जहाँ पर्छ, त्यहाँ गुर्जोको बिरुवा र गुुर्जोजन्य औषधि निःशुल्क वितरणको अभियान आन्तरिक राजस्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवटले सुरु गरेको बताए ।

कोरोना महामारी बढेसँगै कोरोनाबाट आम नागरिकको जीवन सुरक्षा गर्नको लागि अभियानकर्मी राजलवटले निःशुल्करुपमा यो अभियान सुुरु गरेको र यो अभियानमा आफूले साथ र सहयोग गरेको बताए । ‘यो अभियान कहिलेसम्म जारी रहन्छ भन्ने कुरा कोरोना भाइरस कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने कुरामा भर पर्छ, देशमा लकडाउन सुरु भएदेखि यता धेरै ठाउँमा गुर्जोको बिरुवा एवं गुुर्जोजन्य औषधि वितरण गरिसकेका छौँ’, अभियानकर्मी सहसचिव जोशीले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया